स्वतन्त्र पार्टीले किन ठूला दलको मुटु हल्लाइरहेको छ ?

काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मुलुकका ठुल्ठूला राजनीतिक परिर्वतनको विरासत बोकेका छन् । यीमध्ये एमालेसँग व्यापक जनसंगठन छ भने कांग्रेसले कम्तीमा पाँच दलको सहारामा उम्मेदवारी दिएको छ । अझ तराई राजनीतिमा मधेसी जनअधिकार फोरमले त आफ्नो प्राधिकार नै रहेको ठान्छ । तर अहिले यी कुनै पनि शक्तिका लागि मुटुमा ढ्याङ्ग्रो ठोक्न मैदानमा देखापरेको छ- राष्ट्रिय स्वतन्त्र पार्टी ।

वैशाख १० मा उपनिर्वाचन हुन गइरहेका तनहुँ-१, चितनव-२ र बारा २ गरी तीनवटै क्षेत्रमा स्वतन्त्र पार्टी परम्परागत शक्तिहरुलाई नयाँ चुनौती बनिरहेको छ । गत असारमा उदाएको पार्टीले मंसिरको निर्वाचनमा नजितेका क्षेत्रमा पनि पुराना दललाई हायलकायल बनाइरहेको छ । यो चुनावमा सबै दलका लागि सर्वाधिक चुनौतीपूर्ण तगारो नै स्वतन्त्र पार्टी बनेको छ ।हुन त २०६४ को निर्वाचनमा पनि परम्परागत राजनीतिक शक्तिले ठूलै धक्का बेहोरेका थिए । त्यतिखेर भर्खर शान्तिपूर्ण राजनीतिमा मिसिएको माओवादीले प्रत्यक्षतर्फ १२० स्थानमा जितेर पहिलो मात्रै भएन, झण्डै बहुमत नै हात पारेको थियो । कांग्रेस एमालेलगायत पुराना शक्ति निकै संकुचित भए ।

२०७० को दोस्रो संविधानसभाको निर्वाचनमा माओवादीले अघिल्लोपटकको रापताप कायम राख्न सकेन । मत कांग्रेस–एमालेतिरै फर्कियो । मधेसका शक्ति भने विभाजित हुँदा पनि भोट भने आफू–आफूमै बाँडे । मधेसको भोट परम्परागत शक्तितिर फर्किएन ।२०७९ सम्म आइपुग्दा भने परम्परागत राजनीतिक शक्तिलाई चुनौती दिन अर्को नयाँ शक्ति मैदानमा देखापरेको छ । वैकल्पिक राजनीतिको धार खोजिरहेको जनमतका लागि उदीयमान शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी विकल्प बन्न पुगेको छ ।

गत मंसिर ४ गतेको निर्वाचनपूर्व यसको संकेत मिलेको थिएन । तर, अन्तिम परिणामसम्म आइपुग्दा रास्वपाले संसदमा २० स्थान पक्का गर्‍यो । अहिलेको उपनिर्वाचनमा त रास्वपा प्रमुख पार्टीको मुख्य टाउको दुःखाइ नै भएको छ । मंसिरको चुनावअघि रास्वपाका उम्मेदवारले कांग्रेस र एमालेमध्ये कसको भोट काट्छन् र कसलाई जिताउन वा हराउन भूमिका खेल्छन् भनेर आकलन गरिन्थ्यो । अहिले भने कति मतले रास्वपासँग हार्नुपर्ने हो भन्ने चिन्ता पुराना दलमा देखिन्छ । यस्तो देखिन्छ कि पुराना दलहरु जित्नलाई होइन, दोस्रो बन्नलाई प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यसैले हुनुपर्छ, नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरू आफ्ना उम्मेदवार विजयी बनाउन मैदानमै खडा छन् । कुनै समय कांग्रेसका महामन्त्री गगन थापाको नजिकको पात्रको रुपमा चिनिने स्वर्णिम वाग्ले रास्वपाबाट तनहुँ १ मा उम्मेदवार बनेर घन्टीमा मत माग्दै छन् । उदार लोकतन्त्र एवं अर्थनीतिको नारा लिएर स्वर्णिम वाग्ले कांग्रेसका घरघरै पुगेपछि कांग्रेसले उनलाई हराउने जिम्मा नै गगन थापालाई दिएर खटाएको छ । त्यस क्षेत्रमा एमालेले पनि जित्ने सूचीमा राखेको छ । एमालेले स्वर्णिमलाई प्रतिस्पर्धी नै नमाने पनि रास्वपा नै तगारो बन्ने ठानेको छ ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतले पद खारेज गरिदिएपछि पुनः चितवन–२ बाटै संसद छिर्ने दाउमा रास्वपा सभापति रवि लामिछाने छन् । उनी यसअघिको निर्वाचनमा यसै क्षेत्रबाट ४९ हजार ३ सय मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले जम्मा १४ हजार ९ सय ८८ मत प्राप्त गरेका थिए । अहिले कांग्रेसले पूर्वजिल्ला सभापति जितनारायण श्रेष्ठ र एमालेले जिल्ला कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलाई रविविरुद्ध खडा गरेका छन् ।

श्रेष्ठलाई जिताउन कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा खटिएका छन् । एमालेले सुरेन्द्र पाण्डेदेखि गोकुल बाँस्कोटासम्मलाई आफ्ना उम्मेदवार जिताउन मैदानमा खटाएको छ । दुवै दलको मुख्य चुनौती रास्वपा नै बनेको छ । यसरी केही महिनाअगाडि स्थापना भएको पार्टीले पुराना दललाई अत्याउनुको कारण भने पुराना दल र त्यसको नेतृत्व पंक्तिमा हुर्किएको भ्रष्ट अनि पक्षपातपूर्ण चरित्र नै हो । यदि यही अवस्थामा मध्यावधि निर्वाचन गर्ने हो भने रास्वपाले देशभरि नै अन्य पार्टीलाई बढार्न सक्नेछ ।