प्रधानमन्त्री प्रचण्डले भने:दुई पटक पारित गरेको विधेयक राष्ट्रपति कार्यालयको दराजमा थियो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संविधानलाई ट्र्याकमा ल्याएको बताएका छन् । 

सोमबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे उठेका प्रश्नहरूको दोस्रोपटक जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। नागरिकता विधेयकको विषयमा संसद्मा उठेका प्रश्नको सोमबारको प्रतिनिधसभा बैठकमा जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले संसद्‍बाट दुई पटक पारित भएको विधेयक फेरि ल्याउन सम्भव नभएकाले प्रमाणीकरणको प्रक्रियामा गएको बताएका हुन् ।

आफ्नो नेतृत्वको सरकारले मिचिएको संविधानलाई ट्याकलाई ल्याउन सबभन्दा संवैधानिक उपाय के हो भनेर खोजी गरेको प्रधानमन्त्री प्रचण्डले बताए । 

उनले भने, ‘नागिरकता विधेयक दुई–दुईपटक पारित भएर प्रमाणीकरणका लागि गएको थियो। तत्कालीन राष्ट्रपतिले होल्डमा राख्नुभयो। होल्ड गर्दा संविधान मिचिएको थियो। १५ दिनभित्र प्रमाणीकरण नगर्नु संविधानविपरीत थियो। ठूलो क्राइसिसमा संविधान पुगेको थियो। संसद्, सरकार र राष्ट्रपति अविछिन्न उत्तराधिकारका रूपमा अर्कोले मान्नुपर्छ। मिचिएको संविधानलाई ट्रयाक ल्याउने सबैभन्दा संवैधानिक बाटो के थियो ? संविधानविद्, विषयविज्ञहरूको छलफलपछि यही बाटो उत्तम ठानेर यही बाटो अपनायौँ। यसमा तर्क–वितर्क गर्न सकिन्छ। तर, अहिले यो विषय अदालतमा पुगेको छ। त्यहाँबाट अन्तिम फैसला आएपछि यसको प्रक्रियाबारे छलफल गरौँला।’  

नागरिकता विधेयक प्रमाणीकरणका विषयमा तत्कालीन राष्ट्रपतिले संविधानको उल्लंघन गरेको प्रधानमन्त्रीको भनाइ थियो ।