विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा न्यौपाने

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सञ्चालक समितिकोे अध्यक्ष पदमा डा विजयराज न्यौपाने नियुक्त हुनुभएको छ ।

उहाँ सो अस्पतालमा पूर्वउपनिर्देशक पदमा कार्यरत हुनुहुन्छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई अध्यक्षमा नियुक्त गरेको जनाइएको छ । नवनियुक्त अध्यक्ष डा न्यौपानेले अस्पताललाई क्यान्सरसम्बन्धी थप जनचेतना जगाउने, उपचार गर्ने, अध्यापन गराउने अनुसन्धानसँगै क्यान्सरको क्षेत्रमा देशकै मुख्य थलोका रूपमा विकास गर्ने जानकारी दिनुभयो ।

उहाँले चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसबाट विसं २०३७ मा हेल्थ असिस्टेन्ट उत्तीर्ण गरी छ वर्ष चितवन, नवलपरासी र पर्सा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा सेवा गर्नुभएको छ ।

विसं २०४३ मा तत्कालीन सोभियत सङ्घको युक्रेनमा उहाँले त्यहाँको एमडी (यहाँको एमबिबीएस सरह) अध्ययन गर्नुभयो । विसं २०५० मा एमडी (यहाँको एमबिबीएस सरह)को चिकित्सक भई चिकित्सकीय सेवा दिन आफ्नै जिल्लालाई कर्मथलो बनाउनुभयो ।

डा न्यौपानेले परिवार नियोजन सङ्घमा छ वर्ष सेवा गर्नुभएको थियो । उहाँले विसं २०५६ मा विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा सुरुआत गर्नुभएको थियो ।

विसं २०५७ मा विपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स (विपीकेआइएचएस) धरानमा एनेस्थेसियोलोजिष्ट एन्ड क्रिटिकल केयरमा विशेषज्ञता हासिल गर्नका लागि तीन वर्ष त्यहाँ बिताउनुभयो । विसं २०६० मा एमडी उत्तीर्ण गरी त्यसपछिको उहाँ विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत हुनुहन्छ ।

क्यान्सर अस्पतालमा विभागीय प्रमुखदेखि उपनिर्देशकसम्म रहेर लामो समयको अनुभवपछि अवकाश पाउनुभएका डा न्यौपाने क्यान्सर अस्पतालमा रहँदा हस्पिस एन्ड प्यालिएटिक कियर स्थापना गरी १६ वर्ष संयोजकको भूमिकामा रहेर योगदान गर्नुभएको थियो ।