प्रधानमन्त्री प्रचण्डले भने:भारत भ्रमणबारे कनिकुथी विरोध गर्नुको तुक छैन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन्।

राष्ट्रिय सभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए। प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भएको भेटवार्ता महत्वपूर्ण रहेको उल्लेख गर्दै भ्रमण विशेष गरी विद्युत् व्यापार, कृषि, सुक्खा बन्दरगाह, पारवहनलगायतका विषयमा केन्द्रित रहेको जानकारी दिए।

प्रचण्डले आफ्नो भारत भ्रमणबारे कनिकुथी विरोध गर्नु उचित नभएको बताएका छन् । उनले भारत भ्रमणमा भएका उपलब्धिको कार्यान्वयन प्रक्रिया अगाडि बढाउन लाग्नुपर्नेमा विरोधमात्रै गर्नु उचित नभएको बताएका हुन् । उनले बरु बंगलादेश जाने बाटोको विकल्पबारे पनि नेपालका केही बुद्धिजीवीहरूले छलफलमा ल्याएको कुरा आफूले पत्रकारहरूसँगको कुराकानीमा गरेको बताए।

'भारत भ्रमणमा उत्पात भयो भन्ने मेरो दाबी होइन । नयाँ सुरुआत भयो । नेपाल समृद्ध हुने ढोका खोलियो । यसमा त हामीले खुसी पो व्यक्त गर्नुपर्छ । यो बेला हो नेपालीहरूले बलियो राष्ट्रिय एकताको प्रदर्शन गर्ने हो । ठिक भएको छ र अझ ठिक हुनुपर्छ भन्ने हो,' उनको आग्रह थियो,' हामी सबैले एक भएर भएका सहमति, समझदारी ठिक ढंगले कार्यान्वयन होऊन् र हुन बाँकी सहमति पनि बनाउन पर्‍यो भन्नुपर्छ । त्यसो भन्यो भने पनि नेपाल बलियो हुन्छ, हामी बलियो हुन्छौं । यसमा अनावश्यक सकिनसकी विरोध गर्नुपर्ने, कनीकुथी विरोधको तरिका अपनाउनु उचित छैन ।'