अर्थतन्त्र सुधारको बाटोमा लागेको छ : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अर्थतन्त्र अब सुधारको बाटोमा लागेको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका कार्यालयको विनियोजनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले भने, ‘संसद्ले सरकारको नेतृत्व दिँदै गर्दा देश गम्भीर आर्थिक संकटमा थियो । एउटा भाष्य बनेको थियो आम रूपमा कि नेपालको नियति श्रीलंकाको जस्तै हुने भयो । यो भाष्य बौद्धिक वर्गमा मात्रै सीमित थिएन, आम नागरिकसम्म पुगेको थियो । टीभी र मोबाइलका स्क्रिनहरूमा छाइरहेको श्रीलंकाको तस्बिरले देशलाई आशंकित र त्रसित बनाएको थियो । श्रीलंकाको दुःश्वप्नबाट जागिसकेको छ । यसबीचमा अर्थतन्त्र केही जागेको छ ।’

प्रधानमन्त्री दाहालले अर्थतन्त्र जाग्नु सरकारको मात्रै नभई राष्ट्रकै उपलब्ध रहेको बताए ।