नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिन सहमति

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको तदर्थ समितिलाई दश दिनभित्र पूर्णता दिने सहमति भएको छ ।

पार्टीका सहमहामन्त्री भीष्मराज आङ्देम्बेको रोहवरमा आज पार्टी कार्यालयमा बसेको बैठकले सबै पक्षलाई समेटेर दश दिनभित्र तदर्थ समितिलाई पूर्णता दिने सहमति भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले दश दिनभित्र दुजाङ शेर्पा नेतृत्वको नेविसङ्घ तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र १२औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिनुभयो । नेविसङ्घको केन्द्रीय महाधिवेशन चाँडो हुनुपर्ने मागसहित एक हप्तादेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नेविसङ्घ बृहत् सङ्घर्ष समितिको नाममा अनसन भइरहेको थियो ।

महाधिवेशन गर्ने, तदर्थ समितिलाई पूर्णता दिने र आठ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेसँगै उक्त अनशन स्थगित भएको सचिव केसीले बताउनुभयो । उक्त सहमतिअनुसार जिल्लामा देखिएको नेविसङ्घको विवाद पार्टीको नेतृत्व र पदाधिकारीका बीचमा छलफल गरी समाधान गर्ने सहमतिसमेत भएको छ । उक्त सहमतिमा नेविसङ्घका अध्यक्ष शेर्पा, नेविसङ्घ बृहत् सङ्घर्ष समितिका उज्ज्वल बज्राचार्य र कांग्रेस केन्द्रीय कार्यालयका सचिव केसीले हस्ताक्षर गर्नुभएको छ ।