वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु


मेयर बालेनले सांसद विकास कोषको पैसा खर्चिदा महानगरको पूर्वस्वीकृति अनिवार्य भनेपछि झस्किए सांसद
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम भनिने सांसद विकास कोषमाथि नियमन गर्ने भएका छन् । महानगरका मेयर शाहले बुधबार ०८०र०८१ को नीति तथा कार्यक्रम पेश गर्दै संघ र प्रदेशबाट आउने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्व सहमति र समन्वय अनिवार्य हुने उल्लेख गरेपछि प्रदेश र संघका सांसद झस्किका छन् । पहिलो त संघीयता मोडलमा गइसकेपछि अब सांसदलाई पैसा बाँड्न नहुने तर्क बलियो छ ।तर, संघदेखि प्रदेशमा सांसदलाई पैसा बाँडिएको छ ।

प्रिमियम आईपीओमा घोराही सिमेन्टको बदमासीः ३ अर्ब उठाएर सर्वसाधारणलाई डुबाउने दाउ
घोराही सिमेन्टले प्रिमियम थप गरी निष्कासन गरेको प्राथमिक सेयरमा ठूलो चलखेल भएको पाइएको छ ।विशाल ग्रुपका सञ्चालकहरू प्रवर्धक रहेको उक्त कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँ प्रतिकित्तामा आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो । कम्पनीले गत जेठ ३२ देखि सर्वसाधारणका लागि ६९ लाख ११ हजार ६ सय ७० कित्ता सेयर सार्वजनिक निष्कासनमा ल्याएको थियो । यसबीचमा उसका केही कारोबार सन्दिग्ध देखिएपछि धितोपत्र बोर्डले छानबिन गरिरहेको छ । घोराही सिमेन्टको मुख्य लगानीकर्ता र रेटिङ एजेन्सीबीच स्वार्थ बाझिने सम्बन्ध देखिँदा प्रिमियम मूल्यमा सेयर जारी गर्ने अनुमति प्रक्रिया झन् विवादित बनेको छ ।

नयाँ दलहरु पनि पुरानाको आलोचनामै अलमलिए
सदनदेखि सार्वजनिक समारोहसम्म चर्का भाषण गरेर नथाक्ने दलका नेताहरुको व्यवहार भने नागरिकका समस्या समाधानमा जोडिन सकेका छैनन् । पुराना र आफूलाई स्थापित भन्नेदेखि नयाँसम्मका सबै दलको ध्यान सस्तो लोकप्रियता कमाउनेमै केन्द्रित छ ।सत्ता केन्द्रित राजनीति र नेताहरूको सस्तो प्रचारबाजीले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दा भने ओझेलमा मात्र परेका छन् । दलहरुमा जिम्मेवारी बोध पनि हराउँदै गएको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला भनिएका दलहरुकै केही नेता मुछिएपछि शीर्ष नेतृत्व उनीहरुलाई जोगाउन लागिपरेको भन्दै नागरिकस्तरबाटै विरोध भयो ।

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतहरूमै चल्ने
साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा अब जिल्ला अदालतहरूमै चल्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साइबर अपराध र चेक बाउन्स कसुरको सुनुवाइ तथा फैसला देशभरका जिल्ला अदालतले गर्न पाउने निर्णय लिएको हो । विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम सोही ऐनको परिच्छेद ९ का कसुरहरूको सुरू कारबाही र किनारा लगाउने अधिकार सबै जिल्ला अदालतलाई दिने निर्णय गरेको छ ।

सुनिल क्षेत्रीको ह्याट्रिक,पाकिस्तानविरूद्ध भारतको सानदार जित
सुनिल क्षेत्रीको ह्याट्रिकप्रेरित साविक विजेता भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानविरुद्ध ४–० को फराकिलो जित निकाल्दै साफ च्याम्पियनसिपमा सानदार सुरुआत गरेको छ । सुनीलले दशौं मिनेटमा पहिलो गोल गर्दा १६ मिनेटमा पेनाल्टीमार्फत् अग्रता दोब्बर पारे। उनले ७४ मिनेटमा ह्याट्रिक गर्दा पनि पेनाल्टीबाट नै गोल गरेका थिए।

‘उज्यालो गण्डकी प्रदेश’ घोषणा हुने
गण्डकी प्रदेशलाई आर्थिक वर्ष २०८०÷८१ मा ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने भएको छ । सरकारको आव २०८०÷८१ को बजेटमा गण्डकी प्रदेशभर विद्युतीकरण र वैकल्पिक कर्जाको विस्तार गरी यसै वर्ष ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गरिने उल्लेख छ ।विद्युत् सेवाबाट वञ्चित रहेका प्रदेशभित्रका बाँकीघरधुरीमा सौर्य उर्जा जडान गर्न आवश्यक बजेट विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताउनुभयो ।

वैदेशिक सहयोग समेत खर्च भएन!!
प्रदेश र स्थानीय तहले आवश्यक चासो र ध्यान नपु¥याएका कारण लोकतान्त्रिक पद्धति सुदृढीकरण र शासकीय सुधार क्षमता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त वैदेशिक सहयोगको ठूलो अंश खर्च नभएको तथ्य सार्वजनिक भएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत सञ्चालनमा रहेको प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम ९पिएलजीएसपी० को ठूलो रकम खर्च हुन नसकेको हो । आर्थिक वर्ष २०७६÷७७ देखि २०७९÷८० सम्म उक्त कार्यक्रम सञ्चालनका लागि रु १४ अर्ब ९५ करोड रकम व्यवस्थापन गरिएकामा गत चैतसम्म रु तीन अर्ब २३ करोड ८७ लाख मात्र खर्च भएको राष्ट्रिय कार्यक्रम निर्देशक व्यवस्थापक भूपेन्द्र सापकोटाले जानकारी दिनुभयो ।

किसानलाई धानको बीउ र मकै जोगाउनै मुस्किल
वैशाख अन्तिम साता लगातार वर्षा भएपछि पश्चिम बागलुङका किसानले धानको बीउ लगाए तर जेठ लागेपछि वर्षा रोकियो ।त्यसपछि अहिलेसम्म पानी परेको छैन । लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाटेर धानको बीउ सुक्न थालेका छन् । लामो समय खडेरी पर्दा ब्याडमा धानको बीउसँगै बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेपछि कृषक चिन्तित बनेका छन् । अघिल्ला वर्षहरुमा यति बेला यस क्षेत्रका खेतमा कृषकले धान लगाउन सुरु गर्थे । वर्षा नहुँदा खोलानालासमेत सुकेका छन् ।

धुलिखेलको बजेट एक अर्ब १५ करोड
धुलिखेल नगरपालिकामा आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु एक अर्ब १५ करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।नगरले बुधबार तेह्रौँ नगरसभाको अधिवेशन सम्पन्न गर्दै उक्त बजेट पारित गरेको हो । तोकिएको अवधिमा बजेट सार्वजनिक गर्ने काभ्रेपलाञ्चोकको १३ स्थानीयमध्ये धुलिखेल नगर पहिलो हो । सभामा आउँदो आवका नगर प्रमुख अशोक ब्याञ्जुले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम र बजेट, उपप्रमुख निराजन जङ्गमले प्रस्तुत गर्नुभएको आर्थिक विधेयक र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको छ ।

ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने
उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ ।वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल रु ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । “समग्रमा पालिकाभरिका योजना एकीकृतरुपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिनेछ”, उहाँले भन्नुभयो ।

सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण
नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा०ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०÷८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो ।

लम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमितलम्पी स्कीनबाट आठ हजार पशुचौपाया सङ्क्रमित
बैतडीमा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया सङ्क्रमित भएका छन् ।हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन् । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मङ्सिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो । हाल जिल्लाभरि फैलिएको छ । लम्पी स्कीनबाट बाच्छाबाच्छी, गाई, गोरु र भैँसी बढी प्रभावित भएका छन् ।

प्रचण्ड र विप्लवबीच भेटवार्ता,पार्टी एकताबारे छलफल
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको हो । ‘समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्नेमा छलफल केन्द्रित रह्यो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘माओवादी आन्दोलनको उपलब्धीको रक्षाका लागि पार्टी एकता गर्नेबारे पनि कुराकानी भयो।’

ओझेलमा लुम्बिनी प्रदेश प्रहरी अस्पताल
लुम्बिनी प्रदेश प्रहरी अस्पताल २०५५ सालमा स्थापना भएको हो । द्वन्द्वकालको चपेटामा पर्दासमेत यसले निरन्तर सेवा प्रदान गरेको थियो । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका सबै प्रहरी परिवारका बिरामीलाई सेवा दिँदै आएको लुम्बिनी प्रदेश प्रहरी अस्पताल पछिल्लो समय भने ओझेलमा परेको छ । प्रदेशअन्तर्गतका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरुका परिवार र भूपू प्रहरीलाई समेत लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आए पनि अस्पतालको विकासका लागि सम्बन्धित निकायको पर्याप्त ध्यान जान सकेको छैनै ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले आफूविरुद्ध आक्रमण गर्ने व्यक्तिउपरको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध दिएको रिटमाथि सर्वोच्च अदालतमा बिहीबार सुनुवाइ हुँदै छ ।रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा परेको छ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउनेले बुधबार सर्वोच्च पुगेर रिट दर्ता गराएका थिए । अधिवक्ता सुरज बस्नेत, सुनिता राउत बस्नेत, स्वागत नेपाल, भरत खड्का लगायतले चलाउनेको पक्षमा रिट दायर गरेका थिए।

पर्यटकको प्रतीक्षामा साल्पापोखरी
साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो ।साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा रहेको यो चार जिल्लाको सङ्गमस्थल भए पनि भोजपुर जिल्लाको साल्पासिलिच्छो गाउँपालिकामा पर्दछ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा ओर्लिएर भोजपुरको कात्तिके, नेपालेडाँडा, मझुवा, केदाकाउले, ताँबुटार, चौकीडाँडा, दोभाने पार गरेपछि साल्पा पोखरी पुग्न सकिन्छ भने भोजपुर सदरमुकामबाट सुन्तले, मैयुङ हुँदै पनि त्यहाँ पुग्न सकिन्छ । साल्पापोखरी जाने क्रममा बाटोमा पर्ने भेडेटार डाँडाले मनै फुरुङ बनाउँछ ।

गर्मी छल्न नरपानी पुग्छन् पर्यटक
नरपानी डाँडा चिसो हावा र चिसो पानीले प्रसिद्ध छ । यहाँबाट धेरै हिमाल देख्न पाइन्छ ।
मनमोहक दृश्यहरु देख्न पाइने हुँदा गर्मीयाममा तराईबाट गर्मी छल्न यहाँ धेरै पर्यटक आउने गर्छन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या पनि वृद्धि भएको छ । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी प्रमुख पिकनिक स्थलका रुपमा बिकसित हुँदै गएको छ ।

ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय तह
म्याग्दीमा रहेका तीन सयवर्ष भन्दा पुराना देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाको संरक्षण गर्न थालिएको छ ।यहाँका स्थानीय तहले धार्मिक तथा ऐतिहासिक महत्वका देवल, ऐतिहासिकस्थल र प्राचीन सम्पदाको मर्मतसम्हार गरेर संरक्षण गर्न थालेका हुन् । सदरमुकाम बेनीलगायत जिल्लाका छ वटै स्थानीय तहमा रहेका पुरातात्विक तथा शिखरशैलीका देवल र प्राचीन सम्पदा प्रचारप्रसार र संरक्षणको अभावमा नासिँदै जान थालेपछि स्थानीय तहले मर्मत गरी संरक्षण गर्न थालेका हुन् । लोप हुने अवस्थामा पुगेका र ओझेलमा परेका त्यस्ता सम्पदाको संरक्षण र पुनःनिर्माण हुन थालेपछि स्थानीय हर्षित भएका छन् ।

पशुपति अध्ययन केन्द्र स्थापना गरिँदै
पूर्वीय दर्शनका बारेमा अध्ययन अनुसन्धान गर्न चाहनेका लागि पशुपति क्षेत्रमा पशुपति अध्ययन केन्द्र स्थापना गरिने भएको छ ।पशुपति क्षेत्र विकास कोषले प्रस्तावित गुरुयोजनामा समेत पशुपति अध्ययन केन्द्र स्थापना गर्ने अवधारणा अघि सारेको छ । गुरुयोजना पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्बाट पारित भई मन्त्रिपरिषद्बाट पारित हुने क्रममा रहेको जनाइएको छ । नेपाल वेद विद्याश्रमसँगै निर्माण गरिने अध्ययन केन्द्रको ढाँचा पनि तयार गरिएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो ।

आईसीसी क्रिकेट विश्वकप छनोटस्गुलशनले दिलाए नेपाललाई दोस्रो सफलता
आईसीसी क्रिकेट विश्वकप छनोटको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध बलिङमा दबाब बनाएको छ ।जिम्बाव्वेको हरारे स्पोर्टस सेन्टरमा भइरहेको खेलमा नेपाली बलरहरुले बिहानी विकेटको फाइदा लिइरहँदा वेष्ट इण्डियन ब्याटरहरु भने रनका लागि संघर्षरत छन् ।
जिम्बावेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले दुई विकेट गुमाइसकेको छ।

मेयर बालेन शाहले फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका छन् ।उच्च अदालत पाटनले बिहीबार भारतीय चलचित्र लगायत सेन्सर बोर्डले स्वीकृत गरेका चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

खोजी र उद्धार गर्न प्रभावकारी संयन्त्र तयार छ– गृहमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीपहिरोलगायत विपद्का घटनापछिको खोजी, उद्धार र राहतकार्य तत्काल प्रभावकारी हुने गरी संयन्त्र तयार गरिएको बताउनुभएको छ ।राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले आवश्यक पूर्वतयारी गरेका कारण विपद्पछि उद्धार, खोजी र राहत कार्यलाई व्यवस्थितरुपमा सम्बोधन गर्न सकिएको जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “विपद्का घटनामा तत्काल उद्धारकार्यका लागि तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा रहनुका साथै कमाण्ड पोष्टसमेत गठन गरिएको छ, त्यससम्बन्धी राष्ट्रिय कार्ययोजना पनि निर्माण गरिएको छ ।”

नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा कुँवर निर्वाचित
नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्रबहादुर कुँवर निर्वाचित भएका छन् ।बिहीबार दिउँसो सकिएको मतगणनाअनुसार उनी ४४१ मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी महेन्द्र यादवले ३७६ मत पाए।यस्तै, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, खुला उपाध्यक्षमा गणेशबहादुर केसी, महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रविक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ, र अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।

मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी
मधेस प्रदेशको शतप्रतिशत गाउँबस्तीमा विद्युत् सेवा पुगेको छ । प्रदेशका सबै टोलबस्तीमा विद्युत् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ ।विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख ई मुनिन्द्र ठाकुरले अघिल्लो आर्थिक वर्ष २०७८र७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत् सेवा पुगेको जानकारी दिनुभयो ।“बाँकी रहेको एक प्रतिशत घरमा चालु आर्थिक वर्ष २०७९र८० मा विद्युत पुर्‍याएपछि प्रदेशका शतप्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ”, उहाँले भन्नुभयो । प्रमुख ठाकुरले केही दिनमा प्रदेशलाई ‘शतप्रतिशत विद्युतीयकरण प्रदेश’घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

माओवादीले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र०ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ ।बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । केन्द्रीय सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय सदस्य दुई सय दुई गरी माओवादीको केन्द्रीय समिति पाँच सय ८८ सदस्यीय रहेको छ ।

सभामुख घिमिरेसँग उत्तर कोरियाली राजदूत मेनको भेट
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आज सभामुखको कार्यकक्ष सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।भेटमा नेपाल–उत्तर कोरिया द्विपक्षीयसम्बन्ध विस्तार, संसदीय आदानप्रदान लगायतका विषयमा छलफल भएको छ । भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदानप्रदान एवं भ्रमणको स्मरण गर्नुभएको थियो ।

सामान्य अंकले बढ्यो नेप्से
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापन परिसूचक नेप्से सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन सेयर बजार सामान्य बढेको भएता पनि ७ कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।आज सेयर बजार मापन सूचक नेप्से ४।७५ अंकले बढेर २०५५।५३ बिन्दुमा पुगेको छ। बुधबार बजार घटेको थियो। बुधबार नेप्से सूचक १४।०५ अंकले घटेर २०५० को विन्दुमा आईपुगेको थियो। बुधबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ। बुधबार ३ अर्ब ४९ करोड ६८ लाख २२ हजार रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार ३ अर्ब ४४ करोड ४८ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

कर्णालीमा आयुर्वेद प्रयोगशाला सञ्चालन गरिँदै
कर्णाली प्रदेशमा पहिलो पटक आयुर्वेद प्रयोगशाला सञ्चालनमा ल्याइने भएको छ । प्रदेश आयुर्वेद अस्पतालले आफ्नै प्रयोगशाला सञ्चालन गर्नेगरी तयारी थालेको हो ।फार्मेसी सञ्चालन गर्ने तयारी गरिएको जनाउँदै अस्पतालले कर्णालीमै आयुर्वेद औषधिमापन गर्ने प्रयोगशाला स्थापना गर्ने तयारी गरेको हो । कर्णालीमा प्रसस्त मात्रामा औषधिजन्य जडीबुटी पाइने भन्दै त्यसलाई औषधिको रुपमा मापदण्डअनुसार प्रयोग गर्नेगरी प्रयोगशाला सञ्चालन गर्ने तयारी भएको आयुर्वेद अस्पतालका निर्देशक डा। शङ्कर रिजालले जानकारी दिनुभयो ।

जनशक्ति नहुँदा एक्सरे सेवा बन्द,बिरामी मर्कामा
बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा बन्द गरिएको छ ।जनशक्ति अभाव रहेकोले एक्सरे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिनुभयो । एक्सरे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उहाँले बताउनुभयो ।यसअघि एक्सरे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धि पूर्ण ज्ञान नहुँदा एक्सरे सेवा बन्द गर्नुपरेको हो । उहाँले भन्नुभयोे, “पहिले प्यारामेडिक्सले जसोतसो एक्सरे सेवा दिइरहेका थियौँ ।

उपप्राध्यापकमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता नलिन सर्वोच्चको अन्तरिम आदेश
सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुविरुद्ध मुद्दा फिर्ता लिने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले मुद्दा फिर्ता लिने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अधिवक्ता राधिका खतिवडाले जानकारी दिइन्।

पार्टी एकताका लागि माओवादीको औपचारिक जवाफको प्रतिक्षामा छौँ : नेता श्रेष्ठ
नेपाल समाजवादी पार्टी ९नेसपा० का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेकपा९माओवादी केन्द्र० र नेसपाबीच एकताका लागि पटक–पटक वार्ता गरी आधार प्रस्तावसमेत प्रस्तुत गरिसकेको बताउनुभएको छ ।सञ्चार माध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीले पठाएको आधार प्रस्तावबारे माओवादीको औपचारिक जवाफको प्रतिक्षामा रहेको जानकारी दिनुभयो ।नेता श्रेष्ठले भन्नुभयो,“माओवादी पक्षले पार्टीको आगामी बैठकबाट औपचारिकरुपमा तपाईहरुलाई जवाफ दिन्छाँै भन्नुभएको छ, त्यो कहिले आउँछ भन्ने प्रतिक्षामा हामी छौँ । जवाफ आइसकेपछि त्यसका आधारमा पार्टी एकतासम्बन्धी ठोस् निर्णय गरेर अघि बढछौँ ।”

बिजुलीको आन्तरिक खपतका लागि कार्ययोजना तयार भएको छ : ऊर्जामन्त्री बस्नेत
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हाम्रो आवश्यकता र स्रोतको बीचमा ठूलो खाडल रहेको बताउनुभएको छ ।प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा मन्त्री बस्नेतले सरोकारवाला निकायका बीचको समन्वय अभावका कारण पनि अपेक्षित प्रगति हासिल गर्न कठिनाइ रहेको बताउनुभयो । उहाँले आवश्यकता र स्रोतबीच रहेको अन्तरका कारण पनि अपेक्षित प्रगति हासिल गर्न कतिपय अवस्थामा कठिनाइ भएको बताउनुभयो ।

सर्वोच्चले नै खोलिदियो नागरिकता ऐन कार्यान्वयनको बाटो
सर्वोच्च अदालतले नागरिकता ऐनसम्बन्धी विवादमा यसअघि एकल इजलासबाट जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। ऐन कार्यान्वयन नगर्नू भन्ने यसअघिको आदेश खारेज गर्दै सर्वोच्चले ऐन कार्यान्वयनको बाटो खोलिदिएको हो।नागरिकता ऐनसम्बन्धी विवादको मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासले आज सुनुवाइ गर्दै अन्तरिम आदेश निरन्तरता नहुने आदेश गरेको छ।

बाल परिषद् खारेज गर्नु हुँदैन : सभापति कार्की
महिला तथा सामाजिक मामिला समितिका सभापति रोशन कार्कीले राष्ट्रिय बाल परिषद् खारेज गर्न नहुने बताउनुभएको छ ।समितिको आज बसेको बैठकमा ‘परिषद्को अवस्था, आवश्यकता र औचित्यता’ विषयमाथिको छलफलमा बालबालिकाको संरक्षणमा क्रियाशील रहेको परिषद्लाई प्रवद्र्धन गर्न आवश्यक रहेको सभापति कार्कीको भनाइ छ । “महत्त्वपूर्ण परिषद्लाई निराश बनाउनु हुँदैन ।मन्त्रालयसँग समन्वय गरी आवश्यक परे परिषद्को विकासका लागि लिखितरूपमा सरकारलाई सिफारिस गर्न समिति प्रतिबद्ध छ”, उहाँले भन्नुभयो । सो अवसरमा परिषद्का पूर्वकार्यकारी निर्देशक मिलन धरेलले परिषद्को अवस्था, आवश्यकता र औचित्यतासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै बालबालिकाको आशा भरोसाको केन्द्रका रूपमा रहेको परिषद् सवलीकरण गर्न जरुरी रहेको बताउनुभयो ।

वेस्ट इन्डिजद्वारा नेपालसामु जितका लागि ३४० रनको चुनौती पेस
आइसिसी एकदिवसीय विश्वकप छनोट खेलमा वेस्ट इन्डिजले कप्तान शाई होप र निकोलस पुरनको शतकमा नेपाललाई जितको लागि तीन सय ४० रनको लक्ष्य दिएको छ ।जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै तीन सय ३९ रनको योगफल बनायो ।

मन्त्री सवार गाडी दुर्घटनाबारे छानबिन समिति गठन
सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्रीसहित पाँच जना सवार सुपप्र ००१ झ ४८० नम्बरको गाडी दुर्घटनाको सत्यतथ्य पत्ता लागाउन छानबिन समिति गठन गरेको छ ।आज बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव गङ्गाबहादुर खरेलको अध्यक्षतामा छानबिन समिति गठन गरेको हो ।

सेवाप्रवाह र गुनासो व्यवस्थापनमा गम्भीर हुन महानिरीक्षकको निर्देशन
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवं अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थभन्दा पेसागत स्वार्थलाई आत्मसात गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी अस्पताल महाराजगञ्जको आज निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीलगायतका प्रहरी कर्मचारीलाई निर्देशन दिँदै उहाँले अस्पतालमा आउने सेवाग्राहीका समस्यालाई सम्बोधन गर्दै सकारात्मक सोचका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिनुभयो ।

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय
अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०र८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ।चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ ।छलफलका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गर्नुभयो ।

प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सवमा पुस्तक प्रदर्शनी गरिने
नेपाल प्रज्ञा प्रतिष्ठानको ६६औँ वार्षिकोत्सवका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले असार ८ गतेदेखि पुस्तक प्रदर्शनी सुरु गरिने भएको छ ।प्रदर्शनीमा प्रतिष्ठानले प्रकाशन गरेका पुस्तक र पत्रपत्रिका गरी छ सयभन्दा बढी राख्ने तयारी भएको व्यवस्थापक सुधीर ढुङ्गेलले राससलाई जानकारी दिनुभयो । प्रदर्शनीमा प्रज्ञाले २०३० देखि २०८० जेठसम्म प्रकाशन गरेका पुस्तक बिक्रीमा राखिनेछ । रु तीनदेखि रु तीन हजार तीन सय ३५ सम्म मूल्यका पुस्तक प्रदर्शनीमा राखिने जनाइएको छ ।

वनमन्त्री डा महतोद्वारा जङ्गी अड्डाको भ्रमण
वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जङ्गी अड्डाको भ्रमण गर्नुभएको छ । प्रकृति संरक्षणअन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालय र वन तथा पर्यावरण सुरक्षा निर्देशनालयमार्फत नेपाली सेनाले सञ्चालन गरिरहेका विविध गतिविधिको जानकारी लिने उद्देश्यले उहाँले भ्रमण गर्नुभएको हो ।प्रधान सेनापति प्रभुराम शर्माले आज उहाँलाई जङ्गी अड्डामा स्वागत गर्दै २०३२ सालदेखि नेपाल सरकारको निर्णयबमोजिम नेपाली सेनाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष तथा संरक्षित क्षेत्रमा तैनाथ रही वन्यजन्तु तथा प्रकृति संरक्षणका क्षेत्रमा गरिरहेका सार्थक प्रयासबारेमा अवगत गराउनुभएको थियो ।