रवि लामिछानेले भने:सरकार सत्ता टिकाउने काममा लागि परेको छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार सत्ता टिकाउन लागिपरेको टिप्पणी गरेका छन्।

सत्ता टिकाउनकै लागि प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दल भित्रै अर्को गठबन्धन बनाउनु परेको, नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई कमजोर बनाउँदै लगेको, भारत भ्रमणलाई ठूलो उपलब्धिको रुपमा चित्रण गर्न प्रयास गरेको उनको भनाइ छ ।

‘त्यही गठबन्धनभित्र भएको ठूलो दलको नेता देशमै नभएको वेलामा सरकारभित्रै सहभागी दलहरू मिलेर अर्को मोर्चा बनाउनु अनि यी महत्वपूर्ण विषयहरू ओझेलमा पर्नु यसलाई अलि ध्यानमा राख्नुपर्छ कि भनेर मैले आज यो विषयमा जोड दिएँ,’ लामिछानेले भने।

राज्यका संयन्त्रहरुले राम्रोसँग काम गर्न नसकेपछि आफूले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनका लागि संसदीय विशेष समिति गठन गर्न माग गरे पनि सरकारले बेवास्ता गरेको आरोप उनले लगाए ।

राष्ट्रका महत्वपूर्ण मुद्दाहरूलाई छाडेर सरकार अलमलिएको उनको जिकिर छ।