माओवादीको दैध चरित्र: कोसी नाम राख्न भोट दिने, विरोध भएपछि पछि हट्ने

आफूलाई पहिचानवादी भन्दै आएको माओवादी केन्द्रले दैध चरित्र देखाएको छ । एक महिना अघि मात्र प्रदेश १ को नाम कोसी राख्न मतदान गरेको माओवादी अहिले विरोध भएपछि पछि हटेको छ ।१७ फागुनमा प्रदेशसभामा एमाले, कांग्रेस, माओवादीसहितका दल एक ठाउँमा हुँदा प्रदेशले ६ वर्षपछि नाम पाएको थियो । त्यतिखेर एमालेले दर्ता गराएको कोसी नामको पक्षमा कांग्रेस, माओवादी र राप्रपाले समर्थन गर्दा ८२ मत खसेको थियो । विपक्षमा एकीकृत समाजवादीको चार मत मात्रै रह्यो ।

बरु, माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो पहिचानसहितको पक्षधर भए पनि प्रदेशलाई नाम दिलाउन कोशीमा समर्थन गर्न बाध्य भएको बताएका थिए ।अहिले हरेक दिनजसो आन्दोलन भएपछि माओवादीको बोली फेरिएको छ । केन्द्रमा पनि सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले कोशी प्रदेश नामकरणको सम्बन्धमा पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।

बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको हो ।माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नामकरणको बेलामा पहिचानको पक्षमा अडान राख्न नसक्नु पार्टीको कमजोरी भएको बैठकको निष्कर्ष रहेको बताए । उनले भने, ‘पूर्वमा कोशी प्रदेश नामकरण भयो । त्यस विषयमा आन्दोलन उठिरहेको छ । त्यसमा हाम्रो पार्टीप्रति के हो अडान भन्ने प्रश्न उठेको पाइयो । हाम्रो पार्टी स्पष्टसँग पहिचानकै पक्षमा छ ।

पहिचानकै पक्षमा अडान राख्नुपर्थ्यो त्यतिखेर अलिकति कमजोरी भएको छ । अब प्रदेश कमिटीलाई हामीले पहिचानकै पक्षमा छौँ भन्नेकुरा रिजर्भेसन राख्ने कुरा भएको छ ।´उनका अनुसार माओवादी केन्द्र पहिचानकै पक्षमा रहेको भन्दै प्रदेश कमिटीले पहिचानकै पक्षमा उभिएर कोशी प्रदेश नामकरणको सम्बन्धमा फरक मत राख्ने निर्णय भएको छ । तर, अब प्रदेशसभाले प्रदेशको नाम बहुमतले स्वीकृत गरिसकेकाले माओवादीको यो निर्णयको कुनै ओचित्य छैन । यदी नाम फेर्नै परेमा संसदको दुई तिहाइ बहुमत चाहिन्छ, जुन माओवादीसँग छैन ।