ठूला दलकै कारण रास्वपाको उदय, अब गठबन्धनका नाममा भोट बदल्न सिकाउँदैनन् कि?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा उपनिर्वाचनमा तीनमध्ये दुई क्षेत्रमा जित हासिल गरेर ठूला राजनीतिक दलहरूलाई झस्का लगाइदिएको छ ।पार्टीले करिब आधा दर्जन दलहरूको समर्थनमा अघि सारिएका उम्मेदवारहरूलाई धेरै पछि छाड्दै चितवन र तनहुँमा विजयी भइसकेको छ । भातृ सङ्गठन र कार्यकर्ता दुवै नभएको सो पार्टीका कार्यकर्ता नै जनता हुन । सभापति रवि लामिछाने ६ महिनाकोबीचमा दुई पटक सांसद निर्वाचित भए।

निर्वाचित भएको दुई महिनामै नेपाली नागरिकता मुद्दामा सांसद र उपप्रधानमन्त्री पद गुमाएका उनले वैशाख १० गतेको उपनिर्वाचनमा अघिल्लो पटकको भन्दा झन्डै ५,००० बढी मत ल्याए।२० सीट जितेको उक्त दलका अब प्रतिनिधिसभामा २१ जना सांसद हुने छन्। यो दलले उपनिर्वाचन भएका सबै क्षेत्रमा अघिल्लो चुनावभन्दा आफ्नो मत पनि बढाएको छ।

ठूला दलहरूले आफ्ना कार्यकर्ता र मतदातालाई गठबन्धनका नाममा भोट बदल्न सिकाएको नतिजा राष्ट्रिय स्वतन्त्र पार्टीको उदय भएको कतिपय बताउँछन् ।रास्वपाको उदयले कांग्रेस र कम्युनिस्ट शक्तिमा रूपमा बाँडिएका ठूला दलहरूको पतनको थालनी गरेको छ ।लामिछानेको पार्टीले पाएको भोट विकल्पहीनताको भोट पनि हो यो। कांग्रेस कम्युनिस्ट्टसँगको निराशाको भोट पनि हो र एउटा राजनीतिक शक्ति जन्मिनुपर्छ भन्ने आशाको भोट पनि हो।यो दलको स्थिरताबारे भने यसकै मतदाताहरू पनि विश्वस्त हुन सकिरहेका छैनन्।

अर्को चुनावसम्म पनि स्थिर भएर बढ्यो भने यो दिगो जान सक्छ। यहाँ एउटा चुनावमा आएर अर्को चुनावमा हराउने पनि हुन्छ। अहिलेको स्थितिले चुनावले वैकल्पिक शक्ति बलियो बन्दै गरेको देखाएको छ ।ठूला दलहरूभित्र देखिएका समस्या सम्बोधन नहुँदाको नतिजा र दलहरूप्रति जनताको वितृष्णा रास्वपामा गएको मतले देखाएको केही नेताहरु बताउँछन्।