सत्ता टिकाउन रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप:नेता डा.शेखर कोइराला

काठमाडौं। सत्तारुढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरित रेशम चौंधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् ।

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सत्ता टिकाउन कै लागि तीन वटै तहको अदालतको आदेश विपरित चौंधरीलाई राष्ट्रपतिमार्फत आममाफी दिने निर्णय गरेको बातएका हुन् । दण्डहिनतालाई प्रश्रय दिने गरी सरकारबाट भएका यस्ता क्रियाकलापले लोकतन्त्रलाई नै कमजोर बनाउने बताए ।

नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहतमा राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन् । निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठने गरी सरकारले सो निर्णय गरेकाले आफूहरुले विरोध गर्नु परेको उनको तर्क थियो ।


नेता कोइरालाले लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने दोहोर्याए । कोइरालाले कांग्रेस कमजोर भएको हिन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अतितबाट सिक्ने सके कांग्रेस कमजोर हुने कुनै कारण नरहेको उनले बताए ।