कांग्रेसले सुरु गर्यो अनलाइनबाटै पार्टीको सदस्यता

नेपाली कांग्रेसले अनलाइनबाट पार्टीको सदस्यता प्रदान गर्न सुरु गरेको छ ।

पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो । समितिका संयोजक एवं पार्टीका महामन्त्री गगनकुमार थापाको संयोजकत्वमा बसेको बैठकले अबदेखि कांग्रेस सदस्य बन्न चाहने नेपाली नागरिकले नेपाली कांग्रेसको बेवसाइटमा गई सदस्यता आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सकिने निर्णय गरेको हो ।

कांग्रेसको वेबसाइट www.nepalicongress.org/online-membership मा सदस्यता फारम भरिसकेपछि सो को जानकारी मोबाइलमा म्यासेजमार्फत प्राप्त हुने पार्टी केन्द्रीय कार्यालयका कावा मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिनुभयो । यसरी प्राप्त आवेदन पार्टीको केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ ।

यसअघि कांग्रेसको क्रियाशील सदस्य भइसकेका व्यक्तिको क्रियाशील सदस्यता कार्ड केन्द्रले उपलब्ध गराउँदै आएकामा अब पार्टी जिल्ला कार्यालयले नै प्रिन्ट गरी सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सक्ने गरी सहज व्यवस्था गरिएको उहाँले बताउनुभयो । कांग्रेसको विधानअनुसार क्रियाशील सदस्यता प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था छ । प्रत्येक वर्ष गर्नुपर्ने क्रियाशील सदस्यता नवीकरणको नियमित प्रक्रिया सुरु गरिसकिएको छ । नवीकरण गर्नका लागि जिल्ला कार्यालयले मातहतका निकायबाट विधानबमोजिमको आवश्यक प्रक्रिया पूरा गरी÷गराई योग्यता पुगे नपुगेको हेरी अनलाइनबाटै नवीकरण विवरण भर्ने व्यवस्था गरिएको छ ।

यसरी नवीकरण भएको व्यक्तिको सदस्यता नवीकरण कार्ड अनलाइन वा प्रिन्ट गरेर जिल्ला कार्यसमितिले नै सदस्यलाई उपलब्ध गराउने व्यवस्था गरिएको कावा मुख्यसचिव पराजुलीले बताउनुभयो । पार्टीको विधानमा योग्यता पुगेको व्यक्तिलाई अधिवेशनको वर्षबाहेक अन्य समयमा नयाँ क्रियाशील सदस्यता निरन्तर वितरण गर्नुपर्ने व्यवस्था छ । यस वर्षदेखि निरन्तररूपमा सदस्यता वितरण गर्ने काम प्रारम्भ भइसकेको छ ।

क्रियाशील सदस्यता लिन चाहने व्यक्तिले पार्टीको वडा तहमा आवेदन दिएमा विधानबमोजिमको प्रक्रिया पूरा भएका व्यक्तिको क्रियाशील सदस्यता विवरण प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले अनलाइनबाट भर्नेछ र सबै विवरण अभिलेख भएपछि सदस्यता कार्ड उपलब्ध गराइनेछ । कांग्रेसको क्रियाशील सदस्यता खुला भइसकेको र अनलाइनबाटै क्रियाशील सदस्यता पनि भर्न पाउने गरी आवश्यक प्राविधिक तयारी गरिसकिएको पार्टी कार्यालयले जनाएको छ । यसका लागि विधान र नियमावलीमा रहेका केही विषयमा संशोधनको प्रक्रिया पूरा गरेपछि क्रियाशील सदस्यताको आवेदन पनि पार्टीको बेवसाइटबाट अनलाइनमै भर्न सकिनेछ ।