स्ववासी समस्या समाधान हुन्छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठले भक्तपुरलगायत काठमाडौंँ उपत्यकाभित्रको लालपूर्जाविहीन स्ववासी समस्या समाधान गर्ने बताउनुभएको छ । आज उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिले मन्त्री श्रेष्ठलाई भेटी स्वबासी र बेनिस्साका घर खेत दर्ता खुला गर्नुपर्ने माग ध्यानाकर्षण पत्र बुझाएपछि उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “मलाई तपाईंहरुको समस्याबारे राम्रैसँग जानकारी छ, हजारौँ वर्षदेखि आफ्नै थातथलोमा बस्दै आएका स्वबासी र जग्गाको निस्सा नभएका स्थानीयलाई लालपूर्जा उपलब्ध गराउन म सहजीकरण गर्नेछु, म मेरै कार्यकालमा भूमिसम्बन्धी समस्या समाधान गर्नेछु ।” सङ्घर्ष समितिकी संयोजक पृथविन्दु महर्जनको नेतृत्वको टोलीलाई मन्त्री श्रेष्ठले पीडित स्ववासीको पक्षमा आफू सधैँ उभिने बताउनुभयो ।

विसं २०७२ मा जारी भएको नेपालको संविधानले सम्पूर्ण नागरिकलाई सम्पत्तिको हक प्रत्यायोजन गरेको भए पनि संविधान बमोजिम अधिकार प्राप्त नभएकोमा टोलीले मन्त्रीसँग गुनासो गरेका थिए । काठमाडौँ उपत्यकाभित्रका तीन सहरका पुराना बस्तीमा पुस्तौँदेखि बसोबास गर्दै आएका धेरै स्ववासीले लालपूर्जा पाउन नसक्दा समस्यामा परेका छन् ।