बालेनले शीतलनिवास, बालुवाटार र सिंहदरबारको फोहोर नउठाउन बन्द गरिदिएपछि तनावमा सरकार

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको पछिल्लो कदमले सरकार तनावमा परेको छ । महानगरका हरेक काममा संघीय सरकारले अड्को थाप्न थालेपछि शाहको निर्देशनमा शनिबारबाट सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार र राष्ट्रपतिको सरकारी निवास शितलनिवासको फोहोर उठेको छैन ।मेयर शाहले पछिल्लो ९ महिनामा संघीय सरकारका १४ मन्त्रालयले कुन कुन विषयमा असहयोग गरे भनेर फेरिस्त प्रस्तुत गरेपछि सरकारको निकै आलोचना भइरहेको छ ।

मन्त्रिपरिषद्को मंगलबारको बैडकले काठमाडौं उपत्यकाको फोहोर उठाउने जिम्मा स्थानीय तहको भएकाले आफ्नो जिम्मेवारीबोध गरेर काम गर्न मेयर शाहलाई सचेत गराउने निर्णय गरेको छ। शाहको अभिव्यक्ति अव्यवहारिक रहेकाले नीतिगत व्यवस्थाको परिपालना गर्न सरकारले आग्रह गरेको छ ।सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिंहदरबार, बालुवाटार, शीतलनिवासको फोहोर नउठाउने भन्ने काठमाडौं महानगरका प्रमुखले घोषणा नीतिगत व्यवस्थाविरुद्ध रहेको बताइन् ।

उनले बैठकमा नीतिगत व्यवस्था अनुसार फोहोर उठाउन आग्रह गर्ने र फोहोर नउठे नीति पालना गर्न सरकारले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउने विषयमा छलफल भएको बताइन् ।तर, बालेनको यो कदमको सर्वसाधारणले भने स्वागत गरिरहेका छन् । बागमती किनारका सुकुम्वासी बस्ती हटाउनेदेखि फुटपाथ अतिक्रमण हटाउनमा संघ सरकारले सहयोग गरेको थिएन ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले पनि तत्काल काठमाडौं महानगरपालिकासँग संवाद गर्न सरकारलाई सुझाव दिएका छन् । ‘सिंहदरबारलगायतका स्थानबाट फोहोर नउठाउने महानगरको निर्णयका सम्बन्धमा तत्काल संवाद गरियोस् जुन जुन विषय अहिले सल्टाउनुपर्ने हो सल्ट्याइयोस्, जायज माग पूरा गरियोस्’, उनले भनेका छन् ।

काठमाडौं महानगरलाई व्यवस्थित बनाउने आफ्नो योजनामा सङ्घीय सरकारले पर्याप्त सहयोग नगरेको बालेनको दाबी छबालेन ३० वैशाखमा भएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । उनी कुनै दलसँग आवद्ध नभएकाले पनि सरकारलाई चुनौती दिँदै आएका छन् ।