जापानी हेलिकोप्टरको राडारसँग सम्पर्कविच्छेद

बिहीबार जापानको दक्षिणपश्चिमी प्रान्त ओकिनावाको सामुद्रिक क्षेत्रबाट १० जना सवार जापानी हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद् भएको छ ।

ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ) हेलिकोप्टरको राडारसँगको सम्पर्क विच्छेद् भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सरकारी प्रसारक एनएचकेले रक्षा मन्त्रालय र अन्य स्रोतलाई उद्धृत गर्दै भनेको छ, “ओकिनावा प्रान्तको मियाकोजिमा टापूको विमानस्थलबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा स्थानीय समयअनुसार अपराह्न ४ः४० बजे युएच–६० बहुउद्देश्यीय हेलिकोप्टर राडारको सम्पर्कबाट टाढिएको थियो ।” मियाकोजिमाबाट अपराह्न ४ बजेअघि उडेको उक्त हेलिकप्टर साँझ ५ बजेपछि टापुमा फर्कने कार्यक्रम रहेको एनएचकेले जनाएको छ ।

विमानमा दुई पाइलट, दुई मेकानिक्स र छ चालक दलका सदस्य रहेको र सबै सेल्फ डिफेन्स फोर्सका सदस्य रहेको जीएसडीएफले जनाएको छ । सामुद्रिक क्षेत्रमा खटिएका सुरक्षा गार्डले कुमामोतो प्रिफेक्चरको एक युनिटसँग सम्बन्धित र निगरानी गतिविधिमा संलग्न रहेको हेलिकप्टरको खोजीका लागि नजिकैको पानीमा चारवटा गस्ती जहाज पठाएको रिपोर्टमा उल्लेख छ । उक्त क्षेत्रमा स्थानीय समय अनुसार साँझ ६ बजेर १० मिनेट जाँदा जहाज पुगेको र उक्त विमान पुग्दा मौसमको अवस्था मध्यम रहेको बताइएको छ ।