बूढीगण्डकी जलविद्युत् आयोजना चाँडो शिलान्यास गर्न आग्रह

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा ऊर्जा मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा भाग लिँदैै सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिनुभयो ।

रु दुई खर्ब ६० अर्ब लाग्ने सो आयोजना धादिङ र गोरखाको सिमानामा छ । कूल एक हजार दुई सय मेगावाट क्षमताको उत्पादन हुने सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डेले मुलुक विद्युत् उत्पादनको महत्वपूर्ण चरणमा पुगेको अवस्थामा उत्पादन, वितरण र बिक्रीको समग्र योजना बनाउन पनि माग गर्नुभयो ।

उहाँले ठूला सिँचाइ आयोजना सफल हुन समय लागेकाले साना सिँचाइ आयोजनालाई पनि महत्व दिन र मधेसमा नदी कटानलाई व्यवस्थित गर्न पनि आग्रह गर्नुभयो ।