दश मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा

बाँकेको खजुरामा सौर्य उर्जाबाट १० मेगावाट विद्युत् उत्पादन भएको छ । उक्त विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आजदेखि परीक्षणका लागि जोडिएको रेनरगो डेभलपर्स प्रालिका नेपाल प्रमुख शुभम गुप्ताले जानकारी दिनुभयो ।

प्रालिका खजुरा गाउँपालिका–८ रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन गरेको विद्युत् थप १० मेगावाट उत्पादन अन्तिम चरणमा रहेको उहाँले बताउनुभयो । “हामीले विद्युत् कोहलपुर सबस्टेशनमा जोडेका छाँै, दुई दिनपछि मात्रै वितरण हुन्छ”, गुप्ताले भन्नुभयो । तेत्तीस केभी विद्युत् कोहलपुर सबस्टेशनमा जोडिएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरले जनाएको छ । सोलार विद्युत् परियोजनाको निर्माण गत वर्षदेखि सुरु भएको थियो ।

उक्त ३३ केभी प्रसारण लाइन बैजनाथ–६, कोहलपुर–३, कोहलपुर–४, बेलनपुरवा, कोहलपुर–६ रझेना, कोहलपुर–८, गोल्छा, कोहलपुर–१० मन्नापुर नहर हुँदै निर्माण भई चटार हुँदै कोहलपुर सबस्टेसनसम्म परीक्षण गरिने ट्रान्समिटर सुपरभाइजर लीलाधर चापागाईँले बताउनुभयो । रनियापुरस्थित घियागाउँमा सोलार विद्युत् परियोजनाबाट उत्पादन भएको विद्युत् परीक्षण भएको नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र कोहलपुरका प्रमुख सुरज रेग्मीले बताउनुभयो । गर्मी समय सुरु भएसँगै हुने विद्युत् समस्या केही समाधान हुने उहाँको भनाइ छ । “अब गर्मी बढ्यो, यतिबेला अलि बढी विद्युत् चाहिन्छ”, उहाँले भन्नुभयो ।

सो सोलारबाट विद्युत् उत्पादन हुन रु एक अर्ब खर्च भएको छ । थप १० मेगावाटका लागि पनि रु एक अर्ब खर्च हुने कम्पनीले जनाएको छ । गोल्यान समूह र रेनरगो डेभलपर्स प्रालिको मुख्य लगानी रहेको पियोर इनर्जी लिमिटेडले उक्त उत्पादन गरेको हो ।