सिंहदरबारको चाम्रो संयन्त्रः बालेन्द्र शाहले उदांगो पारे, च्यात्न सकेनन्

काठमाडौं । दुई दिनअघि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले फेसबुकमार्फत् लेखे- 'आजबाट सिंहदरबारको फोहोर उठ्दैन ।

साँच्चिकै देश सफा गर्ने हो भने त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ।' उनले यति आक्रोशपूर्ण स्टाटस किन लेखे ? सर्वत्र चासोको विषय मात्र बनेन, स्थानीय तह र संघीय सरकारबीचको दरार सतहमा ल्यायो । तर यो दरार काठमाडौंका अनधिकृत संरचना हटाउने महानगरको अभियानबाटै बीजारोपण भइसकेको थियो। गत मंसिरमा महानगर प्रमुख शाहले बाग्मती नदी किनारमा डोजर पठाउँदा झन् गहिरिँदै गयो । आज संघीय सरकारबाट असहयोग मात्र भएको भन्दै शाहले केन्द्रीय निकाय रहेको सिंहदरबारको फोहोर नै नउठाउने अडान दोहोर्‍याएपछि दुई तहका सरकारबीचको द्वन्द्व थप चर्काएको छ ।

शनिबार काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाहले फेसबुकमा स्टाटस लेख्दै सिंहदरबारको फोहोर नउठ्ने बताएका थिए । उनकै निर्देशनअनुसार दुई दिनदेखि सिंहदरबारको फोहोर उठेको छैन । सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित २१ मन्त्रालय छन् ।

अरु विभिन्न निकायसमेत गरी ३९ कार्यालय छन् । सेनाका ब्यारेक र प्रहरीका कार्यालय छन् । ती सबै निकायका चमेनागृह, बगैंचा र सडकहरुबाटसमेत संकलन भएको फोहोर त्यसै थुप्रिएको छ । यस घटनाले संघ सरकार र काठमाडौंको स्थानीय सरकारबीच चलिरहेको द्वन्द्व सतहमा आएको छ ।

पछिल्लोपटक सुकुम्बासी बस्ती खाली गराउने विषयमा संघ सरकारसँग काठमाडौं महानगरपालिकाको विवाद भएको थियो । महानगर प्रमुख बालेन्द्र शाहले नदी किनारका सुकुमबासी बस्ती हटाउने योजना बनाएका छन् । त्यसअनुसार १२ मंसिरमा बागमती नदी किनारमा डोजर पनि पठाएका थिए । तर सुकुमबासी वस्तीका बासिन्दाले विरोध गरे । झडपसमेत भयो । त्यतिबेला नगर प्रहरीमाथि आक्रमण गर्दा संघ सरकारका सुरक्षा निकायले सहयोग नगरेको भन्दै शाहले असुन्तुष्टि पोखेका थिए ।

त्यस्तै महानगरले शुक्रबार गैरीगाउँस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्तीमा डोजर चलाउने तयारी गरेको थियो । सुकुमबासीहरुले विरोध प्रदर्शन गरेपछि उनले प्रहरी प्रशासनबाट सहयोग खोजे । तर प्रहरी प्रशासनले सहयोग नगरेपछि महानगरको टोली त्यतिकै फर्कियो । संघीय सरकारबाट निरन्तर असहयोग भएको महसुस गरेका महानगर प्रमुख शाहले प्रतिउत्तरमा आफूले पनि फोहोर व्यवस्थापन रोकेर सिंहदरबारलाई असहयोग गर्ने प्रष्ट संकेत गरेका थिए । संघ सरकारले सेवा प्रवाहमै समस्या आउने गरी असहयोग गरेपछि दबाबस्वरुप फोहोर नउठाएको महानगरपालिकाले बताएको छ।

निजी स्तरको कम्पनी ‘परिवर्तन सेवा प्रालि’ले सिंहदरबार परिसरको फोहोर व्यवस्थापन गर्दै आएको छ । महानगर प्रमुख शाहले फोहोर नउठाउनू भनेर निर्देशन दिएकाले आफूहरुले फोहोर नउठाएको संकलकरुले बताएका छन् । सहरी विकास मन्त्रालयले भने आफ्नो तर्फबाट गर्नुपर्ने समन्वय गरिसकेको र थप छलफलको लागि पनि तयार रहेको दाबी गरेको छ ।
त्यसो त महानगर प्रमुख शाह निर्वाचित भएर आएदेखि नै संघीय सरकारसँगको विवाद सुरु भएको थियो । त्यसयता टकराव निरन्तर छ । काठमाडौं महानगर र अर्थ मन्त्रालयबीच काठमाडौंको घर बहाल करको विषयमा लामो समयदेखि विवाद छ ।

संविधानको अनुसूची–८ मा घर बहाल करलाई स्थानीय तहको एकल अधिकारमा राखिएको छ । तर कर्पोरेट बहाल करलाई आयकरका रुपमा व्याख्या गरेर १० प्रतिशत कर उठाइरहेको केन्द्र सरकार त्यसलाई छाड्ने पक्षमा छैन । शाह आएपछि महानगरले घर बहाल कर आफ्नो संवैधानिक अधिकार भन्दै संस्थागत तथा कर्पोरेट करदतासँग बहाल कर उठाउन जोडबल गरिरहेको छ ।

अर्को विवाद हो, टुकुचा उत्खनन् । महानगरले टुकुचा खोलालाई खुला गर्ने भनेर उत्खनन गर्न थालेको थियो । तर भूमि व्यवस्था मन्त्रालयले २०३२ सालको नापीअघि नै व्यक्तिको नाममा नक्साङ्कन भइसकेको बतायो । पछिल्लो समय पुरातत्व विभागले झन टुकुचा सुरुङ पुरातात्विक सम्पदा भएको भनेपछि शाहको कदममा अर्को धक्का पुग्यो । पछिल्लो पटक भने सुकुमबासी बस्ती खाली गराउने विषयमा विवाद देखिएको छ ।

महानगरले सुकुम्बासी बस्ती हटाउन सहयोग माग्दै १३ पुसमा गृह मन्त्रालयलाई पत्र पनि लेखेको थियो । गृहले घुमाउरो भाषामा बालेनले चाहेको शैलीमा बस्तीमा डोजर चलाउन नसकिने जवाफ दिएको थियो । कानुनी प्रक्रिया पूरा गरी सरोकारवालासँग छलफलपछि मात्रै सरकारले सहयोग गर्न सक्ने संघ सरकारको काइते अडान छ । अझ कथित क्रान्तिहरु सरकारमा भएकै बेला बालेन्द्र शाहले राखेका जनपक्षीय अडानविपरीत सिंहदरबार अनुदाररुपमा प्रस्तुत भएको छ ।

संघीय सरकारले कहिले कानुनी प्रक्रिया पुर्‍याउँछ र सरोकारवालासँग छलफल कहिले टुंग्याउँछ भन्ने यकिन छैन । महानगर प्रमुख शाह अघि सर्दा कानुनी अड्चन र सरोकारवालाको विरोध देखाउने तर ती अड्चन फुकाउनेतिर कुनै पहल नगर्ने संघीय सरकारको रवैया अचम्मलाग्दो नै छ । जे होस् महानगर प्रमुख शाहले सिंहदरबारको चाम्रो संयन्त्रलाई च्यात्न नसके पनि उदांगो भने पारिदिएका छन् । सिंहदरबारको सिंहासनमा बस्नेहरुले बालेन्द्रको अवस्था हेरी अट्टहास गरिरहेका होलान् । तर बालेन्द्रको यही कदम तिनीहरुलाई बढार्ने आन्दोलनको झिल्को नबनोस् । चेतना भया ।