महिला आश्रयसम्बन्धी राष्ट्रिय सम्मेलन

काठमाडाैँ। नेपालमा लैङ्गिक हिंसा पीडित÷प्रभावितका लागि महिला आश्रयसम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, महिला आश्रय गृह राष्ट्रिय सञ्जाल र साथी संस्थाको आयोजनामा आइतबारदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म चल्नेछ ।

सम्मेलनले लैङ्गिक हिंसाका समस्यालाई सम्बोधन गर्ने र प्रभावकारी आश्रय गृह सेवामार्फत महिला तथा बालबालिकाको सशक्तीकरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । सम्मेलनमा तीन तहका सरकारका विभिन्न प्रतिनिधि, आश्रय गृह सञ्चालक तथा व्यवस्थापक, एकद्वार सङ्कट व्यवस्थापन केन्द्रका प्रतिनिधि, लैङ्गिक विज्ञ, लैङ्गिक हिंसा पीडित÷प्रभावित, मनोसामाजिक परामर्शकर्ता, पत्रकार महिला, महिला अधिकारकर्मीलगायत दुई सय बढीको सहभागी रहेको छ ।

उद्घाटन कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आश्रय गृहले पीडितलाई हिंसाविरुद्ध आवाज उठाउन सहयोग गर्दै आएको उल्लेख गर्दै विभिन्न सङ्घ संस्थाले आश्रय गृह सञ्चालन गरेर राज्यलाई सघाउँदै आएकामा प्रसंशा गर्नुभयो । साथै उहाँले हिंसा पीडित महिला तथा बालबालिकालाई न्याय र सशक्तीकरण सुनिश्चित गर्न आश्रयस्थलले दिने सेवाको गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद डा आरजु राणा देउवाले नेपालमा आश्रय आन्दोलनको इतिहासबारे जानकारी गराउँदै यसबाट प्राप्त उपलब्धि, चुनौती र आगामीको योजनाका बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले घरेलु तथा लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालिकाको जीवन पुनःनिर्माणमा आश्रय सेवाले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

‘युएन सिड’ समितिकी सदस्य तथा सम्मेलनको प्रर्वतक तथा ग्लोबल नेटवर्क अफ वुमन शेल्टर्सकी सह–संस्थापक बन्दना राणाले आश्रय गृह आन्दोलनलाई राष्ट्रिय र विश्वव्यापीरूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । साथीका अध्यक्ष सजनी अमात्यले सम्मेलनले महिला आश्रयलाई थप समावेशी बनाउन र महिला तथा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्न नीतिगत निर्माणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

महिला आश्रय गृह राष्ट्रिय सञ्जालका संस्थापक उमा राज्यलक्ष्मी शाहले कोभिड–१९ ले आश्रय गृह सञ्चालकलाई सामूहिक अभियानको आवश्यकता महसुस गरेको बताउनुभयो । कार्यक्रममा आश्रय गृहसँग सम्बन्धित महत्वपूर्ण विषयका छ समानान्तर विषयगत सत्र र तीन पूर्ण सत्र सञ्चालन हुनेछ । यसमा आश्रय गृह सञ्चालनसम्बन्धी मापदण्ड, नवीनतम मुद्दा, प्रेषण संयन्त्र र पीडित केन्द्रित अवधारणालगायत छन् ।

कार्यक्रममा शक्ति समूहका पीडित÷प्रभावितले लैङ्गिक हिंसालाई चित्रण गर्ने नृत्य प्रस्तुत गर्नुभएको थियो । पीडित महिलाले पनि आश्रयस्थलमा आएपछि उहाँहरूको जीवन कसरी परिवर्तन भयो भनेर प्रकाश पार्दै आफ्ना कथा र अनुभव आदानप्रदान गर्नुभएको थियो । सम्मेलनले आश्रय गृह सञ्चालकबीचको सहकार्य र समन्वयलाई बढावा दिने, सेवाको गुणस्तर बढाउन, समान आश्रय गृहसम्बन्धी नीति स्थापना गर्ने र साझा सिकाइलाई सहजीकरण गर्ने लक्ष्य राखेको छ ।