इतर समहूलाई यसरी पेले देउवाले, शेखरले दुई मन्त्री पाउँदा गगन रित्तै

गत पुसमा प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर, सरकारले अझै पूर्णता पाउन सकेको छैन । दुई मन्त्रालय अझै मन्त्रीविहीन छन् ।तर, अझ रोचक त के छ भने प्रचण्ड मन्त्रिपरिषद्मा सम्मानजनक अर्थात् तीन मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने अडान राख्दै आएको कांग्रेसको शेखर कोइराला र गगन थापा समूहलाई सभापति शेरबहादुर देउवाले लोप्पा खुवाइदिएका छन् ।गत फागुनमा राष्ट्रपति चयनमा माओवादीले कांग्रेसका रामचन्द्र पौडेललाई सघाएपछि एमाले सत्ता बाहिर गयो। सरकारमा कांग्रेसको इन्ट्री भयो । कांग्रेसले आठ मन्त्री पाउँदा शेखर-गगन समूहले तीन मन्त्री र एक राज्यमन्त्रीको दाबी गरेको थियो । यही समूहका कारण प्रचण्ड सरकार लामो समयदेखि विस्तार हुन सकेन । तर, कोइराला समूहले नाम नदिएपछि मन्त्रिपरिषद् लम्बिन थालेको भन्दै देउवाले देउवाले पेलेरै मन्त्री चयन गरेका छन् । देउवाले आफूनिकट ६ जनालाई मन्त्री बनाउँदा कोइराला समूहबाट दुई जनामात्रै मन्त्री बनेका छन् ।

महाधिवेशनमा ४० प्रतिशत मत पाएको भन्दै कोइराला समूह मन्त्रिपरिषद्मा पनि सोही अनुसार बार्गेनिङ गर्दै आएको थियो । तर, कोइराला समूहबाट उपसभापति धनराज गुरुङ र कांग्रेसका मोरङ सभापति डिगबहादुर लिम्बु मन्त्री बनेका छन् । गुरुङ कानुन र लिम्बी खेलकुदमन्त्री बन्दा अर्थ, पराष्ट्रसहित महत्वपूर्ण मन्त्रालयमा देउवाले आफ्नो गुटबाट पठाएका छन् ।उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग बाणिज्य तथा आपूर्ति, एनपी साउद परराष्ट्र, सीता गुरुङ शहरी विकास र मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । बस्नेत बुधबार मात्र मन्त्री बनेका हुन् ।

पछिल्लो पटक कांग्रेसमा छुट्टै गुट चलाउन थालेका महामन्त्री गगन थापाले त आफू निकट एक जनालाई पनि मन्त्री बनाउन सकेनन् । सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे वा प्रदीप पौडेल मध्येबाट एक जनालाई मन्त्री बनाउनुपर्ने भन्दै लामो समयदेखि अडानमा थिए, गगन । गगन संसदीय दलको निर्वाचनमा सभापति देउवासँग लडेका थिए ।अब खानेपानी र वन तथा वातावरण मन्त्रालय रिक्त छन् । मन्त्रिपरिषद्मा कांग्रेसबाट ८, माओवादीबाट प्रधानमन्त्रीसहित ५, एकीकृत समाजवादीबाट २, जनता समाजवादी, नेपाल समाजवादी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीबाट १-१ जना गरी जम्मा २० जना मन्त्री छन् । माओवादी र नेकपा एसबाट १-१ गरी दुई जना राज्यमन्त्री नियुक्त भएका छन् ।

संविधानबमोजिम मन्त्रिपरिषद् जम्मा २५ सदस्यीय हुन्छ । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले अब दुई मन्त्री बनाउन पाउँछन् ।