वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

प्रधानमन्त्रीसँग किन टाडिदै गए सहकर्मी दल?

 प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफ्नो विश्वास गुमाउँदै गएका छन् । उनले बल्लतल्ल बजेट त पास गराए तर संसदमा उनको लोकप्रियता भने घट्दै गएको देखिएको छ ।

प्रतिपक्षीको मात्र नभएर सत्ता गठबन्धन दलकै असन्तुष्टिका कारण पनि उनी समस्यामा परेका थिए । आगामी आर्थिक वर्षको बजेट पारित गराउन भने निकै दौडधूप गर्नुपर्‍यो ।बजेटको पक्षमा १ सय ४७ मत पर्नुले उनको पक्षको मत निरन्तर ओरालो लागेको पुष्टि भएको छ ।

प्रचण्ड गद्दीमा, देउवा सडकमा कहिलेसम्म ?

नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट तत्कालीन संस्थापनइतर समूहका शेरबहादुर देउवा नेतृत्वमा पुगे । त्यसयता कोइराला परिवार एकताबद्ध छैन । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको अवसानसँगै अस्तित्वको संकटमा पुगेको कोइराला विरासतको प्रतिनिधित्व गतः १४ औँ महाधिवेशनमा शेखर कोइरालाले गरेको मानिन्छ । तर अहिले तिनै शेखर सभापति देउवासँग नजिकिएपछि कांग्रेसभित्र ठूलै कम्पन पैदा भएको छ । जसका कारण कांग्रेसको आन्तरिक समीकरण तीव्ररुपमा फेरबदल हुने अवस्थामा पुगेको छ ।

https://barnanmedia.com/detail/1688079525-u-l-gx-23-06-30

आज - १५ आषाढ २०८० शुक्रवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभ समाचार सुन्न पाइएला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । अरुको मन जित्न सकिनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । सफल र लाभदायक यात्राको योग पनि छ ।

https://barnanmedia.com/detail/1688084311-aa-aa-l-n9-23-06-30

आज असार १५, राष्ट्रिय धान दिवस

आज असार १५ । ‘मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असारको मध्य दिन आज धान दिवस संगै रोपाईं जात्राका रुपमा मनाउने गरिन्छ । आजको दिन खेतमा धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ ।  कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसाय रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् । आज १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ मनाइँदैछ ।

https://barnanmedia.com/detail/1688084954-aa-a-ce-23-06-30

गोरखा सदरमुकामबाट करिब ५४ केजीको टल्कने ढुङ्गा बरामद

गोरखामा प्रहरीले आज टल्कने ठूलो ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका–७ स्थित सीतपीपलबाट झन्डै ५४ किलोग्रामको टल्कने ठूलो ढुङ्गा बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

“‘साइन स्टोन’ हो भन्ने जानकारी आएपछि प्रहरीको टोलीले सम्बन्धित घरमा उक्त ढुङ्गा बरामद गरेर ल्याएको छ”, उहाँले भन्नुभयो, “ढुङ्गा पूजाआजा र धर्मकर्ममा प्रयोग गरिरहेको रहेछ, प्रहरीलाई गोप्य ढङ्गबाट सूचना प्राप्त भएपछि घरबाट बरामद गरेर ल्याइएको हो, अहिलेसम्म हामीले हेर्दा बुझ्दा टल्कने ढुङ्गा भन्ने देखिएको छ ।” ढुङ्गा हेर्दा पारदर्शी ‘क्रिस्टल’ जस्तो रहेको उहाँले बताउनुभयो ।

देशभरका एक सय ४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन

देशभरका सात सय ५३ स्थानीय तहमध्ये करिब एक सय ४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेका छन् ।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन् । बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृतसहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासङ्घ र नगरपालिका सङ्घमा गुनासो गर्ने गरेको बताइएको छ ।

कर्णालीका नौ जिल्लामा आज सार्वजनिक बिदा

 कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक यहाँका नौ जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले विसं २०७९ चैत २९ को मन्त्रिपरिषद् बैठकले राष्ट्रिय धान दिवसका अवसरमा जुम्लाबाहेक नौ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार सूचना सार्वजनिक गरिएको बताउनुभयो ।

धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान :प्रधानमन्त्री दाहाल

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धान चामलमा आत्मनिर्भर हुने दिशामा योगदान गर्न सम्पूर्ण देशवासीहरुमा आह्वान गरेका छन् ।

जलवायु अनुकूलित धानका जातहरु, उत्पादन प्रविधिहरुको विकास र अवलम्बनमार्फत् दिगो रुपमा धान उत्पादन बढाउन सकिने उनको भनाइ छ ।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यथास्थितिमा धान उत्पादन वृद्धिको लक्ष्य पूरा हुन कठिन हुने भन्दै जलवायु अनुकूलका धानका जातको खेतीमा जोड दिएका हुन् । उनले भनेका छन्, ‘जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुका साथै यसको गति बढाउनु अत्यावश्यक छ ।’

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । बिहीबार दिउँसोदेखि बन्द रहेको उक्त सडक अझै खुल्न सकेको छैन । आज बिहानसम्म पनि पहिरो पन्छाउन सकिएको छैन ।

चितवनको इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउसोदेखि सडक बन्द भएको हो । त्यसपछि सुक्खा पहिरो खसे क्रम जारी छ । पन्छाउने तयारी गरिए पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाधा पुगेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो । उहाँले पहिरो झरेर पहाड बनेको र पन्छाउन छ÷सात घन्टा लाग्ने बताउनुभयो ।

सत्यतथ्य र विशाल नेपाल

राष्ट्रिय अन्तर्राष्ट्रिय कानुन, ऐतिहासिक सन्दर्भ, उपनिवेश उन्मूलनको मुद्दा र छिमेकीहरूसँग भएका विभिन्न सन्धि सम्झौताका आधारमा विशाल नेपाल पूर्वमा टिष्टादेखि पश्चिममा काँगडासम्म हो । विशाल नेपाल आन्दोलन मुख्य भूभागले आफ्नो बाँकी रहेका भूभाग प्राप्तिको आन्दोलन हो ।

https://barnanmedia.com/detail/1688090856-l-l-t1-23-06-30

कालीकोटमा कालाजारका बिरामी भेटिए

कालीकोटका पाँच स्थानीय तहमा कालाजारका बिरामी भेटिएका छन् । पचालझरना, पलाता, सान्नित्रिवेणी, रास्कोट र नरहरिनाथमा कालाजारका बिरामी फेला परेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत कटकबहादुर महतका अनुसार यस वर्ष आठ महिला र १२ पुरुष गरी २० कालाजारका बिरामी फेला परेका छन् । यसको उपचार सदरमुकाम मान्मस्थित जिल्ला अस्पतालमा हुने गरेको छ ।

धान दिवसको नारा, ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’

आज २०औँ राष्ट्रिय धान दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवसका अवसरमा सरकारी तथा निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाले रोपाइँ कार्यक्रम गरेर धुमधामका साथ दिवस मनाइरहेका हुन् ।

दिवसका अवसरमा देशभर रोपाइँलगायतका कार्यक्रम आयोजना गरिएको छ । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिसद् परिसरमा रोपाइँ महोत्सव आयोजना गरिएको छ ।

शाह वंशको कूल आलमदेवी मन्दिर महिलाका लागि खुला

शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे ।

हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिर शाह वंशको कूलदेवता र कूल मन्दिरका रूपमा चर्चित छ । आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको हो ।

‘प्रचण्ड’ सरकारको छ महिनाको उपलब्धि सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको छ महिनाको उपलब्धि सार्वजनिक गरेको छ । उहाँ २०७९ पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

सरकारले छ महिनाको अवधिमा गरेका कार्यलाई ७७ बुँदामार्फत बिहीबार सार्वजनिक गर्दै न्याय, सुशासन र समृद्विलाई सर्वोपरि लक्ष्यका रूपमा लिँदै विभिन्न नीति, कानुन तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनुका साथै संस्थागत तथा प्रक्रियागत सुधारका कामलाई उच्च प्राथमिकतासाथ अघि बढाएको जनाएको छ ।

आज पूर्व प्रधानमन्त्री ओलीले मेसिनबाट धान रोप्ने

आज असार १५ मनाउन चितवन आएका नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले केरूङ्गा सामुदायिक तरकारी फर्म नयाँ बस्तीमा मेसिनबाट धान रोप्ने भएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको मेसिनबाट ओलीले धान रोप्ने क्रमको सुरुवात गर्ने छन् ।

अब काठमाडौँको मनोरम दृश्य कमलादीको स्काइवाकबाट

 एक सय ३४ वर्षअघि फ्रान्सको पेरिसमा निर्मित आइफल टावर फ्रान्सका लागि आजसम्म ‘आइकन’ बनेको छ । पेरिसको यही आइकन हेर्न संसारभरबाट बर्सेनि पाँच करोडभन्दा बढी पर्यटक फ्रान्स भित्रिन्छन् । फ्रान्सको पर्यटन विकासमा महत्त्वपूर्ण भूमिका खेलेको यस आइकन हेर्नमात्रै दैनिक २५ हजार व्यक्तिले औसतमा १० करोड टिकटमै खर्चिन्छन्।

https://barnanmedia.com/detail/1688096295-ab-l-ib-kt-23-06-30

अष्ट्रेलियामा इच्छा मृत्युको उमेर १४ वर्षमा झारियो

अस्ट्रेलियाको राजधानी क्यानबेरामा सरकारले ‘ब्रेन डेड’ भएका व्यक्तिको इच्छा मृत्युको न्यूनतम उमेर १४ वर्ष पुर्‍याउने भएको छ । यो कानून पास भएमा इच्छा मृत्यु सम्बन्धी सबैभन्दा उदार कानून हुनेछ, जसअन्तर्गत बालबालिकाले पनि त्यस्ता अधिकार प्राप्त गर्न सक्नेछन्।

यस कानूनका सम्बन्धमा राज्यकी मानवअधिकार मन्त्री तारा शीनले हालै इच्छा मृत्युको निर्णय लिन परिपक्वताको उमेर १८ बाट १४ वर्षमा झार्ने विचार गरिरहेको बताएकी छिन् ।

https://barnanmedia.com/detail/1688097372-al-i-u-zf-23-06-30

नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य : डा राणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाले नेपालको विकासका लागि वैदेशिक लगानी अपरिहार्य रहेको बताउनुभएको छ ।

बिहीबार टोकियोस्थित नेपाली दूतावास, जाइका एन्ड जेट्रो र युएनआइडीओको संयुक्त आयोजनामा जापानको टोकियोमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद राणाले वैदेशिक लगानी स्वदेशी लगानीको परिपूरकमात्रै नभएर लगानी र बचतबीचको खाडललाई कम गर्ने र विदेशी विनिमय स्रोत पनि भएको स्पष्ट गर्नुभएको टोकियोस्थित नेपाली दूतावासले जनाएको छ ।

कृषिलाई सहकार्य, सहकारी, सामूहिक प्रणालीबाट अघि बढाउनु पर्छ : अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापकरूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।

धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कुनै पनि उत्पादन ठूलो मात्रामा गर्नुपर्ने उल्लेख गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “अहिले परिवार सानो हुने, भएकाहरू पनि विदेश पलायन हुने र कृषि पेसातर्फ आकर्षण कम हुने गरेको छ ।

संस्कृति प्रवर्द्धनार्थ धुलिखेलमा बाँसुरी मेला

काभ्रेपलाञ्चोकको धुलिखेल नगरको संस्कृति प्रवर्द्धनार्थ बाँसुरी मेलाको आयोजना गरिने भएको छ ।

धुलिखेलस्थित शिखलापुर बाँसुरी धे–धेले धुलिखेलमा पहिलोपटक शनिबार बाँसुरी मेला आयोजना गर्न लागेको हो ।

मेलामा विभिन्न जिल्लाका १३ समूहबीच बाँसुरी धुन प्रतिस्पर्धा हुने धेलेका संस्थापक अध्यक्ष अरविन माकाजुले जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रमा राजनीति हावी हुन थालेपछि विकृति बढ्दै : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राध्यापक, शिक्षक र विद्यार्थीलाई पार्टी सदस्यता नदिने योजना अगाडी सारेका छन् ।

शिक्षा क्षेत्रमा राजनीति हावी हुन थालेपछि विकृति वढेको भन्दै उनले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि पहल थालेका हुन् ।

रुपन्देहीको भूमिहीनलाई लालपुर्जा वितरण

रुपन्देहीको गैडहवा गाउँपालिकामा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ ।

गाउँपालिकाको वडा नं ६, ७ र ८ का करिब पाँच सय ९४ जग्गाधनीलाई जोतभोगका आधारमा गाउँ ब्लक जग्गाको पुर्जा वितरण गरिएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले बिहीबार जग्गाधनी पुर्जा वितरण गर्नुभयो । त्यस अवसरमा मन्त्री श्रेष्ठले सरकारले नापजाँच गर्न छुटेका गाउँ ब्लक तथा सुकुम्बासीका जग्गा नापजाँच गरेर वर्षौँदेखि जोतभोग गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरणकार्य प्राथमिकतामा राखेको बताउनुभयो ।

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो ।

हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ ।

‘धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ’‘धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्छ’

कृषि तथा पशुपन्छी विकासमन्त्री डा वेदुराम भुसालले अर्थतन्त्रलाई सुदृढ बनाउन धान उत्पादनलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय कृषि अनुसन्धान परिषद्द्वारा खुमल्टारमा आयोजित २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० लाई सम्बोधन गर्दै उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको र उत्पादन गरेको प्रविधि र बीउ लक्षित वर्ग किसानसम्म पु¥याएर उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउनुभएको हो । “हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पु¥याउन नसक्दा बसाइँसराइ यसको मुख्य कारण बन्न पुगे । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पु¥याउन मन्त्रालय क्रियाशील छ । यस वर्षको सबै कार्यक्रमलाई सफल बनाउन लागि परौँ ।” मन्त्री डा भुसालले भन्नुभयो ।

https://barnanmedia.com/detail/1688104762-ulii-ulii-nc-23-06-30

आज सुनको मूल्य बढ्यो

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ ।

धान दिवस : पाल्पामा ३० प्रतिशत रोपाइँ

 पाल्पामा हालसम्म करिब ३० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । असारको मध्य भागसम्म आइपुग्दा जिल्लाका केही स्थानमा मात्रै रोपाइँ सुरु भएको छ ।

विगतका वर्षको तुलनामा यस वर्ष मनसुन ढिला सुरु भएकाले असार १५ सम्म धान रोप्ने कार्य कम भएको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारी बताउनुहुन्छ । “समयमा नै वर्षा नहुँदा रोपाइँ कम क्षेत्रफलमा भएको छ, केही ठाउँमा रोपाइँ सुरु भए पनि आकाशे पानीकै भरमा अधिकांश जमिनमा रोपाइँ गरिने भएकाले पानी पर्याप्त परेपछि रोपाइँका चहलपहल बढ्छ”, उहाँले भन्नुभयो । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला नजिकका खेतमा रोपाइँ सुरु भएको छ ।

हेंवाखोला डाइभर्सनको निरन्तरतामा वर्षाको अल्झन

 निरन्तर वर्षा भएपछि पाँचथरको हेंवा खोलामा डाइभर्सन सञ्चालन गरी यातायात पुनः सञ्चालन गर्ने प्रयास सार्थक हुन सकेको छैन । डाइभर्सन सञ्चालन हुन नसक्दा मेची राजमार्गमा यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् ।

यही असार २ गते राति आएको बाढीले मेची राजमार्गमा पर्ने हेंवा खोलाको ४५ मिटर लामो सडक पुल बगाएको थियो । उक्त पुल रहेकै स्थानमा इलामस्थित सडक डिभिजन कार्यालयले बेलिब्रिज निर्माण गरिरहेको छ ।

पूर्व अख्तियार प्रमुख बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले बस्न्यातलाई पक्राउ गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई अनुमति दिएको हो ।

एनसेल आजियाटा लिमिटेडले नयाँ सेन्टर सञ्चालनमा

एनसेल आजियाटा लिमिटेडले लहानको शहिद चोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ।

ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्य सहित उक्त सेन्टर सञ्चालनमा ल्याएको बताइएको छ।

https://barnanmedia.com/detail/1688109076-el-aa-ll-l-zz-23-06-30

पाटेबाघको छाला र वन्यजन्तुको हड्डीसहित तीन जना पक्राउ

कोहलपुर नगरपालिका-११ हाम्रो बजारस्थितबाट ९ फिट ५ इन्च लामो पाटेबाघको छाला र १ सय ३० वटा हड्डी गरी जम्मा ६ केजी ८ सय १८ ग्राम वन्यजन्तुको हड्डीसहित ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दैलेख ठाटिकाँध गाउँपालिका-४ बस्ने ३० वर्षीय सुनिल चुनारा, दैलेख भगवतीमाई गाउँपालिका-५ बस्ने ४० वर्षीय नविन कुमार कसेरा र अछाम पन्चदेवल नगरपालिका-२ बस्ने ३६ वर्षीय टोपेन्द्र शाही रहेका छन् ।

अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु

गण्डकी प्रदेश सरकारको आयोजनामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक पोखरामा सुरु भएको छ ।

बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभयो । बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेल, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह उपस्थित हुनुहुन्छ ।

द्विपक्षीय सम्बन्ध विस्तारका लागि आपसी चासोलाई ध्यान दिनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ

 उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ तुल्याउनका लागि द्विपक्षीय चासोका विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

उहाँले बृहत् विकास साझेदारी, सम्पर्क सञ्जाल, वाणिज्य तथा लगानी, संस्कृतिक आदानप्रदान, समुदायस्तरको सहकार्य र अन्य द्विपक्षीय विषयलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको हो ।

सङ्घीयता कार्यान्वयनको कामलाई व्यवस्थित गरौँः प्रधानमन्त्री

 प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयनको जिम्मेवारीलाई तीव्रता र व्यवस्थितरूपमा अगाडि बढाउन सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिनुभएको छ । आजदेखि कास्कीको पोखरामा सुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकको उद्घाटन समारोहमा प्रधानमन्त्रीले सङ्घीयता कार्यान्वयनमा प्रभावकारी तवरले लाग्न आग्रह गर्नुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो, “सर्वप्रथम यस सुन्दर नगरी पोखरामा अन्तरप्रदेश मुख्यमन्त्री बैठक आयोजना गर्नुभएकोमा म गण्डकी प्रदेशका मुख्यमन्त्री तथा गण्डकी प्रदेश मन्त्रिपरिषद्लाई हार्दिक धन्यवाद दिँदै बैठकको पूर्ण सफलताको कामना गर्दछु ।

विषालु च्याउ खाँदा श्रीमतीको मृत्यु, श्रीमान् सिकिस्त

 विषालु च्याउ खाँदा ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बारीमा पलाएको च्याउ खाँदा चिशङ्खुगढी गाउँपालिका–७ डाँडागाउँकी २४ वर्षीया कल्पना शर्माको ज्यान गएको हो ।

च्याउ खाँदा कल्पनाका श्रीमान् पर्शुराम खतिवडा सिकिस्त बिरामी भएका छन् । यही असार ७ गते बारीमा पलाएको च्याउ पकाएर खाँदा दुवै जना बिरामी परेका थिए । जङ्गली च्याउ खाएर गम्भीर बिरामी परेका दम्पतीलाई उपचारका लागि नभएपछि काठमाडौँको टिचिङ अस्पताल पठाइएको थियो ।

झापामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दो

 पछिल्लो पाँच वर्षयता झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म एक गैर नेपालीसहित सात जनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईल जानकारी दिनुभयो ।

हात्तीको आक्रमणबाट गत आव २०७८/७९ मा पाँच जना, आव २०७७/७८ मा तीन, २०७६/७७ मा दुई, आव २०७५/७६ मा एक जना र आव २०७४/७५ मा पाँच जनाको मृत्यु भएको छ । झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सात जना गैर नेपाली रहेका छन् । त्यस्तै, सोही अवधिमा १६ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा

व्यास नगरपालिका-७ शेषमटारमा समता विद्यालय स्थापना गरी अभिभावकविहीन पँैतालिस बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । खान र बस्नसहितको शिक्षाका लागि नगरपालिकाले अभिभावकत्व ग्रहण गर्दै साहाराविहीन बालबालिकालाई साहारा दिएको हो ।

शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भनी नगरपालिकाले उक्त विद्यालय स्थापना गरी आवाससहितको शिक्षा प्रदान गरेको हो । नगरपालिकाले बस्ने, खाने, पढ्ने र सुत्नेसहितको सुविधा प्रदान गरेपछि बालबालिका खुसी छन् । बालबालिकालाई चाहिने कापी कमल, पोसाक, झोला, खाने तथा बस्ने सबै नगरपालिकाले व्यवस्था गरेको छ ।

https://barnanmedia.com/detail/1688112822-a-blbllii-l-d7-23-06-30

विश्वासको मत नपाएपछि काेसी सरकार ढल्यो,कार्कीले पाएनन् विश्वासको मत

हिक्मत कार्की नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ ।

बहुमत जुटाउन नसकेपछि कार्की पदमुक्त भएका छन् ।  वहुमत पुर्याउन ४७ मत आवश्यक पर्दथ्यो । कार्कीले ४६ मत प्राप्त गरे ।‌ मत विभाजनमा ८९ सांसद उपस्थित थिए।

धान दिवसः कञ्चनपुरमा सिँचाइकै लागि सकस

गत वर्ष आज (असार १५) कै दिन महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहरमा भारतले महाकाली नदीबाट पानी छोड्दा यहाँको बेदकोट नगरपालिकामा रहेका सरोकारवाला निकायले धान दिवस मनाएका थिए ।

सिँचाइको नहरमा पहिलोपटक पानी आउँदा तत्कालिन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट नै धान दिवस मनाउन कञ्चनपुर पग्नुभयो । धान दिवस सकिएसँगै भारतले पानी नहरमा नियमित छाड्न अझैसम्म तयार भएको छैन् । करिब डेढ दशकअघिदेखि सुरु भएको राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको २८ किलोमिटर मूल नहर बनिसक्दा पनि भारतीय पक्षले महाकाली सन्धिअनुसार उपलब्ध गराउनुपर्ने पानी दिन अझै तयार भएको छैन् ।

संसदीय मूल्य, मान्यता र आवश्यकता मेरो मुख्य कर्तव्य : सभामुख घिमिरे

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्मा आफ्नो भूमिकालाई अझ सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

पैँसठ्ठीऔँ संसद् दिवसको पूर्वसन्ध्यामा संसदीय अध्ययन तथा विकास संस्थापनाद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले दिवसको शुभकामना दिँदै सभामुखसँगै सबै सांसदहरू आफ्नो भूमिकाप्रति इमान्दार र प्रयत्नशील हुुनुपर्ने बताउनुभयो । “मैले खेल्ने ‘रेफ्री’ को भूमिकाअनुसार निश्चय पनि खेलाडीलाई ठीकसँग चलाउनेछु”, उहाँले भन्नुभयो, “जहाँसम्म एउटा रेफ्रीको भूमिका हो, खेलाडीले राम्रो नखेल्दिएपछि जतिसुकै योग्य रेफ्री भए पनि त्यो खेल दर्शकका लागि हेर्न लायक हुन सक्दैन ।

पढेर विदेश जानुभन्दा यहीँ अवसर छ : अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताउनुभएको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उहाँले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताउनुभयो । विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उहाँले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “एक जना व्यक्तिको जीवनकालमा धेरै परिवर्तन हुन सक्छ भने अध्ययन गरेका विद्यार्थीको जीवनकालमा नेपालमा नै सम्भव नहुने केही छैन ।”

बुटवलमा पहिलो रक्त सङ्कलन मोबाइल एम्बुलेन्स सञ्चालन

बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट आजदेखि ‘रक्त सङ्कलन मोबाइल एम्बुलेन्स’ सञ्चालनमा ल्याइएको छ । उक्त रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ ।

रगत सङ्कलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अब रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ । रोटरी क्लब अफ बुटवलले रक्त सङ्कलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ । यो एम्बुलेन्स खरिदका लागि रेडक्रससमेतको साझेदारी रहेको छ । क्लबले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो ।