ताप्ली गाउँपालिकाले वडामा बजेट नपठाउने

उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ ।

वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो । गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल रु ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । “समग्रमा पालिकाभरिका योजना एकीकृतरुपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिनेछ”, उहाँले भन्नुभयो । पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो । बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारीता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताउनुभयो ।

गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत रु सात करोड ५५ लाख, सशर्त अनुदान शीर्षकअन्तर्गत रु १८ करोड, विशेष अनुदानतर्फ रु एक करोड नौ लाख र समपुरक अनुदान पुँजीगततर्फ रु २६ करोड बजेट विनियोजन गरिँदै छ । चालु आवको तुलनामा आगामी आवका लागि रु दुई करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ । ताप्लीमा पाँच वडा रहेका छन् ।