बजेट न्यायोचित छैन : सांसद गौतम

सांसद सञ्जयकुमार गौतमले आगामी आर्थिक वर्षको बजेट न्यायोचित नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत छलफलमा भाग लिँदै उहाँले प्रतिपक्ष र सत्तापक्ष दुवै असन्तुष्ट भएको भन्दै बजेट न्यायोचित बन्नुपर्नेमा जोड दिनुभयो । छलफलका क्रममा सांसद हृदयराम थानीले पर्यटकीयस्थल राराताल र सेफोक्सुन्डोको विकासमा जोड दिनुभयो । उहाँले सुर्खेत विमानस्थल विस्तारको माग गर्नुभयो ।

सांसद रणकुमारी बलम्पाकी मगरले धार्मिक पर्यटनस्थलको विकास र प्रवर्द्धनलाई जोड दिनुभयो । सांसद छिरिङल्हामु लामाले जडीबुटी, पर्यटन र जलस्रोतको प्रवर्द्धन र उपयोगबाट दिगो अर्थतन्त्रको निर्माण गर्न सरकार गम्भीर नभएको बताउनुभयो । छलफलका क्रममा सांसद महेश बर्तौलाले नियमापत्ति जनाउनुभयो । उहाँले सांसद रणेन्द्र बराइलीको खर्च कटौती प्रणालीको सन्दर्भमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गर्नुभयो । उहाँले भन्नुभयो, “नियमावलीविपरीत सांसद बराइलीले एक रुपैयाँ खर्च कटौतीसम्बन्धी विषयलाई सदनमा नाटक भन्नुभयो । यस प्रकारको अभिव्यक्तिलाई संसद रेर्कडबाट हटाइयोस् ।” यस्तै सांसद सूर्यबहादुर थापा क्षेत्रीले गृहमन्त्री श्रेष्ठ सदनमा उठेको जवाफ दिन अन्तिम समयसम्म उपस्थित नभएको भन्दै नियमापत्ति जनाउनुभयो ।

उहाँले नेपाली सेनाको आधुनिकीकरण र व्यावसायिक बनाउन ठोस कार्यक्रम प्रस्तुत नभएको बताउनुभयो । सांसद ईश्वरबहादुर रिजाल, पूर्णबहादुर घर्तीमगर, बुद्धिमान तामाङ, धु्रवबहादुर प्रधान, रामकुमार राई, अच्युतप्रसाद मैनाली, नारायण खड्का, पूर्णबहादुर तामाङ, शान्ति श्रेष्ठ, जाबेदा खातुन र नारायण खड्काले विनियोजित विधेयकको छलफलमा भाग लिनुभयो ।