हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्तासँग आज छलफल

काठमाडौं। संसदीय सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्तासँग आज छलफल गर्दैछ ।

छलफलका लागि समितिको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । समितिमा २९ जनाले उजुरी दिएपनि २१ जना मात्रै छलफलमा सहभागी हुन लागेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

प्रधानन्यायाधीशमा प्रस्तावित कार्कीको सुनुवाइ भोलि नै सकेर नाम अनुमोदन गर्ने कार्यतालिका छ । गत बैशाख २५ गते बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश कार्कीलाई प्रधानन्यायाधीशमा प्रस्ताव गरेको थियो ।

कार्कीविरुद्ध जिल्ला न्यायाधीशदेखि कानुन व्यवसायी र अभियन्तासम्मले गरी २९ वटा उजुरी दिएका छन् । उजुरीमा कार्कीलाई न्यायाधीश नियुक्त गर्दा नै संविधानविपरित गरिएको दाबी गरिएको छ ।