चौपाया व्यवस्थापन गर्न गौशाला

काठमाडाैँ। कैलालीको भजनी नगरपालिका–१ मा सामुदायिक चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गरिएको छ । गौशाला बनेपछि चौपायाको सास्ती खेप्दै आएका किसानलाई राहत भएको छ ।

किसानलाई खेती जोगिँदा राहत भए पनि व्यवस्थापन गरिएको भनिएका चौपायालाई भने निकै सकस छ । खाने आहारा छैन । बस्नका लागि बर्सातको समयमा ओभानो ठाउँ छैन ।

गौशालाको सास्तीले चराउन लिएका कैयौँ चौपाया गौशाला फर्किंदैनन् । भजनीकी मनसरा बोहरा चौपाया व्यवस्थापन भएदेखि त्यहाँ काम गर्दै आउनुभएको छ । उहाँ गौशालामा चौपायाको मलमूत्र व्यवस्थापन गर्ने काम गर्नुहुन्छ । २०७४ सालदेखि त्यहीँ काममा लाग्नुभएकी बोहरालाई चौपायालाई पर्याप्त आहारा नहुँदा कहिलेकाहीँ निकै चिन्ता हुन्छ ।

“दैनिक साँझ–बिहान हामी गौशालामै हुन्छौँ । आफ्नो काम गर्छौं । गौशालाको अवस्था हेर्दा निकै दया लाग्छ”, बोहरा भन्नुहुन्छ, “खानलाई आहारा छैन । घाममा चौपायालाई बस्न छहारी छैन भने पानीमा ओत लाग्ने ठाउँ छैन ।”

बिर्मादेवी बोहरा पनि त्यहीँ गौशालामा मलमूत्र व्यवस्थापनको काम गर्नुहुन्छ । गर्मीको समयमा मलमूत्र व्यवस्थापन सङ्कलन गर्न सहज हुने गरेको भए पनि बर्सातको समयमा निकै कठिन हुने उहाँ बताउनुहुन्छ । “काम नगरी हुँदैन । दिनभर काम गरेन भने घरमा चुलो बल्दैन”, बिर्मादेवी भन्नुहुन्छ । “समयमा पाउनुपर्ने पैसा पनि पाइँदैन ।

जति राम्रो काम गरे पनि काम राम्रो भएन भनेर गुनासो आइरहन्छ । उहाँले चौपायाका लागि ट्रस्ट निर्माण हुन सकेको भए चौपायालाई पनि राम्रो र त्यसबाट उत्पादन भएको मलमूत्रको व्यवस्थापनमा पनि राम्रो हुने बताउनुभयो । सामुदायिक चौपायाको व्यवस्थापन गर्ने एउटा समिति छ । त्यो समितिले चौपाया चराउनका लागि गोठाला पनि राखेको छ ।

मलमूत्र व्यवस्थापन गर्ने र गोठाला गरी सातजना गौशालामा कार्यरत छन् । तिनको पारिश्रमिक भजनी नगरपालिकाले बेहोर्दै आएको छ । प्रतिव्यक्ति नौ हजारका दरले मासिक पारिश्रमिक त्यहाँ काम गर्ने कामदारले पाउने गरेका छन् । फुलराम चौधरी त्यो चौपायाको गोठालोका रुपमा एक वर्षदेखि काम गर्दै आउनुभएको छ ।

चरनको भरमा बाँचेका चौपायालाई जङ्गलमा थेग्न निकै मुस्किल हुने गरेको उहाँ बताउनुहुन्छ । “खानेकुरा केही छैन । भोका चौपाया चरन खोज्दै भौँतारिँदा तिनलाई सम्हाल्न गाह्रो हुन्छ”, चौधरी भन्नुहुन्छ, “खानेकुरा भए साँझ–बिहान आहारा दिन सकेको भए चौपाया खान नपाएर मर्ने अवस्था आउने थिएन होला ।”

उहाँले आफूहरु पाँचजना गोठाला भए पनि चौपायाको चापले समस्या हुने गरेको बताउनुभयो । चौपायाको आहाराका लागि नगरपालिकाले दुई लाख ६८ हजारको पराल खरिद गरेको थियो । त्यो पराल केही महिनामै सकियो । त्यसपछि चौपाया चरनको भरमा बाँचिरहेका छन् । गौशाला व्यवस्थापन समितिका अध्यक्ष देशराम चौधरी बजेट नभएका कारण चौपायाका लागि आहारा खरिद गर्न नसकिएको बताउनुहुन्छ । उहाँले नगरपालिकाले दिएको पैसाले खरिद गरेको पराल सकिएपछि चौपाया चरनको भरमा बाँचेको स्वीकार गर्नुभयो ।

“गौशालामा दुई सय ५० भन्दा बढी चौपाया छन् । ती चौपायामा लगानी मात्रै छ, आम्दानी भनेको तिनको गोबर मात्रै हो”, देशरामले भन्नुभयो, “हाम्रो समितिमा त्यत्रो पैसा छैन । थोरैले पुग्ने अवस्था छैन । त्यहीँ चरनको विकल्पमा चौपाया बाँचेका छन् ।” उसो त गौशाला व्यवस्थापन समितिले गौशालामा उत्पादन भएको गोबर बिक्री गर्दै आएको छ ।

यसपटक पनि गोबरबाट एक लाख २५ हजार समितिले आम्दानी गरेको छ । अझै केही गोबर बिक्री गर्न बाँकी पनि छ । प्रतिट्र्याक्टर ट्रालीको पाँच हजारका दरले गोबर बिक्री हुन्छ । त्यसबाट भएको आम्दानी त्यसैमा खर्च हुने गरेको अध्यक्ष चौधरीले बताउनुभयो । व्यावसायिक रुपमा काम गर्ने भन्दै भजनीका स्थानीय केही युवाहरुले सुरु गरेको गौशाला पछि उहाँहरुले नसकेर छोडेपछि नगरपालिकाको मातहतमा सञ्चालन गर्नुपरेको थियो ।

नगरपालिकाले वर्षमा १५ लाखभन्दा बढी रकम चौपाया व्यवस्थापनका नाममा खर्च गर्दै आएको छ । उसो त यो समस्या भजनी नगरपालिकाको मात्रै होइन । कैलालीका अधिकांश स्थानीय पालिकामा गौशाला छन् । त्यहाँको समस्या पनि भजनीको भन्दा फरक छैन । निर्वाचनका समयमा चौपाया व्यवस्थापनलाई चुनावी एजेन्डा बनाएका जनप्रतिनिधिले केही हदसम्म व्यवस्थापनको काम त गरेको देखिन्छ, तर चौपाया व्यवस्थापनका नाममा भोकै प्यासै चौपाया दैनिक मरिरहेका छन् ।

चौपाया व्यवस्थापन व्यवस्थापन जस्तो मात्रै भएको स्थानीय रामप्रसाद शर्मा बताउनुहुन्छ । “चौपाया व्यवस्थापन भयो त्यो राम्रो कुरा हो । त्यसमा बर्सेनि भइरहेको स्थानीय तहको खर्च हेर्दा त्यो उपलब्धिविहीन क्षेत्रमा लगानी भइरहेको छ”, शर्माले भन्नुभयो, “चौपाया व्यवस्थापनलाई उत्पादनसँग जोडेर स्थानीय क्षेत्रमा रोजगारीको अवसरका रुपमा रुपान्तरण गर्न सक्नुपर्छ ।

अनि मात्रै भएको लगानीले पनि सार्थकता पाउने छ ।” टीकापुर नगरपालिकामा भने स्थानीय युवाहरुले गौशाला व्यवस्थापनको काम अगाडि बढाएका छन् । व्यावसायिक रुपमा काम गर्ने उद्देश्यका साथ लागेका युवाहरुले चौपायाको आहाराका लागि घाँस खेती पनि सुरु गरेका छन् । नगरपालिकाको समन्वयमा सुरु भएको चौपाया व्यवस्थापनलाई विशेष महत्वका साथ हेरिएको छ ।