पालिकाको सहयोगमा पाँचपोखरीका दुई क्रिकेट खलाडी तालिमका लागि भारत प्रस्थान

पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नो पालिकाका दुई क्रिकेट खलाडीलाई थप तालिमका लागि भारत पठाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाका सार्थक धिताल र पासाङ दोर्जे तामाङलाई पालिकाको लगानी तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घको समन्वयमा तालिममा पठाइएकोे सिन्धुपाल्चोक क्रिकेट सङ्घका अध्यक्ष विजयकुमार धितालले जानकारी दिनुभयो ।

सार्थक बागमती प्रदेशका अन्डर–१६ कप्तान भइसकेका तथा राष्ट्रिय टिमको अन्डर–१६ को बन्द प्रशिक्षणमा परिसकेका खेलाडी हुन । पाँचपोखरी थाङपाल–३ का पासाङ जिल्लाबाट प्रदेशको खेल खेल्ने गर्दछन् ।

भारतको बहु प्रतिष्ठित रणजी ट्रफीसमेत खेलिसकेका खेलाडी पुनित मेहराद्वारा प्रशिक्षण गराउने कल्का क्रिकेट एकेडेमीमा तीन महिनासम्म ट्रेनिङका लागि सार्थक र पासाङलाई आज औपचारिकरूपमा गाउँपालिका अध्यक्ष टासी लामा, वडा अध्यक्षलगायतले शुभकामनासहित बिदाइ गर्नुभयो । पाँचपोखरीले हरेक वर्ष क्रिकेट प्रतियोगितासमेत आयोजना गर्ने गरेको छ ।