सडक छिटै बन्नथालेपछि स्थानीयवासी खुसी

सम्झौता अवधिभित्रै निर्माणको काम कमै मात्र सकिन्छ । प्राय निर्माण कार्य सुस्त हुने भएकाले अधिकांश स्थानमा निर्माण कम्पनीको चर्को आलोचना भइरहेको हुन्छ तर यहाँ एक निर्माण व्यवसायीको सडक निर्माणको प्रगति देखेर स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन् ।

यहाँ बत्तीस महिनाको सम्झौता मिति रहेको रणनीतिक सडक पाँच महिनामा झन्डै ४० प्रतिशत काम सम्पन्न भएको छ । निर्माण कम्पनीले सम्झौता अगावै सडक कालोपत्र गरी योजनाअनुसार निर्माणमा उल्लेख्य प्रगति गरेको सडक डिभिजन कार्यालयले जनाएको छ । डेढ वर्षमै काम सक्नेगरी अहिले धमाधम काम भइरहेको छ । सडक स्तरोन्नति भइसकेपछि अहिले बागलुङ नगरपालिका–८ स्थित सिगाना वडा कार्यालयमा जिल्ला सदरमुकाम बागलुङ बजारबाट २० मिनेटमै पुग्न सकिने भएको वडाध्यक्ष छमबहादुर कार्कीले जानकारी दिनुभयो ।

अहिले वडा नं ३स्थित बोक्सेदेखि वडा कार्यालयसम्मको सडक चौडा पार्ने, नाली निर्माण गर्ने, पक्की पर्खाल बनाउने, ग्याबिन जाली हाल्ने, कल्र्भट निर्माण गर्ने र सबबेस बिछ्याउनेसम्मको काम भइसकेको छ । सडकका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी कर्ण बिल्डर्सका प्रतिनिधि सन्दीप श्रेष्ठले जानकारी दिनुभयो । उहाँले डेढ वर्षभित्रै सडक निर्माण गर्ने लक्ष्यका साथ काम गरे पनि भुक्तानी रोकिँदा भने समस्या भएको बताउनुभयो ।

“अहिले भौतिक प्रगति ४० प्रतिशत भइसकेको छ, सुरुमा दस प्रतिशत रकमसँगै सडक चौडा पार्न केही प्रतिशत रकम मात्रै भुक्तानी भएको छ, तीन करोडको बिल बुझाएको नै महिनाँै भयो, पुनः अर्को भुक्तानीका लागि माग्ने समय भइसक्यो”, प्रतिनिधि श्रेष्ठले भन्नुभयो, “कामदार पाल्न समस्या भएको छ, कामको प्रगतिअनुसार भुक्तानी नहुँदा केही कामदार र उपकरण कटौती गर्न बाध्य भएका छौँ, अहिले घुम्ती सडकमा ढलानसमेत थालेका छौँ तर भुक्तानी नभएर काममा असर पर्ने निश्चित छ ।” सडक कालोपत्रको जिम्मा पाएको ठेकेदार कम्पनीले कात्तिक पहिलो सातादेखि काम सुरु गरेकामा अहिले आठ किलोमिटरसम्म पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पु¥याएर कालोपत्र गर्ने स्थानमा ग्राभेल र ढालन गर्ने स्थानमा ढलानका लागि तयारी थालेको छ ।

उकालो, घुम्ती र चिसो स्थानमा ढलान र अन्यत्र कालोपत्र गर्ने योजनाअनुसार निर्माण कम्पनीले दु्रत गतिमा काम गरेको डिभिजन सडक कार्यालयका सूचना अधिकारी इन्जिनियर किरण पोख्रेलले जानकारी दिनुभयो । बागलुङ क्षेत्र नं १ अन्तर्गत यस नगरपालिकाको बागलुङ बजार, अदालत र चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह र बरेङ शान्तिपुर जोड्ने सडक कालोपत्रका लागि कात्तिक पहिलो सातादेखि काम थालिएको थियो । “ अहिले बोक्सेखाल्टाबाट सडक चौडा पार्ने काम सुरु गरिएकामा निर्माण व्यवसायीले सम्झौता अगावै सडक कालोपत्र सक्ने देखिएको छ तर आर्थिक सङ्कटका कारण माथिबाट भुक्तानी नआएकाले रु ३२ करोडको सम्झौतामा रु तीन करोडभन्दा बढी भुक्तानी दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो, “हामीले अर्थ मन्त्रालयमा ताकेता गरेका छौँ बजेट आउनासाथ भुक्तानी गर्नेछौँ, निर्माण व्यवसायीले राम्रो काम गर्दा नियमित भुक्तानी गर्न आवश्यक भए पनि आर्थिक सङ्कटका कारण समस्या भएको हामीले स्वीकार गर्नै पर्दछ ।”

ठेक्का सम्झौता भएको छ वर्षसम्म राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ अछेतेखण्ड कालोपत्र गर्न नसकिएको अवस्थामा ग्रामीण सडकका रुपमा रहेको उक्त सडक भने कालोपत्रका लागि धमाधम काम अगाडि बढ्नु सुखद रहेको स्थानीयवासी सूर्यबहादुर विश्वकर्माले बताउनुभयो । साढे दुई वर्षमा कालोपत्र गरिसक्ने गरी चालू आर्थिक वर्षमै पूर्वाधारको काम सक्ने गरी निर्माण कम्पनीले कामलाई तीव्रता दिएपछि स्थानीयवासीसमेत खुसी भएका छन् । उक्त सडक ३२ किलोमिटर लामो भए पनि अहिले सडकको सुरुदेखि आठ किलोमिटर सडक कालोपत्र गरिनेछ ।

निर्वाचन क्षेत्रनं १ को रणनीतिक सडक सोही क्षेत्रका अघिल्ला प्रत्यक्ष निर्वाचित सांसदहरुको सिफरिसमा छनोट भएको थियो ।