बौद्धमा आज तेमाल जात्रा हेर्ने दर्शकको घुइँचो

काठमाडाैँ। काठमाडौंको बौद्धमा आज तेमाल जात्रा हेर्न दर्शकको घुइँचो लागेको छ। प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन तेमाल जात्रा लाग्छ।

तामाङ समुदायले दिवङ्गत आत्माको शान्तिको कामना गर्दै चैत्र शुक्ल चतुर्दशीका दिन लामा गुरुद्वारा बिशेष पूजापाठ गर्दै बौद्ध चैत्यमा बत्ती बाल्ने गर्छन्।

प्राचीनकालमा तेमाल क्षेत्रका तामाङ समुदाय आएर मनाउने गरेकोले यो जात्रालाई तेमाल जात्रा नामकरण गरिए पनि हाल देशभरका बौद्ध धर्मालम्बीले यो पर्व मनाउने गरेको छ।

दिवङ्गत पितृका नाममा बत्ती बालेका दर्शनार्थीले पूर्णिमाका दिन बिहान बालाजु बाइसधारामा स्नान गर्छन्। स्नानपछि स्वयम्भू चैत्यमा पुगेर पूजापाठ गरेपछि जात्रा समाप्त हुने गर्दछ।