नाटकघरमा ‘ट्रान्जिट’ र ‘हिउँभन्दा चिसो’

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक ‘ट्रान्जिट’ मञ्चन भइरहेको छ । शुक्रबारदेखि नियमित मञ्चन भइरहेको उक्त नाटक भदौ २ गतेसम्म मञ्चन हुनेछ ।

कुमार नगरकोटीले लेख्नुभएको नाटकलाई घिमिरे युवराजले निर्देशन गर्नुभएको छ । एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्ने कथा रहेको नाटकमा एउटै पात्र ‘मायावी’ लाई तीनजना अभिनेत्रीले चित्रण गरेका छन् । सोमध्ये एक पात्रको भूमिकामा अभिनेत्री शिल्पा मास्केले निर्वाह गर्नुभएको छ । यो उहाँको पहिलो नाटक हो । अभिनेत्री मास्केले अभिनयलाई नजिकबाट बुझिरहेको बताउनुभयो । “नाटकमार्फत अभिनयलाई शून्यबाट नियाल्न पाएकी छु । दर्शकसँग प्रत्यक्ष साक्षात्कार गर्नाका साथै रङ्गमञ्चमा आफूलाई प्रस्तुत गर्न पाउँदा उत्साहित छु ।

यो मेरो पहिलो अनुभव हो”, अभिनेत्री मास्केले भन्नुभयो । नाटकमा अभिनेत्री मास्केसँगै दिव्यदेव, आकाङ्क्षा कार्की, वासना तिमल्सिना, मिल्सन राई र घिमिरे युवराजलगायत कलाकारले अभिनय गर्नुभएको छ । त्यस्तै थापागाउँस्थित मण्डला नाटकघरमा असार ८ देखि मञ्चन भएको मनोवैज्ञानिक (साइकोलोजिकल थ्रिलर) विधामा बनेको ‘हिउँभन्दा चिसो’ नाटक यही साउन १४ गतेसम्म मञ्चन हुनेछ । सोमनाथ खनालले निर्देशन गर्नुभएको नाटकमा कलाकार भोलाराज सापकोटा मुख्य भूमिकामा हुनुहुन्छ ।

“चलचित्र र अन्य कामलाई मिलाएर नाटकघरमा प्रस्तुत भएको हुँ । आज/भोलि भन्दै पाँच वर्ष बितिसकेछ । समय मिलाएर यसपटक नाटकमा अभिनय गरेको छु”, अभिनेता सापकोटाले भन्नुभयो । यसमा रेणु योगी, र गोविन्द सुनारको लगायतले अभिनय गर्नुभएको छ ।