नयाँ दलहरु पनि पुरानाको आलोचनामै अलमलिए

काठमाडाैं । सदनदेखि सार्वजनिक समारोहसम्म चर्का भाषण गरेर नथाक्ने दलका नेताहरुको व्यवहार भने नागरिकका समस्या समाधानमा जोडिन सकेका छैनन् । पुराना र आफूलाई स्थापित भन्नेदेखि नयाँसम्मका सबै दलको ध्यान सस्तो लोकप्रियता कमाउनेमै केन्द्रित छ ।

सत्ता केन्द्रित राजनीति र नेताहरूको सस्तो प्रचारबाजीले जनताको जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दा भने ओझेलमा मात्र परेका छन् । दलहरुमा जिम्मेवारी बोध पनि हराउँदै गएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला भनिएका दलहरुकै केही नेता मुछिएपछि शीर्ष नेतृत्व उनीहरुलाई जोगाउन लागिपरेको भन्दै नागरिकस्तरबाटै विरोध भयो । त्यही प्रकरणमा जोडिएका अन्य केही नेता र संवैधानिक निकायका केही पदाधिकारी दलहरुकै दबाबले अझै अनुसन्धानमा नतानिएको चर्चा भइरहेको छ ।

नागरिकले दैनिक भोग्नु परेका समस्या समाधानमा भन्दा नेताहरुको ध्यान आफू र आफ्नालाई जोगाउन केन्द्रित हुने गरेको छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति, किसान र उद्योगीका समस्या तथा सरकारी सेवा प्रवाहमा देखिएको ढिलासुस्ती अन्त्य दलहरुको व्यवहारमा होइन, नारामा मात्रै सीमित छ । बजारको निगरानी गर्नुको सट्टा बिचौलियासँग मोलमोलाइ गर्ने प्रवृत्ति पनि नेताहरुमा व्याप्त छ । वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित गर्ने कुरा घोषणापत्रमै सीमित छ ।

पुराना दलहरू काममा गम्भीर छैनन् नै नयाँ दलहरु पनि सिर्जनात्मक काममा भन्दा पनि पुरानाको आलोचनामै अलमलिएका छन् । त्यसैले नागरिकको जीवनसँग जोडिएका विषय प्राथमिकतामा नपर्ने गरेको विश्लेषकहरुको बुझाइ छ ।देशलाई सधैँ राजनीतिक संक्रमणमै राख्ने र त्यसबाटै निश्चित स्वार्थ परिपूर्ति गर्ने ध्येयबाट दल र तिनका नेताहरु माथि नउठेसम्म सुशासनको विषय सधैँ नारामै सीमित हुनेछ । राजनीतिक व्यवस्था परिवर्तन गर्ने दलहरुकै व्यवहारले व्यवस्थालाई नै विकृत गराउँदासमेत उनीहरुको चेत खुलेको छैन ।