आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि तयारी तीव्र

आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारको नामावाली प्रकाशनसँगै निर्वाचन आयोग, राजनीतिक दल र उम्मेदवारहरू आफ्ना तयारीमा तीव्रताका साथ जुटेका छन् ।

मधेस प्रदेशको बारा क्षेत्र नं २, गण्डकी प्रदेशको तनहुँ क्षेत्र नं १ र बागमती प्रदेशको चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि कूल ६९ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमध्ये बारा क्षेत्र नं २ मा सबैभन्दा धेरै ३६ जनाको उम्मेदवारी परेको छ । साथै तनहुँ क्षेत्र नं १ मा नौ र चितवन क्षेत्र नं. २ मा २४ जना उम्मेदवारी परेको छ । बारा क्षेत्र नं २ मा गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता समाजवादी पार्टीबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ ।

सो क्षेत्रमा त्यसबेला खसेकोमध्ये ६३ हजार सात सय ४२ सदर मतमा साहले १३ हजार आठ सय २२ मत प्राप्त गरी विजय हासिल गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ३८ र स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३ मत प्राप्त गर्नुभएको थियो । समानुपातिकतर्फ जसपाले १३ हजार दुई सय ४२, नेपाली कांग्रेसले ११ हजार एक सय ७९ र नेकपा (एमाले)ले नौ हजार एक सय ९३ मत प्राप्त गरेका थिए ।

यस क्षेत्रमा उपनिर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेबाट पुरुषोत्तम पौडेल र सत्ता गठबन्धनमै रहेको जनमत पार्टीबाट शिवचन्द्रप्रसाद कुशवाहा उम्मेदवार हुनुहुन्छ । कुशवाह हालै माओवादी केन्द्रबाट जनमत पार्टीमा प्रवेश गर्नुभएको हो । मङ्सिर ४ गतेको निर्वाचनमा चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वाेच्च अदालतको आदेशबाट पदविहीन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा खसेकोमध्ये ८० हजार सात सय ५३ मत सदर भएकामा सभापति लामिछानेले ४९ हजार तीन सय मत प्राप्त गरी विजयी हुनुभएको थियो ।

उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार नौ सय ८८ र नेकपा (एमाले)का कृष्णभक्त श्रेष्ठले १४ हजार छ सय ५२ मत प्राप्त गर्नुभएको थियो । यस क्षेत्रबाट समानुपातिकमा रास्वपाले ३५ हजार नौ सय ४५, एमालेले १६ हजार सात सय ८४ र नेपाली कांग्रेसले १२ हजार एक सय ३२ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा उपनिर्वाचनका लागि चार सय ७० थप भई एक लाख २४ हजार छ सय ९५ मतदाता कायम भएका छन् । उपनिर्वाचनका लागि रास्वपाबाट पुनः लामिछाने, कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपानलगायतको उम्मेदवारी परेको छ । तनहुँ क्षेत्र नं १ मा मङ्सिर ४ गतेको निर्वाचनमा विजयी रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उक्त निर्वाचनमा खसकेकोमध्ये ६२ हजार छ सय ९५ सदर मतमध्ये पौडेलले २५ हजार तीन सय ६१ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका प्रतिष्पर्धी नेकपा (एमाले)का एकबहादुर राना मगरले १९ हजार नौ सय ८१ र स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ८६ मत प्राप्त गर्नुभएको थियो । समानुपातिकतर्फ कांग्रेसले २० हजार एक सय ५८, एमालेले १६ हजार छ सय ८३ र रास्वपाले १२ हजार सात सय ७३ मत प्राप्त गरेका थिए । तनहुँ १ मा उपनिर्वाचनका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्लेलगायत उम्मेदवार हुनुहुन्छ । यस निर्वाचन क्षेत्रमा मङ्सिर ४ गते यता एक सय ८५ मतदाता घटेर एक लाख २३ हजार तीन सय पाँच कायम भएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्वीकृत मतदाता नामावली बमोजिम २०७९ वैशाख ९ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिमध्ये ८८ लाख हजार ५२ हजार ४६ महिला, ९१ लाख ४९ हजार तीन सय ३५ पुरुष र एक सय ८५ अन्य गरी एक करोड ८० लाख एक हजार पाँच सय ६६ मतदाता कायम छन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनयता १२ हजार नौ सय ९६ मतदाता सङ्ख्या वृद्धि भएको छ । उपनिर्वाचन हुने तीन जिल्लाका लागि एक सय ९४ मतदानस्थल र चार सय २७ मतदानकेन्द्र कायम भएको छ । सो अनुसार गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा रहेका मतदान केन्द्र र मतदान स्थलमध्ये बारा क्षेत्र नं २ मा एक मतदान केन्द्र थप भएको छ ।

आयोगले उपनिर्वाचनका लागि यही चैत २४ गतेदेखि निर्वाचन आचारसंहिता, २०७९ जारी गरिसकेको छ भने उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने हद निर्धारण गरिसकेको छ ।