नेपाली युवाले देशमै पसिना बगाउने वातावरण छैन : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले अहिले पनि नेपाली युवाले देशमै पसिना बगाउने वातावरण नभएको बताएका छन् ।

राजधानी काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले नेपाली युवाले देशमै पसिना बगाउन चाहे पनि त्यो वातावरण नभएको बताएका हुन् ।‘हामीले खोजिरहेको एउटा युवा दिनभरी क्यारेमबोर्ड खेलेर बस्छ । बेकामी भएर बस्छ । काम गर्न खोज्यो भने पनि यहाँ पाउँदैन । मलेसिया, दुबई र कतारमा गएर एकदमै जोखिमपूर्ण काम गर्नुपर्छ । उसले पसिना यहीँ बगाउन चाहन्छ तर त्यो वातावरण छैन,’ उनले भने ।

उनले अब सबै युवालाई देशमै रोगारी दिनु पर्ने बताउँदै त्यसका लागि रोजगारी सिर्जना गर्न सही नीति ल्याउनुपर्ने बताए ।कुनै नीति ल्याउँदा कसैको पक्ष र कसैको विरोधमा हुने गरेको बताउँदै उनले सबैको पक्षमा हुने नीति ल्याउन छलफल हुनुपर्ने बताए ।

अब संसदमा एकअर्काको विरोध गर्नु बेर्थ हुने बताउँदै सांसद पौडेलले चाहिएको विषयमा छलफल गरी त्यसलाई कार्यान्वयन गर्नेबारे छलफल हुनु पर्ने बताए ।

अबको २० वर्षपछि नेपालमा ५५ वर्षभन्दा माथिका उमेर समूह अर्थात निष्क्रिय जनशक्तिको उपस्थिति धेरै हुने भएकोले सक्रिय जनशक्ति बढी भएको वर्तमान समयमै सोच्नु पर्ने बताए ।

‘२० वर्षपछि देशमा निष्क्रिय जनशक्तिको उपस्थिति धेरै हुन्छ । त्यो बेलामा हामीले हाम्रो जनशक्तिलाई जति नै सक्रिय बनाउन खोजे पनि सम्भव हुँदैन,’ उनले भने, ‘अहिले नेपाल संसारकै बढी युवा जनशक्ति भएको देश हो । त्यसलाई हामीले त्यही ढंगबाट सक्रिय बनाउन सकिरहेका छैनौं ।’