खुद्रा पसल नचलेपछि माओवादी-जसपा-एस र नेकपाले बनाए समाजवादी मोर्चा, कांग्रेस झस्कियो

काठमाडाैँ। खुद्रा पसल थापेर बसे माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र नेकपा गरी चार दलले गठबन्धनभित्र फेरि अर्काे गठबन्धन गरेका छन् । गत वर्ष मंसिरमा भएको निर्वाचनमा नेकपाबाहेकका यी दलले कांग्रेससँग गठबन्धन गरेर चुनाव लडे पनि नतिजा अपेक्षाकृत नआएपछि रन्थनिएका थिए ।

खासगरी, जसरी पनि एमालेलाई हराउने रणनीति माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लिएका थिए । तर, गठबन्धनमा रहेको कांग्रेस पहिलो दल बन्दा एमालेलाई दोस्रो हुनबाट रोक्न सकेनन् ।

अहिले राजनीतिक शक्ति आर्जनकै लागि यी चार दलले मोर्चा बनाएका हुन् । पश्चगामी र यथास्थितिवादी अवस्थालाई अग्रगामी निकास दिने लक्ष्य राखिएको छ । प्रतिनिधिसभामा समाजवादी मोर्चाका ५४ सांसद छन् । माओवादीका ३२, जसपाका १२ र एकीकृत समाजवादीका १० जना छन् ।सोमबार घोषणा भएको मोर्चाको नेतृत्व शीर्ष नेताले आलोपालो गर्ने भएका छन् ।

मोर्चाले सार्वजनिक गरेको सहमतिपत्रमा मोर्चाको नेतृत्व शीर्ष नेताहरूले आलोपालो गर्ने निर्णयप्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने उल्लेख छ । मोर्चामा अन्य समाजवादी तथा प्रगतिशील दलहरूलाई पनि समावेश गरिँदै लैजाने सहमतिपत्रमा उल्लेख छ ।

तर, माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा टिकाइराख्न मुख्य भूमिका खेलेको कांग्रेस भने मोर्चामा छैन । नौ दलीय गठबन्धन रहेका बेला कांग्रेसलाई बाहिर राखेर मोर्चा बनेको छ । यसले कांग्रेस नेतृत्व भने झस्किएको छ ।अहिले कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरमा छन् । कांग्रेस नेताहरुले यसबारे औपचारिक टिप्पणी गरेका छैनन् ।

तर, गठबन्धनमै उपगठबन्धन बन्न लागेपछि त्यसले सत्ता गठबन्धनको भविष्य कसरी अगाडि बढ्छ भन्ने चासो बढेको छ ।मोर्चा संसदमा निर्णायक तेस्रो शक्तिका रूपमा उदाउने भएपछि कांग्रेसले थप रणनीति बनाउने छ । सत्ता गठबन्धनको भविष्य पनि कांग्रेसको निर्णयले निर्धारण गर्नेछ ।मोर्चालाई देखाएर सत्ता गठबन्धन र एमालेसँग बार्गेनिङ पावर बढाउन प्रधानमन्त्री प्रचण्डले थाती रहेका योजना अहिले ब्युँताएको बुझाइमा कांग्रेस छ ।