लागुऔषध दुरुपयोगको असरसँग जुध्न गृहमन्त्रीको आह्वान

काठमाडाैँ।उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले लागुऔषध दुरुपयोगबाट पर्ने बहुआयामिक असरसँग जुध्नका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०२३ का अवसरमा गृह मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा स्वस्थ, सभ्य र समुन्नत समाज निर्माणमा लागुऔषधको दुरुपयोगमा सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

उहाँले राज्यका सबै निकायसँगको समन्वय, सहकार्यमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न प्रवद्र्धनात्मक र उपचारात्मक कार्यक्रमलाई प्रभावकारी बनाउन मन्त्रालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । “मूलुकको सर्वाङ्गिण विकास समृद्धि, शान्ति सुरक्षा र सुशासन कायम गर्ने दिशामा लागुऔषध अपराधविरुद्धको राष्ट्रिय ऐक्यबद्धता जुटाउन अपरिहार्य भएको छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री श्रेष्ठले लागुऔषध नियन्त्रणसम्बन्धी राष्ट्रिय नीति तथा रणनीति र कानुनले अङ्गीकार गरेका कार्यक्रम कार्यान्वयन गर्न सबै पक्षबाट इमान्दार प्रयासको आवश्यकता औँल्याउनुभयो । “लागुऔषध दुरुपयोग रोकथाम र नियन्त्रण बहुसरोकारको विषय भएकाले सम्बद्ध निकायको समन्वय र सहकार्यबाट यसको उत्पादन, बिक्री वितरण, सञ्चय, ओसारपसार, उपचार तथा पुनःस्थापना, जोखिम न्यूनीकरण, बिरामीको सामाजिक पुनःस्थापना, जनचेतनालाई अभियानका रुपमा सञ्चालन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।

गृहसचिव दिनेश भट्टराईले लागुऔषध प्रयोगकर्तामा देखा परेको गम्भीर स्वास्थ्य समस्या पारिवारिक विचलन, सामाजिक दुष्प्रभाव, अवैध कारोबार, आर्थिक अपराध एवं सुरक्षा संवेदनशीलताको हिसाबले समयमै सचेत रहनुपर्ने देखिएको बताउनुभयो ।

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले लागुऔषध नियन्त्रणका लागि व्यक्ति, समाज र राष्ट्रको एउटै पहल र प्रयासको आवश्यकता औँल्याउनुभयो । नेपालमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेको गृहमन्त्रालयको तथ्याङ्क छ । नेपाल प्रहरीका अनुसार विसं २०७९ को चैतसम्म लागुऔषध अपराधमा चार हजार दुई सय २० जना पक्राउ परेको र अपराधमा संलग्नमध्ये लागुऔषधसँग सम्बन्धित अपराधको हिस्सा २० दशमवल ७३ प्रतिशत रहेको छ ।

हाल पाँच हजार नौ सय ११ लागुऔषध मुद्दाका कैदीबन्दी रहनुका साथै करिब पाँच हजार उपचार तथा पुनःस्थापना केन्द्रमा रहेको तथ्याङ्क छ । कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विभिन्न विद्यालयका तर्फबाट लागुऔषधसम्बन्धी सचेतनामूलक भिडियो र नाटक प्रस्तुत गर्नुका साथै कविता वाचन, नृत्य प्रदर्शनीसमेत गरिएको थियो ।

समारोहमा उपप्रधानमन्त्री श्रेष्ठले लागुऔषधसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी योगदान पु¥याउने सुरक्षा फौज र विभिन्न सङ्घ संस्थालाई प्रंशसापत्र प्रदान गर्नुभएको थियो । यसअघि लागुऔषध दुरुपयोग तथा ओसारपसारविरुद्ध सचेतना जगाउन प्रभातफेरी निकालिएको थियो । भृकुटीमण्डपको खुला मैदानबाट सुरु भएको प्रभातफेरी भद्रकाली मन्दिर परिक्रमा गरी पुनः भृकुटीमण्डप हुँदै राष्ट्रिय सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।