दुर्गा प्रसाईंसँग साढे २ करोड माग्ने सांसदमाथि पार्टीले छानबिन गर्ने कि राज्यले ?

काठमाडौं । राष्ट्रय स्वतन्त्र पार्टीले अन्य दललाई लगाउने प्रमुख आरोप नै भ्रष्टाचार र अनियमितता हो । तर अहिले रास्वपाकै सांसद डा ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ । उनले अडियोले केही यस्ता गम्भीर सवाल उठाएको छ, जसले भर्खरै उदाएको नयाँ शक्ति र यसका नेता रवि लामिछानेलाई पनि गम्भीर शंकाको घेरामा पारेको छ ।

मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले रकम माग गरेका छन् । यो शैली पुराना गन्हाएका शक्तिहरुसँगै मिल्दोजुल्दो देखिएको छ । यसले रवि लामिछानेको पार्टी पनि भ्रष्टाचार र अवैध असुलीकै जगमा उभिएको त छैन भनेर शंका गर्ने ठाउँ दिएको छ ।

सांसद श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेका छन् । अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको दाबी गरेका छन् । तर तत्काललाई १ करोड दिइहाल्नुपर्ने र बाँकी चेकबाट पनि मिलाउन सक्ने उनको भनाइ छ ।

प्रसाईसँगको कुराकानीमा उनले सभापति रवि लामिछानेको पनि नाम लिएका छन् । उनको सहयोगी टोलीमा रकम बुझाउनुपर्ने श्रेष्ठले भनेका छन् । प्रसाईंले पनि आफू रकम दिन तयार रहेको तर त्यसवापत आफ्नो काम गरिदिनुपर्ने सर्त फोनवार्तामा राखेका छन् ।कांग्रेस पुष्पकमल दाहाल नेतृत्वको सरकारमा जानुअघिसम्म रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो । कुराकानीको विवरणले यो अडियो माघ १ गते रेकर्ड भएको देखिन्छ । किनभने प्रसाईँले हिजो मात्र पुस मसान्तमा कर तिरेको र भोलि माघ २ गते एमाले अध्यक्ष केपी ओली झापा आउन लागेको बताएका छन् ।

प्रसाईंसँग रकम माग गरेको अडियो बाहिरिएपछि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । पार्टीको अनुशासन तथा आचरण समितिलाई पनि घटनाको छानबिन गरी ३ दिनभित्र प्रतिवेदन दिन निर्देशन दिएको छ । यस अवधिभर पार्टी सदस्य र सांसदका रुपमा कुनै काम नगर्न पनि पार्टीको निर्देशन छ ।

यसैबीच रास्वपा सभापति रवि लामिछानेले ७२ घण्टाभित्र अडियो प्रकरणको वास्तविकता सार्वजनिक गर्ने दाबी गरेका छन् । चुनावी मैदानमा उत्रिएका बेला आफूमाथि लागेको दाग मेटाउन रविले अझै चर्को क्रान्तिकारिता प्रदर्शन गर्नुपर्ने बाध्यता आइलागेको छ । त्यसैले उनी आरोप प्रमाणित भए पार्टीबाट निलम्बन गर्ने बताइरहेका छन् । तर श्रेष्ठ रवि र उनको कोर टिमका प्रिय मान्छे हुन् भन्ने कुरा उनलाई समानुपातिक निर्वाचन प्रणालीबाट आदिवासी जनजाति कोटामा सांसद बनाएबाटै प्रस्ट हुन्छ ।

अन्यथा उनले यो पद पाउनुपर्ने अरु कुनै कारण छैन ।तसर्थ यो प्रकरण उनको पार्टीले छानबिन गरेर मात्र हुँदैन । यो त अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को छानबिनको विषय हुनुपर्छ । उनलाई तत्कालै गिरफ्तार गर्नुपर्छ र कोर टिम भनिएका व्यक्तिहरुका समेत खातापाता रोक्का राखी कारोबारको एकएक हिसाबको वैधता जाँचिनुपर्छ । पार्टीले गर्ने छानबिनले त कोही दोषी किटान हुने छैन । कसैले सजाय भोग्नुपर्ने छैन । केवल राजनीतिक आवरणमा ढाकछोप र विषयान्तर मात्र हुनेछ ।