सभापति लामिछानेले श्रमदान सुरुआत गरेकाे चार महिनापछि रामनगरमा खानेपानी

काठमाडाैँ। चितवनको रामनगरमा झन्डै चार महिना श्रमदान गरेर खानेपानी ल्याइएको छ । भरतपुर महानगरपालिका– २९ स्थित खहरेखोलाको पानी ल्याउन भरतपुर महानगरपालिका–१ का स्थानीयले श्रमदान गरेका हुन् ।

उनीहरुलाई चितवनका विभिन्न क्षेत्रका नागरिकले पनि श्रमदानमा साथ दिएका थिए । भरतपुरको रामनगर, ठिमुरा र देवघाट क्षेत्रका बासिन्दालाई पानी खुवाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले श्रमदानको सुरुआत गर्नुभएको थियो । उहाँले स्थानीयलाई गरेको वाचाअनुसार नै निर्धारित समयमा खानेपानी ल्याइएको छ ।

आठ किलोमिटर लामो दूरीमा नयाँ पाइप बिछ्याएर रामनगरस्थित ट्याङ्कीमा पानी झारिएको छ । स्थानीय सीता भट्ट रामनगरवासीको मुख्य समस्या पानी रहेको भन्दै खहरेखोलाको पानी आएपछि निकै खुसी भएको बताउनुभयो । उहाँले नियमितरूपमा श्रमदानमा खटिएको समेत बताउनुभयो ।

स्थानीय राधा कुँवर घरको काम छाडेर जनश्रममा जुटेको भन्दै पानी आएपछि उत्साहित भएको बताउनुभयो । उहाँले अब पानीको लागि झेल्दै आएको समस्या समाधान भएको बताउनुभयो । विसं २०४९ चैतमा नेपाल र जापान सरकारको सहकार्यमा भरतपुर खानेपानी विस्तार आयोजनाको सुरुआत भएको थियो ।

त्यसबेला रामनगरमा चारवटा पानी ट्याङ्की निर्माण गरिएका थिए । जुगेडीबाट पानी उक्त क्षेत्रमा ल्याएर भरतपुरका विभिन्न स्थानसम्म वितरण हुने गर्दथ्यो । द्वन्द्वकालपछि धेरै संरचना नष्ट भएपछि खानेपानी ट्याङ्की क्षेत्र झाडीमा परिणत भएको थियो । अहिले सोही ठाउँमा सरसफाइ गर्दै खानेपानीका ल्याइएको हो ।

रामनगर क्षेत्रमा हरेकको घरमा इनार भए पनि जनघनत्व बढ्दै जाँदा खानेपानीको अभाव पनि बढ्दै गएकाले खहरेखोलाको पानी ल्याउनुपरेको स्थानीय तुलसीराम श्रेष्ठले बताउनुभयो । खहरेखोलाबाट खानेपानी आएपछि दीर्घकालीन समस्या समाधान भएको उहाँको भनाइ छ ।

त्यतिखेर जाइकाले निर्माण गरेकै ट्याङ्कीलाई प्रयोग गरेर खानेपानी विस्तार गरिएको सभापति लामिछानेका स्वकीयसचिव प्रकाश सिग्देलले जानकारी दिनुभयो । “भुइँमा बिछ्याएको पाइप सबै चोरिएको थियो ।

त्यसैले मुहानबाट रामनगरसम्म पूरै पाइप बिछ्याइएको हो”, उहाँले भन्नुभयो, “मुहान र बीचको ट्याङ्की प्राविधिकहरूको सल्लाहअनुसार प्रयोग गरिएको छ ।” रामनगर, ठिमुरा र देवघाट क्षेत्रमा करिब चार हजार घरधुरी रहेकामा तत्कालका लागि रामनगर र ठिमुरा क्षेत्रका करिब दुई हजार पाँच सय घरधुरीलाई खानेपानीको व्यवस्थापन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

“त्यसपछि पानीको स्रोतले पुगेसम्म वितरण गर्ने योजना छ”, उहाँले भन्नुभयो, “वडा नं १ को माथिल्लो क्षेत्रमा पुगेर बढी भएमा आँपटारीभन्दा तलसम्म पनि पुर्याउन सकिन्छ ।” यसले भरतपुर महानगरपालिकाभित्रको खानेपानी व्यवस्थापनलाई ठूलो मद्दत पुग्ने उहाँले बताउनुभयो ।

श्रमदानबाट खानेपानी ल्याउन करिब रु एक करोड खर्च भएको जनाइएको छ । आठ किलोमिटरको दूरीमा नयाँ पाइप खरिद र बिछ्याउने तथा ट्याङ्की मर्मत र सरसफाइ तथा प्राविधिक खर्च गरी करिब रु एक करोड खर्च भएको उहाँले बताउनुभयो । “यी सबै खर्च जनस्तरबाटै सङ्कलन गर्ने र सरकारी बजेट कहीँबाट पनि नलिइकनै काम गरेका छौँ”, उहाँले भन्नुभयो, “यहाँका जनताले आफैँ खुसी भएर सहयोग गरेका छन् ।”