स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकजोडी कृत्रिम फोक्सो किन जडान गरियाे?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एकजोडी कृत्रिम फोक्सो जडान गरिएको छ। युएसएआडी स्वच्छ हावा परियोजना सँगको सहकार्यमा मन्त्रालयले गेटमा कृत्रिम फोक्सो जडान गरेको हो ।

वायु प्रदुषणको अवस्था तथा हावाको स्वच्छता जाँच गर्नका लागि फोक्सो जडान गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘ नेपालमा सन् २०१९ मा वायु प्रदूषणका कारण ४२ हजार १ सयको मृत्यु भएको थियो भने त्यसमध्ये ५ हजार ८० जनाको मृत्यु काठमाडौंमा मात्र भएको थियो। दीर्घकालीन फोक्सोको रोग (COPD) नेपालमा हुने मृत्युको ठूलो कारणमध्ये एक हो र यसको लगभग ६६ प्रतिशत मृत्यु वायु प्रदूषणको कारणबाट हुन्छ।

धेरै देशहरुले वायु प्रदूषणको सामना गरिरहेको सन्दर्भमा आईक्यू एयरले सन् २०२२ मार्च ४ मा देखाएको वायु गुणस्तर सम्वन्धी तथ्यांकले विश्वका १३१ देशहरु मध्ये धेरै वायु प्रदुषण हुने देशहरुमा नेपाल १६ औं स्थानमा रहेको देखाएको छ । यो कृत्रिम फोक्सोमा एक आन्तरिक संयन्त्र रहेको छ जसले मानिसको फोक्सोको सास फेर्ने गतिलाई प्रतिविम्बित गर्दछ । ३० दिनको अवधिमा यो जोडी फोक्सोको रंग वायु प्रदुषणको प्रभावले परिवर्तन हुँदै जानेछ । यसबाट कसरी वायु प्रदूषणले फोक्सोलाई हानी गरिरहेको छ भनेर देखाउन बुझाउन मद्दत पुऱ्याउँदछ ।

उक्त कृतिम फोक्सोसँगै काठमाडौँको स्वस्थ हावाको मापदण्ड नियमित देखाइनेछ ।