‘बारा–पर्सा कोरिडोरमा श्रमिक अस्पताल बनाऊ’

काठमाडौं।मधेश प्रदेशका उद्योगी व्यापारीहरूले बारा पर्सा कोरिडोरमा प्रदेशस्तरीय श्रमिक अस्पताल बनाउन सरकारसँग माग गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीको संयोजकत्वमा उद्यमीहरूले बिहीवार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसमक्ष यस्तो माग राखेका हुन् ।

बारा पर्सा कोरिडोर देशकै ठूलो औद्योगिक कोरिडोर भएकाले श्रमिक अस्पताल अपरिहार्य भएको उनीहरूको भनाइ थियो । निजीक्षेत्रले विगत लामो समयदेखि यो माग उठाउँदै आएको छ । यसका लागि बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले जग्गासमेत छुट्ट्याइसकेको सो भेटमा सहभागी नगरप्रमुख राजन पौडेलले बताए । मन्त्री भण्डारीले सरकार श्रमिक अस्पताल निर्माणका लागि सकारात्मक भएको बताएको अध्यक्ष टेमानीले जानकारी दिए । अस्पताल निर्माण प्रक्रियालाई गति दिने प्रतिबद्धता समेत मन्त्री भण्डारीले व्यक्त गरेका छन् ।

भेटमा महासंघका एशोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, रोजगारदाता परिषद्का सहसंयोजक बाबुकाजी कार्की र बारा–पर्सा औद्योगिक कोरिडोरका सभापति सञ्जयकुमार साहलगायत उद्यमीहरू सहभागी थिए । 

उद्यमीहरूले बिहीवार नै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाललाई भेटेर उद्योग व्यापारका सरोकारहरूमा ध्यानाकर्षण गराएका छन् । भेटघाटमा बारा–पर्सा औद्योगिक कोरिडोरको कार्यान्वयनको माग गरिएको थियो । नयाँ औद्योगिक क्षेत्र, वीरगञ्जमा अन्तररास्ट्रियस्तरको औद्योगिक प्रदर्शनी स्थल, पोलिटेक्निकल इन्स्टिच्युट, सिमरा विमानस्थलको स्तरोन्नति, मोटर भेहिकल ऐनको परिमार्जनलगायत विषयमा उनीहरूले मन्त्री रिजालको ध्यानाकर्षण गराए । आयातित सामानमा लेबलको अनिवार्य व्यवस्थाले निम्त्याएको समस्या समाधानको आग्रह गरेका उद्यमीहरूले स्थानीय सरकारले कबाडी करको नाममा जथाभावी कर उठाएको गुनासो पनि गरे ।