अब आईजीपीले अकुत सम्पत्ति कमाउनेमाथि डन्डा लगाउने आँट गर्नुपर्छ

काठमाडौं। नेपाल प्रहरी राजनीतिक दलको चक्रमा फसेका बेला पूर्वगृहमन्त्रीसम्मका भीआईपीलाई पक्राउ गरेर आईजीपी वसन्तबहादुर कुँवरले देशको प्रमुख सुरक्षा संगठनको साख उचाइमा पुर्‍याइदिएका छन् । प्रहरी संगठन नेताको इसारामा चल्ने गरेको भ्रम चिर्दै नक्कली भुटानी शरणार्थी प्रकरणका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव एवं बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविद दाबी गर्ने पूर्वगृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसहित पक्राउ परेका छन् ।

नेपाल प्रहरीको साख फिर्ता गराउन सक्नु ३० औँ महानिरीक्षक कुँवरको यो ठूलो सफलता पनि हो । उनी डेढ महिनाअघि मात्र प्रहरी नेतृत्वमा आएका थिए । उनको दृढता र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख एसएसपी मनोजकुमार केसी र काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले कार्यकौशलका साथ चलाएको अप्रेसन प्रसंशनीय छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै झन्डै एक अर्ब रुपैयाँ ठगी भएको छ । यस प्रकरणमा पछिल्ला पाँच वर्षसम्म राज्यका कुनै पनि निकायले छानबिन गरेनन् । न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्न सक्यो, न त कथित ठूला माछाको सम्पत्ति केलाउने आँट सम्पत्ति शुद्धीकरण वा राजस्व अनुसन्धान विभागले गर्‍यो । अब प्रहरीले खाणसहित यस प्रकरणमा जोडिएका सबै उच्च पदस्थ तथा तिनका परिवार र पहुँचवालामाथि राज्यविरुद्ध अपराध, ठगी, मानव बेचबिखन, संगठित अपराध, किर्ते, सम्पत्ति शुद्धीकरण, प्रमाण नष्ट र सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको कसुरमा मुद्दा चलाउन सक्नेछ ।

हुन त कालो धनको चलखेलमाथि अनुसन्धान गर्ने निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको यस विभागले आमनागरिकले दिएका उजुरी र राज्यकै विभिन्न निकायबाट प्राप्त सूचनाको सही अनुसन्धान नगरी अनुचित सम्झौतामा गएर तामेलीमा राख्ने गरेको छ । त्यसैले अब आईजीपी कुँवरले नै अवैध धनसँग जोडिएका कुनै पनि अपराध हेर्न छुट्टै टिम बनाएर परिचालन गर्नुपर्ने देखिन्छ ।

नेपाल प्रहरीमा पछिल्लो समय राजनीतिक मोह बढिरहेका बेला संगठन सुधारमा लागेका कुँवरले अवैध धनसँग जोडिएका अपराधका फाइल पल्टाउने हो उनको अभियानले नयाँ सफलता प्राप्त हुनेछ । यसले प्रहरीभित्रको विकृतिसमेत बढारिनेछ । सरुवा र बढुवाका लागि नेता, प्रशासक र आफ्नै हाकिमहरुलाई नजराना चढाउनुपर्ने प्रथा मात्र रोक्न सक्ने हो भने पनि प्रहरीको व्यावसायिकता उच्च दरमा बढ्नेछ ।

जब देशमा प्रहरी सफा हुन्छ, राज्यको भ्रष्टीकरणमा ९० प्रतिशत नियन्त्रण हुन्छ । होइन भने प्रहरीले उपल्ला पद र आकर्षक पोस्टिङ पाउन रकम बुझाउनुपर्ने, त्यो पैसा असुल्न अपराधी र तस्करसँग साँटगाठ गर्नुपर्ने अवस्था आइलाग्छ । अनि समाजका सबै तप्कामा उही आपराधिक सञ्जालले राज गरिरहन्छ । यो साङ्लो तोड्नका लागि पनि अवैध धनको चलखेल रोक्न आवश्यक छ । त्यसका लागि ठूला माछाबाटै कारवाही थाल्नुपर्छ । यो काम नेपाल प्रहरीले मात्र गर्न सक्छ ।

नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेप बन्द हुने हो र आईजीपीले दह्रोसँग खुट्टा टेक्ने हो भने मात्र वर्षौंदेखि लुकेर बसेका ठूला माछा भनिने अभियुक्तलाई पक्राउ गरेर कानुनको कठघरामा उभ्याउने अफिसरहरुको कमी छैन । तर, सर्वेन्द्र खनालजस्ता आईजीपीका कारण नेपाल प्रहरी बदनाम भएको थियो ।

संगठनमा रहँदा निश्चित दलका नेताको सेवा गर्ने र पछि उही दलमा लागेर चुनाव लड्ने जुन रवैया उनले देखाए, यसले अपराध, भ्रष्टाचार र राजनीतिको साइनो कसरी कसिलो बन्दै छ र प्रहरीभित्रको व्यावसायिकता क्षीण बनाइयो भन्ने कुराको प्रमाण दिन्छ । यसमा ब्रेक लगाउन पनि हालका प्रहरी प्रमुखले केही आँटिलो कदम अझै चाल्नैपर्ने देखिएको छ ।