कुलमानको खास परिचय खुल्दै, अघोषित लोडसेडिङबाट आजित उद्योगीले सडकबाटै मागे राजीनामा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्यको घोषणा गरेको ५ वर्ष पूरा भयो । त्यसयता विद्युत उत्पादन पनि बढेको छ । अहिलेसम्म विद्युतको जडित क्षमता २५ सय मेगावाट हाराहारी पुगेको छ । प्राधिकरणले आन्तरिकरुपमा खपत हुन नसकेको भनेर जेठ तेस्रो सातापछि साढे १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको बिजुली भारतमा बेच्यो । उद्योगी–व्यापारी भने विद्युत नपाएर उद्योग चलाउन नपाएको भनेर विरोधमा उत्रिएका छन् । उनीहरुले प्राधिकरणले घोषणा नगरे पनि दैनिक १२ घण्टासम्म लोडसेडिङ भइरहेको भन्दै विद्युत् कटौतीको तालिका सार्वजनिक गर्न दबाब दिएका छन् ।

सुनसरी र मोरङका उद्योगी व्यापारीले आइतबार प्राधिकरणको कार्यालय घेराउ गरे । उनीहरु ब्यानरसहित प्राधिकरणको दुहबीस्थित कार्यालय पुगेका थिए । विना सूचना जथाभावीरुपमा विद्युत काटिंदा त्यसको असर उद्योग सञ्चालनमा परेपछि सुनसरी मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुका अनुसार उद्योगले अहिले दैनिक ८ देखि १२ घण्टासम्म लोडसेडिङ भोगिरहेका छन् । तर प्राधिकरणले लोडसेडिङको तालिका सार्वजनिक गरेको छैन । उसले जथाभावीरुपमा बिजुली काट्दा उद्योगमा असर परेको छ ।

औद्योगिक उत्पादन ६० प्रतिशतसम्म कटौती गर्नुपरेको छ । त्यति मात्र होइन, कच्चा पदार्थ खेर जाने र मेसिनरी सामान बिग्रिने स्थिति आएको छ । त्यसैले त उद्योगी व्यापारी प्राधिकरणप्रति निकै आक्रोशित बनेका छन् । उनीहरुले तालिका सार्वजनिक नगरी जथाभावीरुपमा विद्युत् कटौती गरिएकामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको राजीनामा समेत मागेका छन् ।

सुनसरी मोरङ औद्योगिक क्षेत्रमा बिजुलीमा गडबडी भएको पुसदेखि नै हो । त्यसबेलादेखि नै विद्युत् आपूर्ति अनियमित हुनुका साथै ट्रिप्लिङ र लो भोल्टेजको समस्या बढेकामा प्राधिकरणले वास्ता गरेन । उद्योगी व्यवसायीले विद्युत कटौतीको तालिका सार्वजनिक गर्न माग गरे पनि प्राधिकरणले मानेको छैन । प्राधिकरणको दुहवी कार्यालयका अनुसार पूर्वमा हाल दैनिक २ सय ७० मेगावाट विद्युतको माग रहेकामा दुई सय मेगावाट मात्र आपूर्ति भइरहेको छ ।

मागभन्दा आपूर्ति कम भएकाले वितरणमा समस्या आएको छ । आफ्नो राजीनामा मागेर उद्योगी व्यवसायी विरोधमा उत्रिएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा यामका कारण समस्या आएको प्रस्टीकरण दिएका छन् । उनका अनुसार हिउँ र पानी नपरेकाले विद्युत उत्पादन अहिले गत वर्षभन्दा पनि ३० प्रतिशतसम्म घटेको छ । तैपनि पूर्वी क्षेत्रमा देखिएको विद्युत् कटौतीको समस्या १५ दिनभित्र समाधान गर्ने आश्वासन घिसिङले दिएका छन् ।

देशमा अहिले विद्युतको जडित क्षमता २५ सय मेगावाट हाराहारी छ । प्राधिकरणले देशभित्र खपत हुन नसकेको भनेर जेठ १९ देखि भारतलाई निरन्तर विजुली बेच्यो । साढे पाँच महिनामा भारतमा बेचेर मात्र प्राधिकरणले करिब साढे १० अर्ब रुपैयाँ कमायो । तर अहिले उत्पादन ७ सय मेगावाट हाराहारीमा सीमित छ । जबकि दैनिक माग १३ सय मेगावाट पुगेको छ । अपुग विजुली भारतबाट आयात गर्नु परिरहेको छ । प्रसारण लाइनको समस्याले पूर्वमा २ सय मेगावाटभन्दा बढी विद्युत पठाउन नसकेको प्राधिकरणले बताएको छ ।

विद्युत बेचेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउने भनेका कुलमान घिसिङले आफ्नो सस्तो लोकप्रियता जोगाउन उद्योगी व्यवसायीलाई मागअनुसार उपलब्ध नगराई विभिन्न बहानामा बिनासूचना विद्युत कटौती गर्नु हदैसम्मको बेइमानी हो । जतिसुकै ढाकछोप र चलाकी गरे पनि एक न एक दिन सत्य सतहमा आएरै छाड्छ । त्यसैले अब कुलमानको कृत्रिम लोकप्रियता ढल्ने बेला आएको छ ।