सोमबार, भाद्र ३०, २०७६ | Monday, September 16, 2019

काठमाडौँ
सोमबार, भाद्र ३०, २०७६ Monday, September 16, 2019
मनोरञ्जन

छाङ साटासाट गर्दै लोमान्थांङमा यार्तुङ पर्वसुरु

१९-भाद्र-२०७६ | ०१:१६:०५ pm

हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा यार्तुङ पर्वको रौनक शुरु भएको छ। उपल्लो मुस्ताङीहरुको सांस्कृतिक पर्व यार्तुङ बुधवारदेखि शुरु भएको हो। तीन दिनसम्म चल्ने यस पर्वलाई यहाँको परम्परागत सांस्कृतिक पर्वको रुपमा मनाइदै आइएको छ। बुधबार बिहान ३ हजार ८ सय ४० मिटर उचाईमा रहेको लोमान्थाङको बीचमा रहेको कूलदेवता आमा झोला कर्मोको गुम्बामा गाउँकै लामा गुरु घ्याचो विष्टले विधिपूर्वक पूजाआजा गरेपछि यो पर्व शुरु भएको हो।

पूजापछि मुस्ताङी युवराज जिग्मेसिग्मे परवल विष्टकहाँ शुभकामना दिने क्रम चल्यो।गाउँको ४ टोल र मुखियाको टोलीबाट दरबारभित्र गएकाहरुले राजालाई शुभकामना दिएका लोमान्थाङबाट वर्णन सम्वाददाताले बताए । त्यसको लगत्तै बाजागाजासहित राजालाई घोडसवार गराएर लोमान्थाङको गेट बाहिर निकालिएको थियो। परम्परागत बाजा र नाचसहित घोडसवार राजाको अगाडि लामा गुरु अघिअघि, राजा पछिपछि अनि अन्य घोडसवारहरु पछि लागेको सो यात्रा गाउँमाथि गएर रोकियो। त्यहाँ महिलाहरुले राजालाई शुभकामना दिए। हिमाली भेगमा वर्षात् सकिएपछि यार्तुङ मनाइन्छ।

यार भनेको बर्षा र तोङको अर्थ बर्षा राम्रोसँग सकिएको भन्ने बुझिन्छ। तोङ भनेको मेला पनि हो। लोमान्थाङसँगै यो क्षेत्रका छोसेर, छोण्हुप, घमी, चर्राङ र सुर्खाङमा पनि पर्वको रौनक सुरु भएको हो । लामा गुरुले निकालेको साइत अनुसार यो पटक बुधबार यार्तुङ सुरु गरिएको हो। यार्तुङमा परम्परागत झाँकी, घोडादौड र मीठोमीठो परिकार खाइन्छ। शुभकामना साँटिन्छ। हिमाली क्षेत्रमा शुभकामना साँट्दा खादा र छाङ एक किसिमको जाँडको प्रयोग गरिन्छ।

चिसो ठाउँका बासिन्दाले शरीर तातो बनाउन छाङको प्रयोग गर्ने गर्ने परम्परा रहे पनि यो धेरै खानु हानीकारक हुन्छ ।

[vicomi_feelbacks]