जातीय विभेद मुद्दामा पक्राउ परेका ताराप्रसाद एक लाख धरौटीमा छुटे

जातीय विभेद मुद्दामा पक्राउ परेका दाङको घोराही उपमहानगरपालिका-१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल एक लाख धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

जिल्ला अदालत दाङले ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश गरेपछि तोकिएको धरौटी बुझाएर उनी छुटेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले बताए। अछाम पञ्चदेवल विनायक नगरपालिका-७ का २३ वर्षीय महेन्द्र विकसहित परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठा भाडा दिएको तीन दिनपछि असार १५ गते जबर्जस्ती घरबाट निस्कन लगाएको उजुरी परेको थियो ।

त्यसपछि आफूहरूमाथि जातीय विभेद गरेको भन्दै महेन्द्रसहित उनका साथीहरू जिल्ला प्रहरी कार्यालयमा पुगेर ताराप्रसादविरूद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले असार १६ गते उनलाई नियन्त्रणमा लिएको थियो ।