जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ ।

अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन । तीन÷चार वर्षदेखि एक्स-रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

स्वास्थ्य मन्त्रलालयबाट रेडियोग्राफीका लागि पटक-पटक अनुरोध गरे पनि व्यवस्था हुन नसकेको उहाँले बताउनुभयो । “आगामी बर्षदेखि सञ्चालनमा ल्याई सेवा प्रवाह गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “जनशक्तिको अभावमा नागरिकलाई भिडियो एक्स–रे सेवा दिन नसक्दा कठिनाइ भोग्नुपरेको छ ।”

उक्त अस्पताल १५ शय्या क्षमताको छ । अस्पतालबाट आँखा, प्रसूति, दाँत, ल्याव, फार्मेसीलगायतका सेवा प्रवाह गरिएको छ । एमबिबिएस डाक्टर दुई, हेल्थ असिस्टेन्ट चार, स्टाफ नर्स तीन, ल्याव तीन, फार्मेसी दुई, प्रशासन दुई र एक्स-रेमा एक गरी ४४ जना जनशक्ति छन् ।

उक्त अस्पतालमा दैनिक ७० देखि एक सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक आशीष अधिकारीले जानकारी दिनुभयो ।

अस्पतालमा रुघाखोकी, दम, सुगर, प्रेसर, मुट, क्यान्सर लगायतका बिरामीको चाप बढी हुने गरेको छ । महिलाहरुको पाठेघरको क्यान्सर भए÷नभएको जाँचका लागि दैनिक भिआइए परीक्षणको निःशुल्क व्यवस्था मिलाइएको छ ।