पत्रकार महासङ्घ कर्णाली प्रदेशको साधारणसभा सुनथरालीमा

नेपाल पत्रकार महासङ्घ कर्णाली प्रदेश समितिको साधारणसभा नरहरिनाथ गाउँपालिका–१ कालीकोट कोटवाडास्थित सुनथराली विमानस्थलमा सुरु भएको छ ।

महासङ्घद्वारा आज सुनथरालीमा आयोजित साधारणसभाको उद्घाटन पूर्वमुख्यमन्त्री एवं कालीकोटबाट निर्वाचित सङ्घीय सांसद महेन्द्रबहादुर शाहीले गर्नुभयो । उद्घाटन कार्यक्रममा उहाँले नागरिकको जीवनस्तर अगाडि बढाउने परियोजनाका रूपमा अगाडि बढाए मात्र हवाई सेवा सञ्चालन ल्याउन सरकारलाई आग्रह गर्नुभयो । “हवाईजहाज उडाउनु मात्र ठूलो कुरा होइन”, उहाँले भन्नुभयो, “त्यसको दिगो व्यवस्थापन र समृद्धिमा सघाउने गरी सेवा दिइनुपर्दछ ।”

उहाँले सुनथराली विमानस्थल निर्माण एवं आजको अवस्थामा ल्याइपुर्याउन यहाँका जनताको पसिना र रगत बगेको बताउनुभयो । करिब सात सय मिटर कालोपत्र गरिएको सो विमानस्थलमा यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले परीक्षण अवतरण गर्नुभएको थियो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले महासङ्घको साधारणसभाले सञ्चार जगत्को विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले कठिन भूगोलमा बनेको सुनथराली विमानस्थलमा आयोजित कार्यक्रमले दुर्गम बस्तीका नागरिकको जनजीवन, उनीहरूको सङ्घर्ष, विकास अवस्था र गर्नुपर्ने कामका बारेमा राज्यका सरोकारवालाहरूलाई घच्घच्याउन मद्दत पुग्ने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सुनथरालीमा आयोजित साधारणसभाले कर्णालीको विकास, यहाँको समुन्नति र समृद्धिमा सहयोग पुग्ने जनाउनुभयो । उहाँले मुलुकको पत्रकारिता र सञ्चार क्षेत्रले खेलेको भूमिका र अब निभाउनुपर्ने जिम्मेवारीका विषयमा जोड दिइने बताउनुभयो ।

पत्रकारिताले यस्ता कुरा अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो । राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले कर्णाली प्रदेशका मिडियाहरूको संस्थागत एवं दीर्घकालीन विकासका लागि राससले विशेष सहुलियत दिने बताउनुभयो । सुनथराली विमानस्थल निर्माणको क्रममा धादिङको जोगिमाराका ३६ मजदुरले ज्यान गुमाउनु परेको भन्दै अध्यक्ष झाले उनीहरूको सम्मानका लागि स्मारक बनाउनपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्यद्वय दुर्गबहादुर रावत र हिक्मतबहादुर विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, जिल्ला समन्वय समिति कालीकोटका प्रमुख धनजीत शाही, नगर तथा गाउँपालिकाका प्रमुख÷अध्यक्षहरू, प्रेस काउन्सिल नेपालका सदस्य दीपक पाण्डे, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल, श्रमजीवि पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसीलगायत देशैभरिका विभिन्न पत्रकार सङ्गठनका प्रमुख, सञ्चारकर्मी, स्थानीय देउडा गायक गायिका र हुड्केहरूको सहभागिता थियो ।