काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना : बिरामीको घुँईचो

काठमाडौं । रसुवाको राम्जेमा काठमाडौं मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकामा बिरामीको घुँईचो लागेको छ । रसुवा स्थित कालिका गाउँपालिका वडा नं. १ सँगको सहकार्यमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा राम्जेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकले स्वास्थ्य लाभ लिए ।

उक्त स्वास्थ्य शिविरमा ७५४ जना बिरामीको स्वास्थ्य जाँच गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । स्वास्थ्य शिविरमा केएमसीका नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री रोग, बाल रोग विशेषज्ञ चिकित्सकहरुले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्य शिविरमा १०९ जनाको इसिजी, १२१ जनाको ल्याब परीक्षण, ११७ जनाको भिडियो एक्सरे गरिएको छ । साथै, शिविरमा आएका मध्ये ९ जनाको दाँत खोलिएको तथा ३२ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको जनरल मेनेजर दाहालले जानकारी दिए ।

उक्त स्वास्थ्य शिविरका लागि मातृका आई सेन्टर काठमाडौं, देउराली युवा क्लब, नेपाल कराते महासंघ सहयोगी संस्थाका रुपमा रहेका थिए । गाउँघरमै विशेषज्ञ चिकित्सक सहित केएमसीले स्वास्थ्य शिविर ल्याएकोमा स्थानीय सर्वसाधारणले खुसी व्यक्त गरे ।

केएमसीले सामाजिक उत्तरदायित्व अन्तरगत गाउँगाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेको छ । केएमसीका तत्कालिन कार्यकारी अध्यक्ष हाल प्रतिनिधि सभा सदस्य डा. सुनिल शर्माले सुरु गरेको निःशुल्क स्वास्थ्य शिविरबाट हज्जारौं सर्वसाधारण, गरिब, विपन्न नागरिक लाभान्वित भइरहेका छन् ।