कोशी प्रदेशस्तरीय दलित महिला प्रदेश सम्मेलन सम्पन्न

कोशी प्रदेशस्तरीय दलित महिला सङ्घ (फेडो)ले १९ बुँदे विराटनगर घोषणापत्र जारी गर्दै दुई दिने सम्मेलन आज यहाँ सम्पन्न गरेको छ । सम्मेलनले पाँच बुँदे प्रतिबद्धता पनि जारी गरेको छ । सम्मेलनले पाण्डु परियारको अध्यक्षतामा १५ सदस्यीय प्रदेश समिति पुनःगठन गरेको छ । समितिको उपाध्यक्षमा वसन्ती घतानी, सचिवमा दुर्गा नेपाली, कोषाध्यक्षमा रेजिना हिङमाङ रहनुभएको छ ।

सम्मेलनमा प्रदेशका १४ जिल्लाका एक सय २४ जना सहभागीले संविधानमा उल्लेख गरिएका दलित महिलाको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न, राज्यका सबै निकायको निर्णायक प्रक्रियामा नै दलित महिलाको समानुपातिक समावेशीकरणको ग्यारेन्टी गर्न माग गर्दै जातीय, वर्गीय, लैङ्गिक सबै प्रकारका विभेदको अन्त्य गरी दलित र दलित महिलाको अधिकार स्थापित गर्ने समानुपातिक समावेशी सिद्धान्तका आधारमा अधिकार व्यावहारिकरूपमा कार्यान्यवन गर्न आह्वान गर्दै, दलित महिलाका मुद्दासहित विराटनगर घोषणापत्र जारी गरेको छ ।

यस्तै सम्मेलनमा कम्तीमा २० प्रतिशत र पुरुषको हाराहारीमा नपुग्दासम्म महिलाका लागि ५० प्रतिशत प्रतिनिधित्व अनिवार्य हुनुपर्ने, राजनीतिक दलले स्थानीय तहदेखि केन्द्रीय तहसम्म नै दलित महिलाको समानुपातिक प्रतिनिधित्वको अनिवार्य व्यवस्था गरिनुपर्ने, छुवाछूतमुक्त राष्ट्र घोषणालाई प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, छुवाछूत–भेदभावलाई मानवताविरुद्धको सामाजिक अपराध कायम गरी यस्तो अपराध गर्नेलाई हदैसम्मको कारबाही व्यवस्था गरिनुपर्ने, कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् र विषयगत समितिलाई समावेशी बनाउनुपर्नेजस्ता माग गरिएको छ ।