वर्णन मिडिया व्रिफिङ: यस्तो छ आज दिनभरका ताजा खबरहरु

पूर्व राजाले भने झैं कुन व्यवस्था अँगाल्ने भनेर सोच्ने बेला आइसकेकै हाे त?

राजनीतिक दलहरु भ्रष्टाचारका विषयमा आरोप प्रत्यारोपमा उत्रिरहँदा पूर्व राजा ज्ञानेन्द्र शाह भने अहिले नागरिक अभिनन्दनको नाममा देशका विभिन्न ठाउँमा पुगेका छन् ।

उनलाई नागरिक अभिनन्दन जनमत बटुल्ने राम्रो अवसर बसेको छ । राजनीतिक दलहरुको पछिल्ला गतिविधि नियालिरहेका पूर्व राजा शाहले लोकतान्त्रिक व्यवस्थालाई अंकित गर्दै त्यसको विकल्प खोजी गरिनुपर्ने बताएका छन् ।कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिएको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजाकालमा भएको विकासको अहिले स्तोरोन्नति समेत नभएको औल्याए। उनले भने, जनता पनि अहिलेको व्यवस्थाबाट सन्तुष्ट छैनन्।

कर्मकाण्ड पूरा गरेर संसदले पारित गर्यो नीति तथा कार्यक्रम, बजेट क्यालेन्डर मिचियो

संसदले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम शनिबार अबेर राति पारित भएको हो । सभामुख देवराज घिमिरेले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरे । राष्ट्रिय सभाको जेठ ९ गतेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको थियो । प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित गर्ने अघिल्लो दिन शुक्रबारसम्म अनिश्चित थियो । माओवादी सांसदले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलाई जोडेर पशुपतिको जलहरीमा भ्रष्टाचार भएको बताएपछि एमालेले सदन अवरुद्ध गरेको थियो

१५ मिनेटका लागि स्थगित भएको बैठक शनिबारसम्मका लागि स्थगित हुँदा नीति तथा कार्यक्रम के हुन्छ भन्ने अन्यौल थियो । तर, शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीचको बैठकले माओवादी सांसदले राखेको उक्त भनाइ संसदको रेकर्डबाट हटाउने सहमति गरेपछि सदन सूचारु भयो । र, छलफलको क्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री प्रचण्डले दिएपछि नीति तथा कार्यक्रम पारित भयो । सत्तारुढ दलहरू कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी, नागरिक उन्मुक्तिलगायतका राजनीतिक दलका संशोधनकर्ता सांसदहरूले आफ्ना संशोधन फिर्ता लिएका थिए भने प्रमुख प्रतिपक्षी एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतका राजनीतिक दलका सांसदहरूको संशोधन फिर्ता नभएपछि बहुमतले अस्वीकृत भएको थियो ।

https://barnanmedia.com/detail/1685227644-l-b-l-jg-23-05-28

आज - १४ जेठ २०८० आइतवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । छोटो यात्राको सम्भावनालाई नकार्न पनि सकिँदैन ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । पारिवारिक सुख मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । लाभदायक नसोचेको ठाउँ बाट धन हात पर्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ र मनमा शान्ति छाउनेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज परिवारजनको साथ र सहयोगले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तनाव बढेको महसुस हुनेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । सन्तान पक्षको मायामा कमी आउने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

https://barnanmedia.com/detail/1685234398-aa-aai-l-zt-23-05-28

कोशी, बागमती र गण्डकी प्रदेशका स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

 मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले त्यसबाट जोगिन र हुनसक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको छ । कोशी र मधेश प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आइतवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतवार राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागहरूमा आंशिक बदली रहनेछ ।

सरकारको नीति तथा कार्यक्रम पारित

सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

शनिबार राति बसेको प्रतिनिधि सभा बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नीति तथा कार्यक्रम पारित भएसँगै आजको संसद बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले संसदको अर्को बैठक आइतबार दिउँसो १ बजे बस्ने जानकारी गराएका छन् ।

शहीद स्मारक 'ए' डिभिजन लिगमा आज दुई खेल

शहीद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज आइतबार दुई खेलहरु हुँदैछन् । दोस्रो लेगको नवौं चरण अन्तर्गत आइतबार दुई खेलहरु हुने भएका हुन् । जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ।

च्यासल मैदानमा सातदोबाटो युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो र एनआरटीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ। सातदोबाटो आज नवौं जितको खाेजीमा हुनेछ। सातदोबाटो २१ खेलमा

२९ अंक जोडेर पाँचौं स्थानमा छ। एनआरटी सातौं जितको खोजीमा हुनेछ। एनआरटी २१ खेलमा २६ अंक जोडेर दशौँ स्थानमा छ।

एन्फा कम्प्लेक्समा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई टोलीबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । मनाङ छैटौं जितको खोजीमा हुनेछ। मनाङ २१ खेलमा २५ अंक जोडेर १२ औं स्थानमा छ। थ्री स्टार सातौं जित निकाल्न चाहन्छ। थ्री स्टार २१ खेलमा २६ अंक जोडेर नवौं स्थानमा रहेको छ।

संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठक आज बस्दै

संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त  बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे  संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ। 

आजकाे  बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने बताइएको छ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले 'संघीय संसद्को

बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस्,' भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ। सो नियमावली पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। 

तीन दलले गरे संसदमा भ्रष्टाचारबारे बोल्नै नमिल्ने सहमति, रवि लामिछाने किन मौन ?

 नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले सरकारको नीति तथा कार्यक्रमबारे छलफलमा भाग लिँदा जेठ १० गते अघिल्लो सरकारका पालामा केही चर्चित प्रकरणको नाम लिएर छानबिनको माग गरे ।

त्यसमा पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउनेदेखि कोभिडकालमा स्वास्थ्य सामग्री आयातसम्मका विषय थिए । त्यही विषयलाई लिएर एमालेले शुक्रबार संसद बैठक नै अवरोध गरेर दाहालको अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्‍यो । सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसलाई सहमत गरायो ।

तीन दलको सहमतिअनुसार सभामुखले दाहालको अभिव्यक्ति मेटाउन निर्देशन दिएका छन् । दाहालको अभिव्यक्ति मेटाउन लगाएर एकातिर एमालेले भ्रष्टाचारको विषय संसदमा उठाउने नैतिक आधार गुमाएको छ भने उसको गलत मागमा सहीछाप गरेर प्रधानमन्त्री, कांग्रेस र सभामुखले सार्वभौम संसदको अवमूल्यन गरेका छन् । र, आगामी दिनमा संसदमा भ्रष्टाचारको विषय उठाउनै नमिल्ने नजिर बनाइदिएका छन् ।

संसद जनताले चुनेका प्रतिनिधिको सार्वभौम थलो हो । त्यहाँ कानुन निर्माणबारे मात्र छलफल हुँदैन, सरकारलाई खबरदारी पनि गरिन्छ । भ्रष्टाचारका विषय उठाएर सुशासनका लागि सरकारलाई दबाब दिने जिम्मेवारी पनि सांसदहरुकै हो । सांसद लेखनाथ दाहालले यही गरेका थिए । दाहालले कुनै व्यक्ति विशेषमाथि आरोप लगाएका थिएनन् । कोभिडका बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भनेर सार्वजनिक लेखा समितिले छानबिन गरेकै हो । जुन ओम्नी प्रकरणले चर्चित बन्यो । भ्रष्टाचार भएकैले त्यतिखेर दोस्रो पटक स्वास्थ्य सामग्री खरिदको जिम्मा स्वास्थ्य मन्त्रालयबाट खोसेर नेपाली सेनालाई दिइएको थियो ।

https://barnanmedia.com/detail/1685238282-ll-b-bl-l-l-cs-23-05-28

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान अभियान सुरु गरेको हो ।

श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताउनुभयो । “देश आर्थिक सङ्कटमा फस्दै गएको छ । सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो ।

नगरभित्रका सबै ग्रामीण सडक वर्षा सुरु हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन् । ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान थालिएको हो । अभियानमा सबैको साथ र सहयोग अपरिहार्य छ ।”

नगरपालिकाले सुरु गरेको श्रमदान अभियानमा उद्योग वाणिज्य सङ्घ, खोटाङ यातायात प्रालि खोटाङ, ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घ, टोल विकास समिति, स्थानीय बासिन्दालगायतको सहभागिता रहेको छ । ट्र्याक्टर तथा टिपर व्यवसायी सङ्घमा आबद्ध एकजना व्यवसायीले कम्तीमा रु ४० हजार बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन् ।

दाताको सहयोगमा धार्मिक पुस्तकालय

सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे) र उहाँका परिवारजनले स्थानीय राधाकृष्ण मन्दिरमा पुस्तकालय निर्माण गरेका हुन् ।

रु चार लाखको लगानीमा स्थापित ‘राधाकृष्ण धार्मिक पुस्तकालय’को हरिहर आश्रम देवघाट आश्रमका पीठाधीश स्वामी महाराज ज्ञानानन्द सरस्वती महाराजले शुभारम्भ गर्नुभयो । पुस्तकालयमा धार्मिकग्रन्थ, पुस्तकलगायत गरी पन्ध्र सय बढी पठन सामग्री सङ्ग्रह गरिएको छ । पुस्तकालयका संस्थापक श्रेष्ठले बुवा ताराप्रसाद र आमा पूर्णकुमारीको स्मृतिमा पुस्तकालय स्थापना गरिएको बताउनुभयो ।

उहाँले भौतिक संरचना र पुस्तक थप्दै जाने बताउनुभयो । “धार्मिक र आध्यात्मिक पुस्तक थप्दै जान्छौँ”, उहाँले भन्नुभयो, “राधाकृष्ण मन्दिरको एउटा अभिन्न अङ्गको रूपमा पुस्तकालयलाई विकास गर्ने योजना छ ।” राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीले पुस्तकालयमा धर्म, परम्परा र संस्कृतिसँग सम्बन्धित पुस्तकहरू खोजी–खोजी सङ्ग्रह गरिने बताउनुभयो ।

उहाँले श्रेष्ठ परिवारले पुस्तकालयसँगै मन्दिरको भौतिक पूर्वाधार र व्यवस्थापकीय सुधारमा उल्लेखनीय सहयोग पु¥याएको बताउनुभयो । बागलुङ–३ मा अवस्थित राधाकृष्ण मन्दिर हिन्दू धर्मावलम्बीहरूको पवित्रस्थल हो । श्रीकृणाष्टमीलगायत धार्मिक पर्वमा सो मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

सन्दकपुरको पानी इलाम बजारमा

इलाम बजारमा सञ्चालित ‘इलाम बजार तेस्रो सहरी खानेपानी तथा सरसफाइ आयोजना’को काम सम्पन्न भएको छ ।

आयोजना सम्पन्न भएसँगै केही समयअघिदेखि परीक्षणका रूपमा इलाम बजारमा खानेपानी वितरण हुँदै आएको थियो । काम सम्पन्न भए पनि सन् २०२४ सम्म निर्माण कम्पनीले नै यसको मर्मतसम्भारको काम गर्नुपर्ने जनाइएको छ ।

नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौता भएर चार वर्षअघि काम सुरु भएको थियो । आयोजनाको काम रमण कन्ट्रक्सन कम्पनीले रु ५७ करोड ९५ लाखमा ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा खानेपानी आयोजना सञ्चालन भएको हो ।

जुन आयोजना जिल्लाकै अहिलेसम्मकै ठूलो खानेपानी आयोजना हो । पाँच प्रतिशत स्थानीय उपभोक्ताको लागत सहभागिता रहेको छ । सुरुमा स्थानीय उपभोक्ताले १५ हजार दुई सय रकम बुझाएका थिए । यसमा इलाम नगरपालिकाले २५ प्रतिशत नगर विकास कोषसँग ऋण जमानत बसेको छ ।

बाह्र हजारभन्दा बढी नयाँ नागरिकता जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ ।

कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । कार्यालयले सोही अवधिमा ११ हजार तीन सय ३९ थान नागरिकताको प्रतिलिपि वितरण गरेको छ ।

चालु आवको पहिलो नौ महिनामा नयाँ नागरिकता र नागरिकताका प्रतिलिपि गरी कुल २३ हजार पाँच सय १६ थान नागरिकता वितरण भएको प्रजिअ पाण्डेले बताउनुभयो । यो अवधिमा तीन सय ८५ वटा मुद्दा दर्ता भएका छन् भने दुई सय ४४ मुद्दा फछ्र्योट भएको उहाँले जानकारी दिनुभयो ।

प्रशासनले जारी गरेको प्रगति विवरणानुसार जिल्ला प्रशासन कार्यालयमार्फत पछिल्लो नौ महिनाको अवधिमा ११ हजार तीन सय नौवटा राहदानी वितरण गरेको छ । त्यसैगरी राहदानीका लागि १६ हजार ९२ थान निवेदन दर्ता भएका छन् भने ६६ वटा राहदानी विभागमा सिफारिस गरिएको छ ।

त्यसैगरी सोही अवधिमा प्रशासनमार्फत जम्मा रु २० लाख १३ हजार सात सय ५० बराबरको राहत वितरण गरेको छ भने असहाय एवं विपन्न परिवारका पाँच सय ३५ जनालाई कम्बल वितरण गरेको उहाँले बताउनुभयो ।

कांग्रेसनिकट कानुन व्यवसायीमा भाँडभैलो, अधिकारी र रावलले बनाए मनपरि प्रतिनिधिको सूची

नेपाली कांग्रेसनिकट वकिलहरुको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) महाधिवेशनमा जुटेको छ । पटकपटक म्याद थपेर कार्यकाल बढाएको कार्यसमितिले जेठ २७ र २८ गते चितवनमा महाधिवेशन तोकेको छ । तर हालको नेतृत्वले गरेका अनधिकृत गतिविधिले महाधिवेशनलाई विवादित बनाउँदै लगेको छ ।

अध्यक्ष योगेन्द्रबहादुर अधिकारी र महासचिव लक्ष्मीदेवी दाहाल (रावल) ले विधानविपरीत प्रतिनिधि थपेर ल्याएको आरोप लगाउँदै असन्तुष्ट खेमाले छानबिनको माग गरेको छ । विधानतः करिब १२ सय महाधिवेशन प्रतिनिधि हुनुपर्नेमा १५ सय बढीको सूची तयार गरिएको बुझिएको छ । महाधिवेशनको मिति आउन दुई साता पनि बाँकी नरहँदा मतदाता सूची निर्वाचन समितिलाई नबुझाएर अध्यक्ष अधिकारीले आफ्नो गोजीमै राखेका छन् । विधानअनुसार ३५ दिनअघि निर्वाचन समितिलाई मतदाता सूची बुझाउनुपर्ने प्रावधान छ ।

यही कारण अध्यक्ष र महासचिवले संगठन कब्जा गर्ने रणनीतिका साथ महाधिवेशन प्रतिनिधिमा मनोमानी गरेको असन्तुष्ट पक्षको आरोप छ । विधि र विधानको पालना गर्ने गराउने संगठनमै यस खालको अराजकताले लज्जित तुल्याएको पूर्वपदाधिकारीहरु बताउँछन् ।

नयाँ मतदाता सूचीमा काठमाडौंबाट मात्रै पाँच सयको हाराहारीमा नाम राखिएको छ । जबकि जम्मा सदस्य संख्या नै १२६० छ । १० जना बराबर एक प्रतिनिधि चयन हुने विधानको व्यवस्था अनुसार बढीमा १२६ जना प्रतिनिधि मात्र छानिन पाउँछन् । सूचीमा मनालागी नाम थप्ने क्रम अझै नरोकिएको बुझिन आएको छ ।

https://barnanmedia.com/detail/1685240608-l-a-ll-be-yk-23-05-28

पूर्वमन्त्री पार्वत गुरुङले गरे सर्वसाधारण युवामाथि हातपात

पूर्वमन्त्री पार्वत गुरुङले सर्वसाधारण युवामाथि हातपात गरेका छन् । गाडीमा इमर्जेन्सी लाइट बालेर दोलखाबाट काठमाडौं आउँदै गरेका गुरुङ आफ्नो ‘सवारी’ मा अवरोध गरेको भन्दै काभ्रेको खावामा शनिबार साँझ अर्को गाडी चलाइरहेका युवामाथि हमलामा उत्रिएका हुन् ।

एमाले पोलिटब्युरो सदस्यसमेत रहेका गुरुङ वाग्मती प्रदेश ०२५ च ५४०२ नम्बरको निजी कारमा दोलखाबाट काठमाडौं जाँदै थिए । सोही बाटो भएर अघि बढिरहेको ०२३ च ८९२५ नम्बरको कार अगाडिरपछाडि थिए । दोस्रो गाडी चलाइरहेका युवा अमित अधिकारीका अनुसार सिन्धुपाल्चोकको सुकुटेमा अस्वाभाविक रूपमा ओभरटेक गरेर अघि बढेको गुरुङको समूह अलि अघि पुगेर आराम गरिरहेको थियो । फेरि दोस्रो पटक पनि त्यसैगरी ओभरटेक गरेको गुरुङको गाडी पाँचखालको खावा प्रहरी चौकी चेक प्वाइन्टमा रोकिएको थियो, त्यही बेला आइपुगेका चालक अधिकारीले ‘इमर्जेन्सी बत्ती बालेर जथाभावी किन गाडी चलाएको रु’ भन्दै आफूले प्रश्न गरेको बताए ।

‘म पीएसओ हुँ, पूर्वमन्त्री पार्वत गुरुङको सवारी भइरहेको छ, किन डिस्टर्ब गरेको भन्दै प्रतिप्रश्न गर्दै थिए । यत्तिकैमा गुरुङ आफैं गाडीबाट झरेर मलाई झापड हाने । प्रहरी चौकी अगाडि प्रहरीकै सामुन्ने हातपात हुँदा उनीहरूले रमिता हेरे,’ अधिकारीले भने । उल्टै अधिकारीलाई प्रहरी चौकीमा पठाउन गुरुङले निर्देशन दिएपछि सोधपुछका लागि भन्दै उनलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल पठाइएको थियो ।

रत्न मन्दिर खोल्ने तयारी यसरी हुँदैछ

रहस्यमा रहेको रत्न मन्दिर जेठ १५ गते अर्थात गणतन्त्र दिवसका अवसरमा नागरिकका लागि खुल्दैछ । त्यसकै लागि अहिले अन्तिम तयारी चल्दैछ ।

पोखरा फेवातालसँगै जोडिएको रत्न मन्दिरमा सजावटको काम चल्दै छ । त्यहाँ खटिएका कर्मचारी कोही फूल रोप्दै थिए त कोही मर्मतसम्भार गर्नमा ब्यास्त छन् ।

नेपाल ट्रस्ट सदस्य योङजोम शेर्पासहित रत्नमन्दिर व्यवस्थापनका सदस्यहरु मन्दिर खुला हुनुपूर्व आइरहेका पाहुनालाई स्वागत सत्कारको तयारीमा व्यस्त छन्।

रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । वि।सं २०१३ मा यो दरबारको निर्माण सुरु गरिएको थियो । सो दरबारपछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राज परिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर ट्रष्टको स्वामित्वमा छ ।

नगर अस्पताल सञ्चालनपछि गाउँमै विशेषज्ञ सेवा

बागलुङको गलकोट क्षेत्रमा कोही बिरामी पर्नासाथ बागलुङ, पोखरा र काठमाडौँका अस्पतालमा पुर्याइन्थ्यो । यहाँ स्वास्थ्य संस्था नभएर होइन, नागरिकले विश्वास नगर्दा गलकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्यचौकी तथा अन्य स्वास्थ्य संस्थामा बिरामी कम जान्थे ।

तर पछिल्लो केही महिनायता बिरामी पर्दाबित्तिकै गलकोट बाहिर जानेको सङ्ख्या कम भएको छ । गलकोट नगरपालिकाले पुस महिनादेखि नगर अस्पताल सञ्चालनमा ल्याएपछि जिल्ला बाहिर जाने बिरामीले यही उपचार गराउन थालेका छन् । पछिल्लो समय नगर अस्पतालमा नागरिकको विश्वास बढ्दै गएको छ । अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि बिरामीको सङ्ख्या पनि दिनदिनै बढ्दै गएको छ ।

नगरकार्यपालिकाको पुस १७ को निर्णयानुसार वडा नं ५ को हरिचौरमा नगर अस्पताल सञ्चालनमा आएपछि दुर्गम गाउँका बिरामीले पनि विशेषज्ञ सेवा पाएका छन् । हाल अस्पतालमा एक जना विशेषज्ञ चिकित्सक एक जना मेडिकल अधिकृत, नर्सिङ छ, हेल्थ असिस्टेन्ट दुई, नर्स तीन, अहेव तीन, अनमी तीन, रेडियोक्राफर एक, डेल्टलहाइजेनिस्ट एक, ल्याब टेक्निसिएन एक, ल्याब असिस्टेन्ट एक, कार्यालय सहयोगी पाँच र एक जना एम्बुलेन्स चालक रहेका छन् ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि प्रहरीको धरपकड सुरु

कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि प्रहरीको धरपकड सुरु भएको छ । आज बिहानै देखि पहिचान पक्षधरको आन्दोलन सुरु भएपछि प्रहरीले विराटनगरबाट १७ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रदेश सभाको आज बस्ने बैठकमा प्रचलित प्रदेश ऐनहरूमा रहेको प्रदेश १ लाई संशोधन गरी कोशी प्रदेश कायम गर्ने विधेयक पनि पारित गर्ने भएपछि पहिचान पक्षधर आज बिहानै देखि आन्दोलनमा उत्रिएका हुन् ।

प्रदेशसभा घेराउ गर्ने उद्देश्यले जम्मा हुने क्रममा विराटनगरस्थित देवकोटा चोकबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष थाङसाङ लावती, उपमहासचिव दिपा आङ्दाङ्वालगायत छन्।

सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउने अस्त्र सूचनाको हक

सार्वजनिक निकायलाई पारदर्शी र जवाफदेही बनाउन सूचनाको हक प्रमुख अस्त्र हुनेमा विज्ञहरूले जोड दिनुभएको छ ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले शनिबारदेखि आयोजना गरेको दुईदिने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सांसद लक्ष्मी तिवारीले नागरिकले सार्वजनिक निकायमा सूचनाको हक प्रयोग गरी सूचना माग गर्दा अनियमितता र भ्रष्टाचारका घटना हुन नपाउने बताउनुभयो ।

नागरिकमा सूचनाको हकका बारेमा जागरण फैलाउन सके सार्वजनिक निकाय पारदर्शी र जवाफदेही बन्ने भएकाले यसमा अभियानकर्मीको ध्यान जानुपर्ने सूचनाको हकको अभियानकर्मीसमेत रहनुभएकी उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष सुरेश आचार्यले नागरिकलाई चाहिएको साना–साना कुरा उपयुक्त प्रश्नका माध्यमबाट सार्वजनिक निकायबाट सूचनाका रूपमा माग गरी ओहोदामा बस्नेलाई जिम्मेवार र जवाफदेही बनाउन सकिने बताउनुभयो । सूचना माग गर्दा माग्न खोजेको विषय भने प्रष्ट हुने गरी सूचना मागकर्ताले अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।

तालिममा वरिष्ठ पत्रकार बबिता बस्नेतले ‘महिला अधिकार र सूचनाको हक’, डा पवन साहले ‘स्वास्थ्य अधिकार र सूचनाको हक’, समाजशास्त्री दीपेश घिमिरेले ‘युवा अधिकार र सूचनाको हक’, सूचनाको हकका अभियानकर्मी कृष्ण सापकोटाले ‘सार्वजनिक वित्त र सूचनाको हक’ विषयमा तालिम दिनुभएको थियो ।

 

तीन वर्षमा एक सय १७ घरगोठ जले, ११ जनाको मृत्यु

आगलागीबाट गुल्मीमा तीन वर्षमा एक सय १७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्लाका विभिन्न पालिकामा गरी पछिल्लो तीन वर्ष अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि हालसम्म ५३ घर र ६४ गोठ जलेर नष्ट भएका हुन् ।

चालु आवको हालसम्म ११ घर र १९ गोठमा आगलागी भएको छ । गत आवमा ३१ घर र १५ गोठ एवं आव २०७६/७७ मा ११ घर र १५ गोठ जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आगलागीबाट तीन वर्षमा रु तीन करोड ६० लाख ३८ हजार पाँच सय बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिनुभयो । जिल्लामा तीन वर्षमा आगो निभाउने क्रममा ११ जनाको ज्यान गएको छ । जिल्लामा यो आवमा पाँच जनाले आगोबाट ज्यान गुमाएका छन् ।

वैशाख महिनामा मात्रै तीन जनाले आगोमा परेर ज्यान गुमाएका छन् । गत वर्ष चार र आव २०७६/७७ मा दुई जनाको आगोमा जलेर मृत्यु भएको थियो । तीन वर्षमा २० जना घाइते भएका छन् । यो आवको चैतसम्म १० जना, गत वर्ष सात र आव २०७६/७७ मा तीन जना घाइते भएका छन् ।

आगलागीबाट पछिल्लो तीन वर्षमा ९६ पशुचौपायको मृत्यु भएको छ भने २७ पशुचौपाय घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । गुल्मीमा यस वर्ष मात्रै ३९ सामुदायिक वनको छ सय १९ दशमलव पाँच हेक्टर क्षेत्रफलमा आगलागी भएको छ ।

बेलडाँडीका जागरुक महिला : व्यावसायिक तरकारी खेतीबाट गतिलो आम्दानी गर्दै

शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका सहकारीमा आबद्ध महिला व्यावसायिक कार्य गरेर गतिलो आम्दानी हात पार्न थालेका छन् ।

व्यावसायिक तरकारी खेती, बङ्गुरपालन, बाख्रापालन, माछापालनलगायतको कार्य गरेर महिलाले आम्दानी गर्दै आएका हुन् । गाउँका महिला एकजुट भएर पहिला समूह निर्माण गरी रकम बचत गर्दै आएका थिए । समूहको रकम बढ्दै गएपछि महिलाले कलश महिला कृषि सहकारी संंस्था विधिवतरूपमा दर्ता गरी सञ्चालन गर्दै आएका छन् । पाँच वर्षअघिदेखि सञ्चालनमा आएको सहकारीको सम्पूर्ण व्यवस्थापनको कार्य महिलाले गर्दै आएका छन् ।

सहकारीको सञ्चालक, सेयर सदस्यदेखि व्यवस्थापक महिला रहेका छन् । सहकारीमा आबद्ध एक सय ५० महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनका लागि चारवटा समूहमा विभाजन गरिएको छ । समूहमा भएको छलफलका आधारमा व्यावसायिक कार्य गर्नका लागि ऋण प्रवाहको कार्य हुने गरेको छ ।

व्यावसायिक कार्यमा संलग्न महिलाले आम्दानीको रकम जम्मा गरी घर खर्च चलाउने कार्यसँगै पक्की घर निर्माणमा खर्च गर्दै आएका छन् । सहकारीमा आबद्ध हुनुअघि गाउँका महिलाले श्रीमान्ले मजदुरी गरी ल्याएको रकममा भर पर्नु पर्दथ्यो । एकजुट भएर सहकारीमा आबद्ध भएपछि बेलडाँडी गाउँका महिलाको दिनचर्या नै फेरिएको छ । “पहिला घर खर्च चलाउन श्रीमान्सँग पैसा माग्नु पर्दथ्यो”, सहकारीका सदस्य राधा चौधरीले भन्नुभयो, “हाल श्रीमान्को पकेट खर्च हामीले धान्ने गरेका छौँ ।”

मन्त्रिपरिषद् बैठक निर्णय : चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले हाल जेल जिवन विताइरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफरिस गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री रेखा शर्माले यसबारे पत्रकार सम्मेलन आयाजना गर्दै चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।

सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ । यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ ।

यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए । चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले मन्त्रालयमा फाइल फिर्ता गरेको थियो ।