निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न मन्त्रीसमक्ष आग्रह

नेपाल उद्योग परिसङ्घले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीसमक्ष आग्रह गरेको छ ।

परिसङ्घका कार्यवाहक अध्यक्ष राजेशकुमार आग्रवाल नेतृत्वको टोलीले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालालाई भेटेर निजी क्षेत्रको मनोबल बढाउने गरी काम गर्न आग्रह गर्नुभएको हो । परिसङ्घले अर्थतन्त्रमा गतिशिलता ल्याउन निर्माण क्षेत्रलाई चलायमान बनाउन आग्रह गरेको छ । कार्यवाहक अध्यक्ष अग्रवालले मागमा आएको उच्च सङ्कुचन, उच्च ब्याजदर, लगानी योग्य पूँजीको अभाव, निर्माण क्षेत्रमा भएको ढिलाइलगायत विषयमा मन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो । उहाँले निर्माण क्षेत्रलाई चलायमान बनाउन सके मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सहयोग पुग्ने बताउनुभयो । निर्माण क्षेत्रमा दिइनुपर्ने भुक्तानी छिटो निकासा गर्नुपर्ने उहाँको भनाइ थियो ।

परिसङ्घले न्यून मूल्यमा बोलकबोल गर्नेलाई परियोजना दिने विषयमा सुधार गर्न, धेरै परियोजनामा बजेट छर्नुभन्दा निश्चित परियोजना समयमै सक्ने गरी अगाडि बढ्नुपर्ने सुझाव मन्त्रीलाई दिएको छ । परिसङ्घसँगको भेटमा मन्त्री ज्वालाले न्यून मूल्यमा बोलकबोलको विषय विगतमा सुधार गर्न खोजिए पनि प्रभावकारी हुन नसकेको बताउँदै आगामी दिनमा यसलाई सुधार गर्दै अगाडि बढ्ने बताउनुभएको थियो । उहाँले परिसङ्घले अगाडि सारेको वर्तमान अर्थतन्त्रको अवस्था र सुधारका लागि चालिनुपर्ने उपायलाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो ।