त्रियानब्बे वर्षे वृद्ध स्नान गर्न गोसाइँकुण्डमा

गोसाइँकुण्ड यात्राका लागि हेलिकोप्टर कम्पनीले उडान भर्न थालेपछि तिर्थालुलाई त्यहाँ पुग्न सहज भएको छ ।

अहिले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकोप्टरमार्फत पवित्र तीर्थस्थल गोसाइँकुण्ड सहजै पुग्न सकिन्छ । हेलिकोप्टरको सुविधाकै कारण धादिङ नलाङ घर भई हाल काठमाडौँं सीतापाइला बस्दै आउनुभएका शिवराज अर्याल ९३ वर्षको उमेरमा पहिलो पटक गोसाइँकुण्ड पुग्न पाउनुभएको छ । हेलिकोप्टरमार्फत आज विहान गोसाइँकुण्ड पुग्नुभएका उहाँले स्नान एवं पूजाआरधना गर्नुभयो । वृद्ध अवस्थामा हिँडेर जानसक्ने अवस्था नहुँदा उहाँ चार्टर्ड हेलिकोप्टरमार्फत छोरा निमनाथ, बुहारी अम्बिका, नाति सुदीप र छोरी सरस्वती सापकोटासहित गोसाइँकुण्ड पुग्नुभएको हो । काठमाडौँबाट १४ हजार एक सय फिटको उचाइ हुँदै २५ मिनेटमा हेलिकोप्टरमार्फत अर्याल गोसाइँकुण्ड पुग्दा उहाँलाई लेकलाग्ने जस्ता कुनै समस्या नभएको वरिष्ठ क्याप्टेन आनन्द थापाले बताउनुभयो ।

वयोवृद्व तीर्थयात्रु अर्यालले गोसाइँकुण्डमा स्नान र पूजाआजा गरेकोमा खुसी व्यक्त गर्दै सकेसम्म तीन पटक र सम्भव नभए कम्तीमा एक पटक गोसाइँकुण्ड पुग्न अरुलाई सुझाव समेत दिनुभयो ।