यसपाली बजेटमाथि किन यति धेरै प्रश्न उठे?

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतको नैतिक परीक्षाको समय आएको छ ।बजेट फेल भएको अवस्थामा सरकार नै ढल्ने भएकोले सरकार र अर्थमन्त्रीका सामु बजेट सच्याउनुपर्ने बाध्यता रहेको छ । अर्थमन्त्रीले बजेट सच्याउन असहमत भए बजेट फेल हुने निश्चित छ । त्यस्तो अवस्थामा सरकार ढल्नेछ। हुनलाई विगतमा पनि बजेटमा केही संशोधन भएका छन् । तर, यो स्तरको विवाद भएको थिएन ।

पहिलोपटक अर्थमन्त्री भएका महतका लागि आफूले ल्याएको बजेट संच्याउनु भनेको पनि एक हदसम्म असफल अर्थमन्त्रीको संकेत पनि हो । बजेट सच्याउनुपर्ने स्थिति आउनु भनेको प्रधानमन्त्री र अर्थमन्त्रीकै अक्षमता हो । सामान्यतया यस्तो अवस्थामा प्रधानमन्त्रीले नै नैतिकताका आधारमा राजनीमा दिने प्रचलन विश्वमा देखिन्छ ।तर, नेपालमा त्यस्तो अपेक्षा गर्न सकिँदैन । सत्ता गठबन्धनका दलहरु नै बजेट संशोधनको पक्षमा उभिएपछि सरकार र अर्थमन्त्रीलाई अप्ठयारो परेको छ ।

सत्ता गठबन्धनको एउटा घटक जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवले अहिलेको बजेट एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरूसँग छलफल नै नगरिकन ल्याइएको भन्दै यसलाई सच्याउनुु पर्नेमा जोडदिएका छन् । बजेटले पूरै मधेशलगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको भन्दै यादवले नसच्याइ बजेट पास हुन कठिन हुने बताए । जसपाले जस्तै नेकपा एकीकृत समाजवादीले पनि बजेट सच्याउनुपर्नेमा जोड दिँदै आएको छ ।

सांसदहरुले बजेटमाथि प्रश्न उठाएका मात्र छैनन् मतदान नगर्ने स्पष्ट संकेत गरेका छन् ।प्रधानमन्त्री र उनको दल नै अर्थमन्त्री महतको बजेटमा सहमत नभएपछि अर्थमन्त्री एक किसिमले अप्ठयारोमा परेका छन् । यस्तो अवस्थामा अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने हुन्छ या त महत आँफैले विकल्प दिनुपर्ने हुन्छ। यसरी बजेट फेल गराउने स्तरमा सत्ता गठबन्धनमा कहिले पनि प्रश्न उठेको थिएन। अहिले प्रधानमन्त्री,अर्थमन्त्री र देउवाकाे क्षेत्रमा बजेट केन्द्रित भएकाे भन्दै सांसदहरूले बजेट वितरणमा भएकाे विभेद हटाउन माग गर्दै अाएका छन् ।